अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५५ | Colorodo: 10:10

कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथसम्म केवलकार बन्ने, समझदारी पत्रमा हस्ताक्षर

बिआरटीनेपाल २०७५ भदौ २९ गते ५:१५ मा प्रकाशित

कास्कीको वीरेठाँडीदेखि मुस्ताङको मुक्तिनाथसम्म केवलकार निर्माण हुने भएको छ । सो केवलकार निर्माणका लागि लगानी बोर्ड र मुक्तिनाथ केवलकार दर्शन प्रालि बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीका तर्फबाट अध्यक्ष अरुणकुमार सुवेदीले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सो केवलकारको लम्बाइ ८३ दशमलव ६५ किलोमिटर हुनेछ । केवलकारका ६ वटा स्टेशन रहनेछन् । पहिलो शुरुवाती स्टेशन वीरेठाँटीमा हुनेछ भने त्यसपछि घोरेपानी, तातोपानी, लेते, मार्फा, कागबेनी र मुक्तिनाथमा अन्य स्टेशनहरु राखिने छ ।
आयोजनाको कूल लागत करीब ३५ अर्ब लाग्ने बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिनुभएको छ । गत वैशाख १५ गते बसेको बोर्डको ३० औँ बैठकले सो केवलकार निर्माणसम्बन्धी प्रस्तावलाई स्वीकृत गरेको थियो । बोर्डले मुक्तिनाथ दर्शन प्रालिलाई आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिएको थियो ।

समझदारीपत्रमा हस्ताक्षर भएको मितिले १८ महीनाभित्र विस्तृत परियोजना प्रतिवेदन तयार पारी बोर्डसमक्ष पेश गर्नुपर्ने प्रवक्ता वाग्लेले जानकारी दिनुभयो । नेपालमा निजी क्षेत्रबाट केवलकार निर्माण शुरु भई सञ्चालनमा आएको करीब डेढ दशकपछि सार्वजनिक निजी साझेदारी अवधारणामा हालसम्मकै लामो केवलकार निर्माण गर्न लागिएको हो । पछिल्लो पटक नेपालमा केवलकार निर्माणका लागि स्थानीय तहले नै पहल गर्दै आएको छ । हाल देशभर दुई दर्जनभन्दा बढी स्थानमा केवलकार निर्माणका लागि पहल भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू