अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२० | Colorodo: 20:35

निर्मला हत्या प्रकरण – एसपी विष्टसहित तीनजनाको डिएनए परीक्षण

बिआरटीनेपाल २०७५ भदौ २८ गते ९:४९ मा प्रकाशित

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित तीनजनाको डिएनए परीक्षण सुरु गरेको छ । गत साउन १० गते घरबाट हिँडेकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मलाको हत्या प्रकरणमा एसएसपी विष्टसहित तीनजना शंकाको दायरामा परेपछि उनीहरुको डिएनए परीक्षण सुरु गरिएको हो । प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार हाल निलम्बनमा रहेका एसपी विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिका मेयर सुरेन्द्र विष्टका भतिजा आयुषको रगत लिएर डिएनए परीक्षण थालिएको हो । निर्मला प्रकरणमा मुछिएका आयुष सुरेन्द्रका भतिजाका साथै नेपाली कांग्रेस महासमिति सदस्य भुपेन्द्र विष्टका छोरा पनि हुन् ।
हाल निलम्बनमा रहेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा र मेयरका भतिजाको डीएनए टेस्ट प्रक्रिया अघि बढाएको प्रहरी प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो । प्रहरी प्रधान कार्यालयले निर्मलाको बलात्कार र हत्या प्रकरणमा पीडितका आफन्तको प्रश्न सम्बोधनका लागि तत्कालीन एसपी विष्टसहित तीनजनाको डीएनए परीक्षण गराउन विधि विज्ञान प्रयोगशालामा प्रक्रिया अघि वढाएको जनाईएको छ ।

प्रहरी प्रवक्ता क्षेत्रीका अनुसार निर्मलाका अभिभावक र आफन्तको गुनासो सम्बोधनसँगै अभियुक्त पत्ता लगाउनका लागि थप प्रमाण जुटाउन डीएनए परीक्षण थालिएको हो । डीएनए परिक्षणपछि निर्मलाको डिएनएसँग मेल खाएमा जो सुकैलाई पनि नछाडी कारवाही गर्ने क्षेत्रीको भनाई छ । यसअघि मुख्य अभियुक्त भनेर २४ दिनसम्म हिरासमा राखिएका ४१ वर्षीय दिलीपसिंह विष्ट र ११ दिनसम्म हिरासतमा राखिएका चक्र बडूको डिएनए परीक्षण गरिएको थियो । तर ती दुवैको डिएनए निर्मलाको डिएनएसँग नमिलेपछि जनआक्रोश झनै बढेको छ ।

यसैबीच एसपी विष्ट र सीआईबीबाट अनुसन्धान टोलीमा खटिएका प्रहरीको भूमिका शंकास्पद देखिएपछि थप आन्तरिक छानबिनका लागि एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा नयाँ समिति बनाइएको छ । प्रहरी प्रधान कार्यालयले भदौ १४ गते नै सुवेदीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरे पनि बिहीबार मात्रै यो कुरा सार्वजनिक भएको छ । स्रोतका अनुसार मुख्य अभियुक्त भनेर २४ दिनसम्म हिरासमा राखिएका दिलीपसिंह विष्ट र ११ दिनसम्म हिरासतमा राखिएका चक्र बडूको डिएनए निर्मलाको डिएनएसँग नमिलेपछि बढेको जनआक्रोशबीच यो कुरा सार्वजनिक भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू