अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१३ | Colorodo: 08:28

सभामुख महराद्धारा ल्हासाबाट झांगमु–तातोपानी र केरूङ्ग–रसुवागढी मितेरी पुल पुनर्निर्माणको शिलान्यास

बिआरटीनेपाल २०७५ भदौ २४ गते ८:१८ मा प्रकाशित

चीन भ्रमणमा रहनुभएका सभामुख कृष्णबहादुर महराले झांगमु–तातोपानी र केरूङ–रसुवागढी नाका पुल पुनःनिर्माण र महावाणिज्य दूतावास भवनको शिलान्यास गर्नुभएको छ । सभामुख महराले आइतबार ल्हासास्थित एक विशेष समारोहका बीच नेपाल–चीन सीमा नाकाका अन्तर्राष्ट्रिय मैत्री पुलको पुनःनिर्माण तथा महावाणिज्य दूतावास भवनको शिलान्यास गर्नुभएको हो ।
सभामुख महराको प्रमुख आतिथ्यमा ल्हासाबाटै भिडियो प्रविधिबाट गरिएको शिलान्यास समारोहमा तिब्बत जनकांग्रेसका अध्यक्षसहितका पधाधिकारीहरुको सहभागिता रहेको थियो । वि. सं २०७२ वैशाख १२ गतेको महाभूकम्पका कारण नेपाल–चीन जोड्ने दुवै पुलहरु क्षतिग्रस्त भएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला संयुक्त वक्तव्यमा दुई मितेरी पुल बनाउने सहमति भएसँगै चीन सरकारले पुल पुनःनिर्माणको कार्य अघि बढाउन लागेको हो ।

यी दुई मैत्री पुल निर्माण भएसँगै दुई देशबीचको व्यापारका साथै पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । पुल पुननिर्माण तथा दूतावास भवन शिलन्यास समारोहलाई सम्बोधन गर्दै सभामुख कृष्णबहादुर महराले ल्हासामा रहेको नेपाली वाणिज्य दूतावास नेपाल र चीनबीच सुमधुर सम्बन्धको प्रतीकको रुपमा रहेको वताउनुभयो । दुबै देशका नागरिकले बौद्ध धर्मको अनुसरण गर्नु सांस्कृतिक, धार्मिक सम्बन्धको ज्वलन्त उदाहरण भएको चर्चा गर्दै सभामुख महराले ऐतिहासिक व्यापारिक मार्ग, संस्कृति आदानप्रदान र राजनीतिक अन्तरक्रिया नेपाल–चीन सम्बन्धका गतिशील पक्षहरु भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू