अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५१ | Colorodo: 08:06

शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेतालाई ५० लाख

बिआरटीनेपाल २०७५ भदौ ३१ गते ९:२५ मा प्रकाशित

चार वर्षपछि हुन लागेकोे शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको विजेता टोलीले ५० लाख पाउने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आज काठमाण्डौंमा आयोजित पत्रकार सम्मेलनमा विजेता टोलीलाई ५० लाख रुपैया दिने निर्णय भएको एन्फाका महासचिव इन्द्र्रमान तुलाधरले जानकारी दिनुभयो । प्रतियोगितामा उपविजेता हुने टोलीले ३५ लाख पाउनेछन् भने तेस्रो हुनेले २५ लाख पाउनेछन् । चौंथोले १५ लाख, पाँचांैले ७ लाख र छैटौंले ५ लाख पाउनेछन् । प्रतियोगितामा फेयर प्ले टोलीले १ लाख पाउने छन् । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई ५० हजार रुपैया दिनेछ भने म्यान अफ दि म्याच घोषित हुने खेलाडीले १० हजार प्राप्त गर्नेछन् ।

लिग अवधिभर उत्कृष्ट खेल प्रर्दशन गर्ने मिड फिल्डर, डिफेन्डर, फरवार्ड, गोलकिपर र प्रशिक्षकले एक एक थान मोटरसाइकल पाउनेछन् । तीन विभागीयसहित १४ टोली सहभागी हुने उक्त प्रतियोगिता आगामी असोज १३ गतेदेखि पुस महिनासम्म चल्नेछ । प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपिएफ), त्रिभुवन आर्मी, थ्री स्टार, मनाङ मस्र्याङ्दी, जावलाखेल युथ, फ्रेन्ड्स, सङ्कटा, मछिन्द्र, सरस्वती युथ, च्यासल युथ, न्युरोड टिम (एनआरटि) ,ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

उक्त प्रतियोगिताको लागि क्लबहरूले १८ देखि ३५ खेलाडी अनुबन्धित गर्न सक्ने एन्फाले जनाएको छ । जसमा ४ विदेशी खेलाडी राख्न पाउने छन् । लिग विजेता टोलीले एएफसी एसियन कप फुटबल २०१९ मा सहभागिता जनाउन पाउनेछन् । लिग तयारीको लागि एन्फाले क्लबलाई २० लाख उपलब्ध गराउने छ । उक्त प्रतियोगिताको लागि ५ करोड ८० लाख खर्च लाग्ने एन्फाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू