अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१८ | Colorodo: 05:33

निर्मला पन्त बलात्कार–हत्या प्रकरण – डिआईजी बस्न्यातको नेतृत्वमा अर्को शक्तिशाली अनुसन्धान समिति गठन

बिआरटीनेपाल २०७५ भदौ ३१ गते ९:१७ मा प्रकाशित

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार प्रकरणमा उच्च तहबाट छानविन गर्ने उद्धेश्यसहित प्रहरी प्रधान कार्यालयले डिआईजी धिरु बस्न्यातको नेतृत्वमा अर्को शक्तिशाली कमिटी गठन गरेको छ । नवगठित समितिका सदस्यहरुमा एसएसपी निरजबहादुर शाही, डिएसपीहरु रमेश थापा, दधिराम न्यौपाने र कौशल बुढाथोकी सहित ९ जना रहेका छन् । यसअघि गठन भएको प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) उत्तम सुवेदीको नेतृत्वमा गठित कमिटीलाई पुनर्संरचना गर्दै प्रहरी हेड्क्वार्टरले डिआईजी बस्न्यातलाई आन्तरिक अनुसन्धान गर्ने जिम्मा दिएको छ ।

उत्तम सुवेदीको कमाण्डमा गठन भएको समितिलाई पुनर्संरचना गर्दै डिआईजी धिरु बस्न्यातको नेतृत्वमा गठन भएको समितिलाई कञ्चनपुर घट्नाको अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीबारे छानविन गर्ने कार्यादेश दिइएका प्रहरी प्रवक्ता शैलेश थापाले जानकारी दिनुभएको छ । घट्नास्थलमा प्रहरी बरिष्ठ उपरिक्षक ठाकुर ज्ञवाली नेतृत्वको अनुसन्धान टोली पठाएर नयाँ शिराबाट अनुसन्धान शुरु गरेको प्रहरी प्रधान कार्यालयले केही दिनअघि मात्रै एसएसपी उत्तम सुवेदीको नेतृत्वमा दोस्रो समिति गठन गरेको थियो ।

उत्तम सुवेदीको नेतृत्वमा गठित समितिलाई उच्चस्तरीय बनाउँदै गठन भएको बस्न्यात नेतृत्वको कमिटीले निर्मला हत्याकाण्डको अनुसन्धानमा संलग्न सिआईबी लगायतको निकायबाट खटिएका अनुसन्धानकर्ताहरुको भूमिकाबारे छानविन गर्ने जनाईएको छ । बस्न्यात नेतृत्वको कमिटीले केन्द्रीय अनुसन्धान ब्यूरोबाट त्यतिबेला अनुसन्धानका लागि कञ्चनपुर गएको डिएसपी अंगुर जिसी, तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख (एसपी) डिल्लीराज विष्ट र अनुसन्धानमा संलग्न अन्य प्रहरी कर्मचारीको भूमिकाबारे छानविन गर्ने प्रवक्ता थापाले वताउनुभयो ।

कञ्चनपुरका तत्कालिन एसपी विष्ट र केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले घट्ना भएको २४ दिनपछि अभियुक्त सार्वजनिक गरेका थिए । ब्यूरोको टोलीले अनुसन्धानपछि सार्वजनिक गरेका ४९ वर्षीय दिलिपसिंह विष्ट बलात्कारमा संलग्न भएको बारे स्थानीयले विश्वास नगरेपछि कञ्चनपुरमा जारी आन्दोलनले उग्ररुप लिएको थियो । अपराध अनुसन्धानमा अब्बल मानिने केन्द्रीय अनुसन्धान ब्यूरोको साख निर्मला बलात्कार प्रकरणमा भने खस्किएको छ । एउटै घटनाले प्रहरी संगठनप्रति नकारात्मक छाप परेपछि प्रहरी प्रधान कार्यालयले अनुसन्धान अधिकारी माथिनै छानविन थालेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू