अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३१ | Colorodo: 16:46

इराकबाट उद्धार भएकी युवती भन्छिन्, मैले नर्कको जिन्दगी भोगेर फेरी स्वर्गमा फर्के

बिआरटीनेपाल २०७५ भदौ २३ गते ७:०८ मा प्रकाशित

भक्तपुर, वर्क फर नेपाल फाउण्डेशनले वैदेशिक रोजगारीको नाममा इराकमा बेचिएका गंगामाया तामाङ, कान्छीमाया तामाङ र अर्चना थापालाई उद्धार गरेर स्वदेश फिर्ता गरेको हिजो शुक्रवारको दिन एक पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

शुक्रवार रिपोर्टर्स क्लब नेपालमा फाउण्डेशनले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । वर्क फर नेपाल फाउण्डेशन, अन्तरपार्टी महिला सञ्जाल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रष्ठिान जिल्ला कार्य समिति सिन्धुपाल्चोकले पत्रकार सम्मेलन गरेर संयुक्त रूपमा यस्तो जानकारी गराएका हुन् ।

इराकमा बेचिएकी २० वर्षीया गंगामाया तामाङ (सिन्धुपाल्चोक) २० वर्षकै कान्छीमाया तामाङ (सिन्धुपाल्चोक) र २३ वर्षीया अर्चना थापा मगर (सिन्धुली) ले रोजगारीको नाममा नेपाली दलाहरुले नेपाली चेलीहरूलाई तेस्रो मुलुकमा बेच्ने गरेको बताउँदै सरकारलाई दलालीहरूको जालो पत्ता लगाएर दोषीमाथि कडा भन्दा कडा कानुनी कारबाही गर्न माग गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै इराकमा बेचिएकी कान्छीमाया तामाङले विदेश जानु पूर्व बुझेर मात्रै जानुपर्ने धारणा राखेकी छिन् । इराकमा आफू बेचिँदाको पीडा र भोगेको दुःखलाई सुनाउँदै उनले भनिन्,‘मेरोजस्तो कसैले दुःख नपाओस्, मलाई भारतको बाटो हुँदै इजरायल भनेर इराकमा पुर्याएको थियो । पछि त मलाई दलालीहरूले बेचिसकेको थाहा पाएँ।’

त्यस्तै अर्चना थापा मगरले नेपाली महिलाहरूले विदेश जानुपुर्व सोचबुझपछि मात्रै जानुपर्ने बताइन् । उनले भनिन्, ‘मैले भोगेको दुःख अरू नेपाली चेलीहरूले भोग्न नपरोस्, म त नेपालमै काम गरेर खानुपर्छ, यही देशमा केही गरिखानुपर्छ, मैले दलाललाई चिन्न नसकेर दुःख पाएँ, नेपालबाट दुबई भनेर मलाई लगिएको हो । तर, मलाई दुबई नलगी सिधै इराक पुर्याईएछ । तिर्गिस्तान्को लागि भनेर इराकमा बेचिदिए, १३ महिनासम्म मैले दुख भोग्नुपर्‍यो, शारीरिक रूपमा हमला गर्ने गर्थे, अबका दिनमा विदेश भन्ने शब्द वाचनसम्म गर्न नपरोस् ।’

सरकारले वैदेशिक रोजगारको बारेमा जनचेतनामूलक तथा सन्देशमूलक कार्यक्रमहरू गर्नुपर्ने भन्दै वर्क फर नेपाल फाउण्डेशनलका कार्यवाहक अध्यक्ष धावा नोकरले कडा कानुन बनाउनुपर्नेमा जोड दिएका छन् । उनले भने,‘नेपाली चेलीहरूलाई विदेशमा बेचिनबाट रोक्नको लागि हाम्रो सरकार गम्भीर बन्नुपर्छ । दलालहरूलाई कडा कानुनी कारबाही गर्नुपर्छ ।’

फाउण्डेशनले पछिल्लो एक वर्षमा विभिन्न देशहरूबाट १५२ जना नेपाली चेलीहरूको उद्धार गरेको पनि कार्यवाहक अध्यक्ष नोकरले जानकारी गराए ।

नेपाली चेलीहरूलाई विदेशमा बेचिनबाट रोक्ने अभियानमा संलग्न आफूहरूजस्तो सामाजिक अभियन्तालाई नै दलाली र मानव तस्करहरूले ज्यान मार्नेसम्मको धम्की दिने गरेको पनि उनले गुनासो पोखे । उनले थपे,‘राज्यले अब हामीहरूको लागि पनि उचित सुरक्षाको प्रबन्ध गर्दै प्रोत्साहन गर्नुपर्छ । यसो भयो भने हामी अझ सक्रिय भएर नेपाली चेलीहरूलाई विदेश बेचिनबाट रोक्न सक्छौँ ।’

त्यस्तै अन्तर पार्टी महिला सञ्जालकी अध्यक्ष उमा प्रधानले नेपाली चाडपर्वहरू सन्देश मुलुक तरिकाले मनाउनुपर्नेमा जोड दिएकी छिन् । उनले भनिन्,‘तीजजस्ता पर्वहरू भड्किलो हुँदै गएका छन् । गरिबहरूले खान पाएका छैनन् । चाड पर्वको नाममा भड्किलो र फजुल खर्च गर्नुको साटो समाजलाई सन्देश दिने र महिलाहरू बेचिनबाट जोगाउने काममा लाग्नुपर्छ ।’

त्यस्तै कार्यक्रममा रालो तथा दोहोरी गीत प्रष्ठिान जिल्ला कार्यसमिति सिन्धुपाल्चोकका अध्यक्ष योगेश लामाले भदौ २९ गते शुक्रवार सिन्धुपाल्चोकको मेलम्ची बजारमा मावन बेचबिखन तथा ओसारपसार रोकथाम गर्न, वैदेशिक विकृतिलाई न्यूनिकरण गर्न, श्रम र श्रमिकहरूको समस्या समाधान गर्न र संस्कृतिको जर्गेना गर्न सामाजिक जनचेतनामूलक तिज विशेष बृहत सांस्कृतिक कार्यक्रम–२०७५ गरिने जानकारी दिए ।

उनले भने,‘भदौ २८ गते राष्ट्रिय लोक तथा दोहोरी प्रष्ठिानको अधिवेशन हुन्छ र २९ गते बृहत् सांस्कृतिक कार्यक्रमसँगै कलाकार तथा विभिन्न स्रष्टाहरूलाई सम्मान गरिने पनि कार्यक्रम छ, उक्त कार्यक्रममा भाग लिन सबैलाई आग्रह गर्दछु ।’

उक्त कार्यक्रम वर्क फर नेपाल फाउण्डेशनका सचिव नवीन कुमार खड्काले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू