अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३९ | Colorodo: 03:54

सिरियाको इड्लिब द्वन्द्व–टर्की र रुसको फरक–फरक मत

बिआरटीनेपाल २०७५ भदौ २३ गते ९:३७ मा प्रकाशित

सिरियाको इडलिबमा भएको द्वन्द्वका बारेमा टर्की र रूसले फरक–फरक मत व्यक्त गरेका छन् । टर्कीले तत्काल युद्वविराम गर्न आह्वान गरिरहेका बेला रूसले भने आतंककारीलाई नियन्त्रणमा लिनु सिरियाको अधिकार भएको तर्क गरेको छ । इरान, टर्की र रुसका शीर्ष नेताहरुको तेहरानमा भएको शिखर बैठकमा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले इडलिबमा रूसी हवाई हमला भएपछि युद्वबिराम गर्न आह्वान गर्नुभएको हो । उहाँले युद्धविरामलाई सुनिश्चित गर्न सकिए एउटा महत्वपूर्ण कदम हुने भएकाले यसलाई गम्भीरतापूर्वक लिन आग्रह गर्नुभयो ।

तर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने आफ्नो क्षेत्रलाई नियन्त्रणमा लिनु सिरियाको अधिकार भएको तर्क गर्दै आक्रमण जायज र आवश्यक रहेको जिकिर गर्नुभएको छ । उहाँले टर्कीले राखेको प्रस्ताव अस्वीकार्य हुने र रुसी सेनाले सिरियाली सेनालाई इडलिब आक्रमणमा साथ दिइरहने प्रतिवद्धता जनाउनुभयो ।

शिखर बैठकले सिरियाको इडलिब प्रान्तमा गएको करिब दुई वर्षदेखि कब्जा जमाउँदै आएका विद्रोही र उनीहरूको कब्जामा रहेका सिरियाका अरू सर्वसाधारणका बारेमा छलफल गरी आवश्यक रणनीति बनाउने अपेक्षा गरिएको थियो । सिरियामा विगत सात वर्षदेखि सिरियाली विद्रोहीका कारण गृहयुद्ध मच्चिएको छ । ती विद्रोहीले पनि इडलिबलाई मुख्य अखडा बनाएका छन् ।

सात वर्षसम्म सिररियामा चलेको युद्धका कारण हालसम्म ३ लाख ५० हजारभन्दा बढीको ज्यान गइसकेको छ । युद्धका कारण एक करोड १० लाख मानिस विस्थापित भईसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू