अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०१ | Colorodo: 09:16

सार्थक सङ्गीत यात्रा र मदन दीपबीम बस्नेत

प्रमोद अमात्य २०७५ भदौ २७ गते १०:४१ मा प्रकाशित

भन्छन् कोही जिन्दगी यो
कर्कलाको पानी जस्तै हो
कोही भन्छन् जिन्दगी यो
डुबी जाने घाम जस्तै हो

म त भन्छु सृष्टि कै अमूल्य उपहार
मानिसको जुनी झैँ के छ र बराबर
बाँचुन्जेल गरौँ रमाइलो
नाच्दै गाउँदै गरौँ रमाइलो

यस्तो जीवन दर्शन, जिउने कला बोकेको कालजयी गीतका सर्जक हुन् मदन दीपबीम । उनको यस्तै लोकप्रिय गीतहरू सुन्दै हुर्केको बढेको एक श्रोता हुँ म ।

नरेन्द्र प्यासीको ‘के भूल भयो प्रिया’
लाक्पा शेर्पाको ‘झस्केर दुख्छ…’
ममता दीपबीमको ‘सुरिलो रुख सल्लै हो’

यस्ता अति लोकप्रिय गीत, सङ्गीतका सर्जक हुन् मदन दीपबीम । यस्ता सर्जकसँग सान फ्रन्सिस्कोको पहिलो भानु जयन्तीमा भेट हुँदा साह्रै रमाएको थिएँ म । त्यस पछि उहाँसँग साङ्गीतिक र साहित्यिक जमघटहरूमा भेट हुन थाल्यो । आश्चर्यको कुरा चैँ के भने यस्ता चर्चित र वरिष्ठ व्यक्ति पनि सबैसित सरल, सहज र शालीनताका साथ प्रस्तुत हुन्थे । न उनमा उनले १५ सयौँ गीत सङ्गीत सृजना गरेको छु भन्ने घमन्ड भेटिन्थ्यो, न वरिष्ठताको दम्भ । सदा शालीन मदन दीपबीममा, उहाँको सङ्गीतमा भेटिन्छ त मात्र –

नेपाली माटोको सुवास;
हिमाल पहाडको शीतल बतास
मधेस मैदान फाँटको मिठास;
नेपालीपनको झङ्कार

यस्ता नेपाली सङ्गीतका चम्किला तारा मदन दीपबीमले नयाँ पुस्तालाई सदा प्रोत्साहित र प्रेरित गरिराखोस् । उहाँको साथ, सहयोग र सद्भाव सधैँ नेपाली सङ्गीतले पाओस् यही कामना गर्न चाहन्छु र हामी सबै नेपाली सङ्गीतका श्रोताहरूका तर्फबाट उहाँलाई नमन गर्न चाहन्छु, सम्मान गर्न चाहन्छु ।

गीत सङ्गीतका मुर्धन्य व्यक्तित्व मदन दीपबीमको सम्मानमा सान फ्रान्सिस्को एरियामा हुन लागेको सार्थक सङ्गीत यात्रामा सहभागी बनौँ र वहाँलाई थप सक्रिय रहने हौसला प्रदान गरौँ ।

प्रतिक्रिया