अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०४ | Colorodo: 19:19

पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गर्न माग

बिआरटीनेपाल २०७५ भदौ २७ गते २०:०४ मा प्रकाशित

काठमाडौं । होटल संघ नेपाल (हान) ले पोखरालाई पर्यटकीय राजधानीका रूपमा विकास गर्न प्रस्ताव गरेको छ । पोखराका पर्यटन व्यवसायी, प्रदेशका मुख्यमन्त्री, मन्त्री र पोखराका मेयर सहितको छलफलमा संघले पोखरालाई दक्षिण एशियाको पर्यटकीय प्रवेशद्वार बनाउन सकिने भन्दै पर्यटकीय राजधानीको रुपमा विकास गर्न प्रस्ताव गरेको हो ।

संघका अध्यक्ष अमरमान शाक्यले गण्डकी प्रदेशमा दिगो पर्यटन विकास गर्दै यसलाई समृद्ध प्रदेशका रूपमा अगाडि बढाउन सकिने बताए । संघीय सरकारले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने पनि उनको तर्क थियो ।

त्यस्तै संघका पूर्वअध्यक्ष एवं होटल संघ नेपाल पूर्वअध्यक्ष परिषद् गण्डकी प्रदेशका संयोजक प्रसिद्धबहादुर पाण्डेले हरेक उमेर, क्षमता र अवस्था भएका पर्यटकका लागि पोखरा उपयुक्त पर्यटकीय गन्तव्य भएको अवधारणापत्र प्रस्तुत गरे । पोखरालाई मास तथा माइस (एमआईसीई) टुरिजमको गन्तव्यका रूपमा विकास गर्न आक्रमक तथा आकर्षक पर्यटकीय नीति तर्जुमा गर्दै सन् २०२० को नेपाल भ्रमण वर्षको लक्ष्य हासिल गर्नेतर्फ अग्रसर हुनुपर्ने उनले बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले हानले ल्याएको अवधारणा सकारात्मक भएको भन्दै प्रदेश सरकार अहिले नीति निर्माणकै विषयलाई केन्द्रमा राखेर अगाडि बढिरहेको जानकारी दिए । काठमाडौं, पोखरा, भैरहवा र निजगढमा विमानस्थल सुधार तथा निर्माण सम्पन्न भएपछि र पोखरा जोड्ने मध्यपहाडी, पृथ्वी, सिद्धार्थ र कोरला हुँदै त्रिवेणी जोड्न राजमार्ग निर्माण तथा विकास भएपछि पोखरा पर्यटनको सशक्त हव हुने भनाइ राखे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू