अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३८ | Colorodo: 07:53

मुलुकभर ९ लाख २२ हजार प्रतिष्ठान ३४ लाख लाई रोजगारी

बिआरटीनेपाल २०७५ भदौ २९ गते ९:५५ मा प्रकाशित

गत वैशाख–जेठ महिनामा सञ्चालन गरिएको देशको पहिलो आर्थिक गणनाको प्रारम्भिक प्रतिवेदनले मुलुकभर ९ लाख २२ हजार चार सय ४५ औद्योगिक, व्यावसायिक प्रतिष्ठानहरुले ३४ लाख आठ हजार सात सय ४६ लाई रोजगारी दिएको उल्लेख गरेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार, प्राप्त रोजगारीमध्ये २० लाख ४४ हजार नौ सय ८९ पुरुष र १३ लाख ६३ हजार सात सय ५७ महिला रहेका छन् ।
आर्थिक गणनामा कृषि कामदार (फर्म दर्ता नभएका), वन तथा मत्स्य पालन, सार्वजनिक संस्थाहरु, अनिवार्य सामाजिक सुरक्षामा समावेश तथा घरयासी काम गर्नेहरु समावेश गरिएको छैन । प्रारम्भिक प्रतिवेदन अनुसार प्रति हजार व्यक्तिका लागि ३१ दशमलव ६ प्रतिष्ठानहरु उपलब्ध छन् । प्रतिवर्ग किलोमिटरमा ६ प्रतिष्ठानहरु रहेका छन् । प्रदेशगत रुपमा सबैभन्दा बढी प्रतिष्ठानहरु प्रदेश ३ मा रहेका छन् । प्रदेश ३ मा ३० प्रतिशत प्रतिष्ठानहरु रहेका छन् । त्यस्तै, प्रदेश १ मा १८ प्रतिशत, प्रदेश ५ मा १६ प्रतिशत, प्रदेश २ मा १३ प्रतिशत, प्रदेश ४ मा ११ प्रतिशत, प्रदेश ७ मा ७ प्रतिशत र प्रदेश ६ मा ५ प्रतिशत औद्योगिक, व्यावसायिक प्रतिष्ठानहरु रहेका छन् ।
काठमाडौं उपत्यकामा मात्र कुलमध्ये १८ दशमलव ५ प्रतिशत औद्योगिक, व्यावसायिक प्रतिष्ठानहरु रहेका छन् । केन्द्रीय तथ्यांक विभागका अनुसार, एक लाख ७० हजार छ सय ३२ प्रतिष्ठानहरु उपत्यकाका तीन जिल्लामा सञ्चालनमा छन् । त्यस्तै, काठमाडौंमा मात्र १३ दशमलव ४ प्रतिशत, झापामा ४ दशमलव २ प्रतिशत, रुपन्देहीमा ४ दशमलव २ प्रतिशत, मोरङमा ३ दशमलव ८ प्रतिशत र सुनसरीमा ३ दशमलव ४ प्रतिशत प्रतिष्ठानहरु सञ्चालनमा रहेका छन् ।
यो तथ्यांक अनुसार काठमाडौंमा प्रति हजार व्यक्ति ५८ प्रतिष्ठान उपलब्ध छन् भने भक्तपुरमा ५५ र कास्कीमा ५४ प्रतिष्ठान उपलब्ध छन् । त्यस्तै अछाममा सबैभन्दा कम प्रति हजार व्यक्ति १५ दशमलव २ प्रतिष्ठान हुन आउँछ भने बारामा १५ दशमलव ६, रौतहटमा १५ दशमलव ८ प्रतिशत, वैतडीमा १६ दशमलव ७ र डोटीमा १७.२ प्रतिष्ठान प्रति एक हजार जनसंख्यामा उपलब्ध रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू