अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३५ | Colorodo: 21:50

३३ किलो सुन प्रकरण– एसएसपी दिवेश लोहनी साधारण तारेखमा रिहा

बिआरटीनेपाल २०७५ भदौ २९ गते ९:३० मा प्रकाशित

साढे ३३ किलो सुन र भरिया सनम शाक्य हत्या प्रकरणमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी साधारण तारेखमा रिहा भएका छन् । उच्च अदालत विराटनगरले शुक्रबार लोहनीलाई साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । रजिष्ट्रार नारायण रेग्मीका अनुसार लोहनीविरुद्ध जिल्ला अदालत मोरङले गरेको आदेश ‘रितपूर्वक नदेखिएको’ आदेशमा उल्लेख छ ।

न्यायाधीश नागेन्द्रलाभ कर्ण र सारंगा सुवेदीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश बदर गरिदिएको हो । लोहनीको मुद्दामा साँझसम्म इजलास बसेको थियो । ३३ किलो सुन र सनम शाक्य घटनाका मुख्य अभियुक्त चूडामणि उप्रेतीलाई भगाएको आरोप लगाउँदै गृह मन्त्रालयको छानविन टोलीले लोहनीलाई पोलेको थियो । सरकारी वकिल कार्यालय मोरङमा वैशाख १९ गते बयान दिन गएका लोहनीलाई पक्राउ पूर्जी दिइएको थियो ।

लोहनी पक्राउपछि जिल्ला अदालत मोरङको आदेशले पुर्पक्षका लागि कारागार चलान भएका थिए । शुक्रबार साँझ परिसकेका कारण लोहनीलाई थुनामुक्त गर्न उच्च अदालतले पूर्जी दिइसकेको भने छैन । तत्कालीन महानगरीय अपराध महाशाखा प्रमुख हुँदा सनम शाक्य हत्या तथा ३३ किलो सुन अनुसन्धानमा लोहनी नेतृत्वको प्रहरी खटिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू