अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२७ | Colorodo: 15:42

अस्ट्रेलियामा एनआरएन विज्ञ सम्मेलन सम्पन्न

बिआरटीनेपाल २०७५ भदौ ३१ गते ९:३१ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ (एनआरएन) ओसेनिया क्षेत्रको आयोजनामा सीडनीमा प्रथम ओसेनिया विज्ञ सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ ।

एनआरएन अ‍ोसेनिया क्षेत्रले यस क्षेत्रमा छरिएर रहेका विज्ञहरूलाई समेटेर उनीहरूले सिकेको सीप र ज्ञानलाई नेपालसम्म पुर्‍याउने प्रयास स्वरूप पहिलो पटक अस्ट्रेलियाको सीडनीमा एक दिने विज्ञ सम्मेलनको आयोजना गरेको हो ।

अस्ट्रेलिया र न्युजिल्यान्ड जस्तो विकसित मुलुकमा महत्त्वपूर्ण भूमिकामा रहेका नेपाली विज्ञहरूलाई एकैथलोमा भेला पारेर यहाँ सिकेको र आर्जेको ज्ञानलाई नेपालमा कसरी हस्तान्तरण गर्न सकिन्छ भन्ने सोचका साथ आयोजना गरिएको कार्यक्रममा केही महत्त्वपूर्ण कार्यपत्रहरू प्रस्तुत भएका थिए । यस क्षेत्रमा छरिएर रहेका नेपाली समाजका अगुवाहरूलाई आमन्त्रीतगर्दै गरिएको कार्यक्रममा बिशेषगरी कृषि तथा खाद्य सुरक्षा , स्वास्थ्य र शिक्षा अनि पूर्वाधार विकासमा केन्द्रित रहेको थियो ।

काठमाडौँमा अक्टोबर १३ र १४ मा आयोजना हुने गैर आवासीय नेपाली सङ्घको विश्व विज्ञ सम्मेलनमा यहाँ प्रस्तुत गरिएका महत्त्वपूर्ण कार्यपत्रहरूलाई समेटिने आयोजक ओसेनियाका क्षेत्रीय संयोजक धर्मराज अधिकारीले बताए ।

हाम्रो मुख्य उद्देश्य भनेको एक पटकका नेपाली सधैँको नेपाली नै हो । विज्ञ सम्मेलनकाृ उद्देश्य विदेशमा बस्ने विज्ञहरूको ज्ञान र सीपलाई नेपालसम्म पुर्‍याउनु नै हो । जे जे भने पनि गरे पनि हामीले मुलुकमा लगानी गर्न सक्यौ भने मात्र देश बन्ने छ ।त्यसका लागि एनआरएनले लगानीको नयाँ बाटोको पहिचान गर्ने विषयको थालनी गर्ने विश्वास लिएको छु, संयोजक धर्मराज अधिकारीले बताए ।

कृषि तथा खाद्य सुरक्षा ,पूर्वाधार निर्माण तथा रेलवे ,सुरुङ मार्ग ,स्वास्थ्य तथा शिक्षा जस्ता उपयुक्त विषयमा केन्द्रित हुन सके यस्ता कार्यक्रम परिणाममुखी बन्ने हुनाले त्यस्ता विषयलाई ध्यान दिएको अधिकारीले सुनाए ।

विज्ञताको कुनै कसी हुँदैन , विदेशमा बसेर गमलामा साग फलाउन सिक्ने पनि विज्ञ हुन अनि अस्ट्रेलियामा बसेर मुटु फेर्ने डाक्टर कुमुद धिताल सम्म हाम्रो परिप्रेक्षमा विज्ञ हुन,त्यसैले मुलुक सुहाउँदो प्रविधि र लगानी लान सके यस्ता कार्यक्रम सफल हुने कुरामा विश्वस्त रहेको अधिकारी बताउछन ।

कार्यक्रममा युवा वर्गलाई केन्द्रित गरेर नेपाली विद्यार्थीहरूको विषयमा समेत केही कार्यपत्रहरू प्रस्तुत गरिएको थियो । जसमा काउन्सिल अफ इन्टरनेशन स्टुडेन्ट अस्ट्रेलियाका केन्द्रीय अध्यक्ष विजय सापकोटाले अस्ट्रेलिया नेपाली विद्यार्थीहरूका लागि कठिन गन्तव्य बन्दै आएको सन्दर्भमा केही महत्त्वपूर्ण विषय उठान गरेका थिए । निकै सहज रूपमा विद्यार्थीहरूलाई अध्यन भिसा दिएप्नि लाखौँ डलर खर्च गरेर पढिसकेपछि स्थायित्वको समस्या कठिन बन्दै गएको परिप्रेक्षमा नेपाल सरकार र विद्यार्थी तथा अभिभावकले सोच्नुपर्ने बेला आएको सापकोटाले बताए ।

उनले अहिले अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा १६ प्रतिशत मात्र पीआर पाएको तथ्याङ्क सार्वजनिक गर्दै भने विश्वविद्यालयमा पढेर शिक्षा आर्जन गर्छु भनेर आउने हो भने त्यो ठिकै छ तर पीआर पाउने सोच बनाएर आउने हो भने अस्ट्रेलिया कठिन बनेको छ ,सापकोटाले भने । बिलियन डलर खर्च गरेर नेपाल विद्यार्थी अस्ट्रेलियन आए पनि सो अनुसारको उपलब्धि हुन नसकेकोमा विजयले चिन्ता व्यक्त गरे । सो सत्रमा पीजे श्रेष्ठ, जेसिका तामाङ, तीर्थराज कार्कीले यहाँको सन्दर्भमा विद्यार्थीको समसामयिक समस्या र त्यसका चुनौतीका विषयमा आआफना धारणा राखेका थिए ।

यस्तै कार्यक्रममा राजु अधिकारी डा. सिताराम घिमिरे, न्युजिल्यान्डका बाबु राजा महर्जन, अमित भट्टराई, भुपेन्द्र केसी, डा. डिल्ली बन्जाडे, डा. कुशराज श्रेष्ठ, जगदीश तिर्सना, राम राज ओली लगायतले आ-आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रस्तुत गरिएका कार्यपत्रहरूमा ब्रिसबेनका पर्थ पराजुली र अनन्त कार्कीको नेपालको रोड सेफ्टी र ट्राफिक व्यवस्थापन अनि डा. केशव कडेंलको आलुको आधुनिक बिउ उत्पादन र सम्भावना विषयक कार्यपत्र निकै चाखलाग्दो रहेको थियो ।

कार्यक्रममा सरसफाइ सम्बन्धी विषयमा युवा खेम शर्मा जस्ता जोसिला युवाले मुलुकको मुहार फेर्न विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अस्ट्रेलियाको लागि नेपाली राजदूत लक्की शेर्पाले यस्ता कार्यक्रमहरू देशका लागि निकै महत्त्वपूर्ण रहने बताउँदै मुलुकको विकासका लागि आर्थिक ब्यबस्थापनसँंगै प्राविधिक शक्तिको पनि आवश्यकता रहेको औलाइन । राजदूत शेर्पाले यतिखेर मुलुकमा युवा शक्तिको खाँचो देखिएको परिप्रेक्षमा दक्ष जनशक्तिले देशको निमार्णका लागि स्वदेश फर्कने अभियानको थालनी गर्नु पर्ने बताइन । राजदूत शेर्पाले अस्ट्रेलिया नेपाली विद्यार्थीहरूको आकर्षक गन्तव्य बने पनि गुणस्तर शिक्षाको विषयमा अभिभावक र विद्यार्थी गम्भीर नभएको र त्यसमा शैक्षिक निकायहरू पनि जिम्मेवार भएको बताइन । उनले विद्यार्थीहरूमा कठिनाइ उत्पन्न हुँदै जाँदा त्यसका जिम्मेवार निकायहरू प्रोभाइडर र परामर्शदाताहरू पनि जिम्मेवार हुँदाहुँदै यसतर्फ गम्भीर हुन सङ्केत गरिन ।

कार्यक्रमका विशेष अतिथि गैर आवासीय नेपाली सङ्घका केन्द्रीय महासचिव बद्री केसीले संसारभर फैलिएको एनआरएन अभियान मुलुकको उन्नति र प्रगतीसँंग जोडिएको हुँदा यस्ता विज्ञ सम्मेलनहरूको निष्कर्षले महत्त्वपूर्ण उपलब्धि हासिल हुने विश्वस्त व्यक्त गरे । केसीले अगाडि भने ,यतिखेर संसारभर फैलिएका गैर आवासीय नेपालीहरूको हक र हितका लागिपरेको एनआरएन अभियान देशको मुहार फर्ने अभियानमा लागि परेको छ । राज्यले दोहोरो नागरिकताको व्यवस्था र सर्वोच्च अदालतले देश बाहर बस्ने एनआरएनका लागि मताधिकारीको हक प्रदान गरेकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा महासचिव केसी र क्षेत्रीय संयोजक अधिकारीले काउन्सिल अफ इन्टरनेशन स्टुडेन्ट अस्ट्रेलियाका केन्द्रीय अध्यक्ष विजय सापकोटालाई नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धि गरेकोमा एनआरएनकोतर्फवाट सम्मान समेत गरिएको थियो । कार्यक्रममा आईसीसी सदस्य दीपक भट्टराई समेत आफ्नो भनाइ राखे । कार्यक्रममा एनआरएनको विधानमा छलफल समेत भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू