अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१४ | Colorodo: 07:29

भारतको चाहना शान्त र सम्वृद्ध नेपाल– नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७५ भदौ २४ गते ८:१७ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतको चाहना शान्त र समृद्ध नेपाल रहेको वताउनुभएको छ । भारत भ्रमणबाट स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले उक्त कुरा वताउनुभएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा दिल्ली जानुभएका पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भारतको एउटै मात्र चाहना नेपाल शान्त र समृद्ध भएको हेर्ने रहेको वताउनुभएको हो ।
नेपालमा अहिले बलियो सरकार बनेको र भारतीय संस्थापनले नेपालको विकास र समृद्धि चाहेको उल्लेख गर्दै अध्यक्ष प्रचडले स्थित, शान्त र समृद्ध नेपाल नै भारतको चाहना रहेको स्पष्ट पार्नुभयो । प्रचण्डले छोटो समयमा धेरै बैठक र छलफल भए पनि यो पछिल्लो भ्रमण उपलब्धिमुलक भएको वताउनुभएको छ । प्रचण्डले भारत भ्रमणमा सुरक्षा सल्लाहकार अजित डोबलदेखि पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँग भेटवार्ता भएको जानकारी गराउनुभयो ।

प्रचण्डले शुक्रबार सुरक्षा सल्लाहकार डोबलसँग भेटवार्ता गर्दै त्यहाँ आयोजित एक विशेष कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । दोस्रो दिन शनिबार प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँग भेटवार्ता गर्नुभएको थियो ।

विमानस्थलमा पत्रकारले सोधेका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले चित्त बुझ्दो काम नगर्ने मन्त्रीमात्र फेर्ने कुरा गरेको तर त्यो जिम्मेवारी प्रधानमन्त्रीकै भएको स्पष्ट पार्नुभयो । भारतमा हुने बिम्स्टेक राष्ट्रका सेनाको सहभागीतामा हुन लागेको संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी नहुने विषयमा भएको निर्णयबारे भने आफू जानकार नरहेको प्रचण्डको भनाई थियो ।
भारतमा भएका उच्चस्तरीय भेटवार्तामा डुबान समस्या, विराटनगरस्थित महावाणिज्य दुतावास बन्द र आगामी दिनमा दुवै देशले चाल्नुपर्ने कदमका विषयमा छलफल भएको प्रचण्डले वताउनुभयो । अर्को एक प्रसंगमा उहाँले आवश्यकता अनुसार सरकारले पुरक बजेट ल्याउन सक्ने पनि संकेत गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डको स्वागतका लागि नेकपाका नेता वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, सुवास नेम्वाङ, देव गुरुङ, अग्निप्रसाद सापकोटा, देवेन्द्र पौडेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, कानुनमन्त्री भानुभक्त आचार्य, पूर्व सभामुख ओनसरी घर्ती र खानेपानी मन्त्री बीना मगरसहित दर्जनौं नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । वि. सं २०७४ मा संसदीय चुनाव भएर नेकपाको सरकार गठन र पार्टी एकतापछि अध्यक्ष प्रचण्ड पहिलो राजनीतिक भ्रमणका लागि भारत जानुभएको थियो । उहाँ असोज १ गते चीन भ्रमणमा जाने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू