अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२४ | Colorodo: 22:39

पुनर्निर्माणका बाँकी काम सम्पन्न गर्न थप ६ खर्ब लाग्ने

बिआरटीनेपाल २०७५ भदौ ३१ गते १०:११ मा प्रकाशित

काठमाडौँ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण र पुनर्स्थापनाका बाँकी कामहरू सम्पन्न गर्न करिब ६ खर्ब रुपैयाँ थप लाग्ने बताउनु भएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिहरूसँगको छलफलमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले चालू आर्थिक वर्ष भित्र सम्ममा पुन र्निर्माणमा ३ खर्ब ३६ अर्ब खर्च रुपैयाँ खर्च हुने उल्लेख गर्दै आवश्यक रकम जुटाउनका लागि सरकार र दातृ निकायसँग छलफल जारी रहेको जानकारी दिनुभयो ।

प्राधिकरणले पुर्निर्माणमा पहिलो वर्ष २२ अरब, दोस्रो वर्ष ४९ अरब, तेस्रो वर्ष १ खर्ब १४ अर्ब रुपैयाँ खर्च गरेको थियो । पुनर्निर्माणका लागि चालू आर्थिक वर्षमा १ खर्ब ५१ खरब रुपैयाँ विनियोजन गरिएको छ ।

२०७३ साल वैशाखमा तयार पारिएको विपत् पश्चातकको पुनर्लाभ कार्यढाँचामा पुनर्निर्माणका लागि ९ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने आंकलन गरिएको थियो ।

नेपालको पुर्निर्माणका लागि आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा छिमेकी मुलुक सहित दातृ निकायहरूले प्रतिबद्धता जनाएको कूल ४ खर्ब १० अरब रुपैयाँ मध्ये ६७ अरब उद्धार तथा राहत सहितका कार्यक्रममा खर्च भई ३ खर्ब ४३ अर्ब रहेकोमा त्यसमध्ये २ खर्ब ६२ अरब रुपैयाँको सम्झौता भइसकेको छ ।

पुनर्निर्माणका लागि विनियोजन गरिएको रकम खर्च गरी आवश्यक रकमको व्यवस्थापन र दातृ सम्मेलनमा व्यक्त प्रतिबद्धता अनुसारको रकम जुटाउन पहल गर्छौ, प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भन्नुभयो, पुनर्निर्माणका कामहरू अघि बढ्दै गर्दा आवश्यक रकम जुटाउन सहज हुनेछ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका मिसन प्रमुख ग्रीर्ट अल्मेकिन्डर्सले पुनर्निर्माणको क्षेत्रमा पुँजीगत खर्च बढेकोमा प्रशंसा गर्दै पुनर्निर्माणमा हुने खर्चले नेपालको आर्थिक वृद्धिमा महत्त्वपूर्ण सहयोग पुग्ने बताउनु भयो ।

मिसनमा एसिया प्रशान्त विभागका उपनिर्देशक केन्नेथ काङ लगायत सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा पुनर्निर्माण प्राधिकरणका सहसचिव पीताम्बर घिमिरे सहित शाखा प्रमुखहरू उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू