अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:११ | Colorodo: 13:26

राजनीति न्यायका लागि छट्पटिरहनु दुःखद हो: राष्ट्रपति भण्डारी

बिआरटीनेपाल २०७५ भदौ ३० गते १५:०६ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्न अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसित आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनु सरह हो’ भन्ने मान्यतालाई गम्भीरतापूर्वक मनन गरी हत्यामा संलग्न अपराधीलाई कानुनी दायराभित्र ल्याई दण्डित गर्न सबै पक्ष संवेदनशील बन्नुपर्छ । ”

राष्ट्रिय बाल दिवस २०७५ मूल समारोहलाई आज यहाँ सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले निर्मला पन्तका बाबु, आमा तथा परिवारजन न्यायका लागि छट्पटिरहनु दुःखद हो भन्नुभयो । उहाँले पन्तको बलात्कारपछि हत्याको घटनाले आफूलाई अत्यन्त दुःखी तुल्याएको चर्चा गर्दै यस दुःखद घटनाप्रति परिवारजनमा सहानुभूति प्रकट गर्नुभयो ।

राष्ट्रपति भण्डारीले संविधान प्रदत्त बालबालिकासम्बन्धी मौलिक अधिकारलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न आग्रह गर्दै प्रभावकारी र व्यावहारिक कार्यान्वयनले मात्र बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार अन्त्य गर्न सकिन्छ भन्नुभयो ।

बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार, बलात्कार रोक्न प्रहरी, नागरिक समाज तथा घर परिवार एकजुट हुनुपर्छ उहाँले भन्नुभयो । राष्ट्रपति भण्डारीले भन्नुभयो, “कलिला बालिकामाथि हुने यौनजन्य हिंसा मानवताविरुद्धको कलङ्क हो, यसलाई जरैदेखि उखेलेर फाल्नुपर्छ ।”

आजका बालबालिका भोलिका सक्षम र योग्य नागरिक हुन्, उनीहरूको जन्मदेखि नै स्वास्थ्य एवं शिक्षामा सरकारको विशेष ध्यान जानुपर्छ उहाँले भन्नुभयो । यसवर्षको बाल दिवसको नारा “सुखी नेपाली, समृद्ध नेपाल बाल अधिकार सबैको सरोकार” रहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले संविधान प्रदत्त बालबालिकाका अधिकार कार्यान्वयनमा ल्याउन आवश्यक ऐन तयार गरी मन्त्रालयले संसद्मा प्रस्तुत गरेको बताउनुभयो । बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार तथा बलात्कारका घटना अन्त्य गर्न सामूहिक प्रयासको खाँचो उहाँले औँल्याउनुभयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव बुद्धिबहादुर खड्काले बालबालिकामाथि हुने हिंसा अन्त्य गर्न स्थानीय सरकार बढी संवेदनशील बन्नुपर्छ भन्नुभयो । खगेन्द्र नव जीवन विद्यालय जोरपाटीमा कक्षा १० मा अध्ययनरत छात्रा सविता थापाले पछिल्लो समय निर्धक्क रूपमा सडकमा हिँडडुल गर्न नसकिने अवस्था सिर्जना भएको बताउनुभयो । बालअधिकारकर्मी गौरी प्रधानले बालबालिका शान्ति क्षेत्र हुन् यसका लागि तीनै तहका सरकारले बाल मैत्री नीति अवलम्बन गर्नुपर्छ भन्नुभयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू