अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१० | Colorodo: 05:25

काठमाडौँ पटना बोध गया सिधा यातायात सुचारु, अनलाइनबाटै टिकट काट्न सकिने

बिआरटीनेपाल २०७५ भदौ २८ गते ८:२५ मा प्रकाशित

राजधानी काठमाडौँदेखि भारतको विहार राज्यका मोतिहारी, मुजफ्फरपुर, पटना, बोधगयाका लागि सिधा यातायात सेवा सुचारु भएको छ ।

विहार राज्य पथपरिवहन निगम र स्वयम्भू मञ्जुश्री यातायात प्रा.लि.को सहकार्यमा काठमाडौँदेखि पटना बोधगयासम्म सेवा सञ्चालन भएको हो । बिहीबार माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले संयुक्त रूपमा हरियो झन्डा फहराइ बसलाई विधिवत रूपमा गन्तव्यमा पठाइ सेवाको शुभारम्भ गर्नुभयो ।

यसै गरी जनकपुरदेखि पटनाका लागि ३१ गते आइतबारदेखि सिधा बस सेवा सुरु हुनेछ । सोही कार्यक्रमको उद्घाटन प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउतले गर्ने कार्यक्रम रहेको छ ।

स्वयम्भू मञ्जुश्री यातायात प्रा.लि.ले भारतका नयाँ क्षेत्रमा यातायात सञ्चालन गरेसँगै अनलाइनबाट बस टिकट काट्न सकिने सेवाको समेत सुरुवात गरेको छ । अबदेखि यात्रीहरूले www.manjushreeyatayat.com.np मार्फत अनलाइन टिकट काट्न सक्नेछन् । यसै गरी बससेवाको वेबसाइट बस सेवा डटकम (www.bussewa.com) तथा बससेवाको मोबाइल एप्स, इसेवाको वेबसाइट तथा मोबाइल एप्लिकेशनबाट समेत टिकट काट्न सकिनेछ । इ सेवा एकाउन्ट नभएका यात्रुले आफ्नो टोलछिमेकमा रहेका इसेवाका जोन तथा पाइन्टबाट टिकट काट्न सक्नेछन् । साथै भविष्यमा आइएमइ पे, इ प्रभु तथा एनआइसी एसिया बैंकमार्फत् समेत टिकट काट्न सकिनेछ ।

राजधानीमा आयोजित बस उद्घाटन कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले दुई देशका बिचमा इतिहासदेखि नै सुमधुर सम्बन्ध रहिआएकोमा पछिल्लो समय भारत र नेपालको सम्बन्ध अझ उचाइमा पुगेको बताउनुभयो । उहाँले दुई देशका बिचमा यातायात सञ्चालन हुँदा दुई मुलुकका जनतालाई आवत जावतमा झनै सहजता हुने बताउनुभयो ’ ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले पटना, बोध गया लगायतका क्षेत्रमा पनि सिधा यातायात सुचारु हुनाले दुई देशका बिचमा यातायात सुविधा अझ सहज हुनुका साथै यसले नेपाल र भारत बिचको सम्बन्धलाई अझै उचाइमा पुर्‍याउने बताउनुभयो ।

यस्तै कार्यक्रममा स्वयम्भू मञ्जुश्री यातायात प्रा.लि.का अध्यक्ष अनिल चालिसेले भन्नुभयो ‘ हामीले आगामी दिनमा पनि भारतका अन्य राज्य तथा पर्यटकीय क्षेत्रलाई लक्षित गर्दै सिधा यातायात सेवा विस्तार गर्दै जानेछौँ । साथै हामीले यात्रुलाई टिकट काट्नकै लागि काउन्टरसम्म धाउन नपरोस् भन्ने उदेश्यले बस सेवा डटकमसँगको सहकार्यमा अनलाइन टिकटिङ सेवाको सुचारु गरेका छौँ’ ।

वि.स २०५६ सालदेखि काठमाडौँ वाट दिल्ली यात्रु बस सञ्चालन गर्दै आएको यस संस्था सन २०१४ देखि विधिवतरुपमा सरकारी स्तरबाट समेत नेपाल भारत नियमित मैत्री वससेवामा परिणत भएको छ । हाल काठमाडौँ–दिल्ली–काठमाडौँ, काठमाडौँ बनारस काठमाडौँका लागि नेपाल भारत नियमित मैत्री बस सेवा सञ्चालन हुँदै आएको छ । अबदेखि यी यातायातको टिकट पनि अनलाइनबाट काट्न सकिनेछ । सन् २०१४ मा भएको १८ औँ सार्क सम्मेलनका बेला नेपालका तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइराला र भारतीय प्रधानमन्त्री मरेन्द्र मोदीले नेपाल भारत मैत्री बसको उद्घाटन गर्नुभएको थियो ।

बस सेवा डटकम नेपालको एक मात्र अनलाइन बस टिकटिङ माध्यम हो । यसको प्रयोग मार्फत बस टिकट सुरक्षित हुने ब्यहोरा समेत जानकारी गराउँछौ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू