अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३४ | Colorodo: 09:49

क्यालिफोर्नियाको डेविस सहरमा नेपालमा प्राकृतिक प्रकोपको पूर्वतयारीको कार्यक्रममा सहयोग जुटाउन सांस्कृतिक साँझ

महेश गौतम २०७५ भदौ २४ गते १०:१२ मा प्रकाशित

नेपालका विभिन्न ठाउँहरूमा बाढी, खडेरी, भूकम्प जस्ता प्राकृतिक प्रकोपको पूर्व तयारी तथा व्यवस्थापनका खाद्य कार्यक्रम सञ्चालन गर्न आर्थिक श्रोत जुटाउने उद्देश्यले क्यालिफोर्नियाको डेविस सहरमा यही अगस्त २५ को साँझ स्याक्रामेन्टो नेपलीज लायन्स क्लबद्वारा नेपाली सांस्कृतिक तथा रात्रि भोज कार्यक्रम आयोजना सम्पन्न गरियो । वृहत् स्याक्रामेन्टो स्थित प्रवासी नेपालीहरूले आफ्नो जन्मभूमि र कर्मभुमिको सेवा गर्ने उद्देश्यले यो क्लबको यसै वर्ष स्थापना गरिएको हो । उक्त अवसरमा स्वागत मन्तव्य व्यक्त गर्दै क्लबका प्रेसिडेन्ट डा. दुर्गा दाहालले शैशवकालमा रहेको यो संस्था सबैको स्नेह तथा हेरविचार पाएर स्थानीय, मातृभूमि र विश्वमै पछि परेका समुदायहरूको सेवामा अघि बढ्ने बताउनु भयो ।

डिस्ट्रिक्ट गवर्नरहरु राजन थापा र थोमस निक मैकनिकोलस, Community and Disaster Response Team (CDRT) का निर्देशक केडिन सुमन, ग्लोबल मेम्बरसीप टिम लिडर माइकल रेजलैफ र पास्ट क्याबिनेट सेक्रेटरी एल सताके तथा स्थानीय एवं सानफ्रान्सिसको बे एरियाका लायन्स क्लबका पदाधिकारीहरूको समुपस्थितिमा बीज विशेषज्ञ डा. पीताम्बर दाहालले अन्न सुरक्षा सम्बन्धी अवधारणा पत्र पेस गर्नु भएको थियो ।

क्यालिफोर्निया विश्वविद्यालय डेविसबाट सुरु भएको यो प्रविधि आशिंक रूपमा काभ्रेपलान्चोकको भूकम्प प्रभावित क्षेत्रमा युनिसेफ-अष्ट-जको संयुक्त तत्वावधानमा प्रदर्शन गरिएको उहाँले बताउनुभयो । अन्नको सुरक्षित व्यवस्थापनले प्राकृतिक प्रकोपको असर कम पार्न सकिने कुरामा उहाँले जोड दिनुभयो। गवर्नर राजन थापा र CDRT निर्देशक केडिन सुमनले यस क्लबको सक्रियताको उच्च मुल्याकंन गर्दै नेपालमा छिट्टै सहकार्य गर्ने चाहना अभिव्यक्त गर्नुभयो। कार्यक्रमको समापनमा कार्यक्रम संयोजिका श्रुति गौतमले सबैमा हार्दिक आभारी व्यक्त गर्नुभएको थियो ।

नेपाली र अङ्ग्रेजी राष्ट्रगानहरुबाट सुरु भएको उक्त कार्यक्रममा वरिष्ठ सङ्गीतकार मदन दिपविम समेतको सहभागितामा सुमधुर नेपाली गीतहरू गाइएको थियो भने स्थानीय कलाकारहरूले मनोरंजक नृत्यहरू प्रस्तुत गर्नुभएको थियो। लाएन शेरी रेजलैफले तिजको अवसरमा रातो सारीमा सजिएका महिलासमुदायलाइ विशेषरुपमा समर्पण गर्दै “म महिला हुँ” भन्ने भावपूर्ण गीत गाएर दर्शकदिर्घालाइ मन्त्रमुग्ध बनाउनु भएको थियो। दोस्रो पुस्ताका युवा पिँढीका प्राची वाग्ले र रोचक दाहालबाट अत्यन्तै रोचक तवरबाट उदघोषण गरिएको उक्त कार्यक्रममा माइकल रिजक्लिफ र अल सताकेले पनि सम्बोधन गर्नु भएको थियो । 

प्रतिक्रिया