अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४३ | Colorodo: 00:58

टुर गाइडको बढेको ४० प्रतिशत ज्याला असोज १ देखि लागू नभए प्रतिवाद गर्ने यूनिट्राभको चेतावनी

बिआरटीनेपाल २०७५ भदौ २३ गते ६:४४ मा प्रकाशित

काठमाडौँ, पर्यटन श्रमिकहरूको छाता संस्था नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाईन्स–संस्कृत–पुरातात्विक–कुरियर–कार्गो–कर्मचारी–मजदुर युनियन (यूनिट्राभ) ले असोज १ गतेदेखि गाइडको बढेको ४० प्रतिशत तलब माग दाबी गर्न सबै श्रमिकहरूलाई शर्कुलर गरेको छ । यदि खाई पाई आएको ज्यालामा ४० प्रतिशत वृद्धि नगरिए त्यसको प्रतिवाद गर्न पनि यूनिट्राभले सबै टुर गाइडलाई निर्देशन गरेको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै यूनिट्राभले गाइडहरूको खाई पाई आएको ज्याला÷पारिश्रमिकमा ४० प्रतिशत वृद्धि गरी श्रमिकहरूलाई सोही अनुरूप उपलब्ध गराउन पनि भनेको छ ।

यूनिट्राभले २०७४ माघ १२ गते पर्यटन संस्था नेपाल एसोसिएसन अफ टूर्स एन्ड ट्राभल्स एजेन्ट (नाट्टा) चार सुत्रीय माग राखी ज्ञापन पत्र बुझाएको त्यसको हालसम्म पनि सुनुवाइ नभएकोमा आपत्ति जनाउँदै उक्त शर्कुलर गरेको जनाएको छ । टुर गाइडको खाई पाई आएको ज्याला ४० प्रतिशत वृद्धि गर्नुपर्ने, फर्जि टुर गाइडको छानबिन हुनुपर्ने, दुर्घटना बीमा÷मेडिकल बिमा हुनुपर्ने, श्रम ऐन, सामाजिक सुरक्षा ऐन कार्यान्वयन लगायत विषयमा हालसम्म कुनै सुनुवाइ नभएको भन्दै यूनिट्राभअन्तर्गतका श्रमिकहरू आक्रोशित छन् ।

त्यस्तै नेपाल सरकार पर्यटन विभागले पनि आधिकारिक ट्रेड युनियन संगठनहरुसँग वार्ता नगरी गैर ट्रेड युनियनसँग वार्ता र सम्वाद गरेकोमा सङ्गठनको ध्यानाकर्षण भएको यूनिट्राभले जनाएको छ । ‘नेपाल सरकार पर्यटन विभाग, श्रम विभाग, नाट्टा लगायत सरोकार सबै पक्षसँग समस्या समाधानको पहल गर्न अनुरोध गरे पनि टुर गाइडको पक्षमा कुनै आवाज नउठाइएपछि बाध्य भएर असोज १ देखि टुर गाइडले खाई पाई आएको ज्यालामा ४० प्रतिशत वृद्धिको घोषणा गरिएको र सोही अनुसार लिन टुर गाइडलाई आग्रह गर्दछौँ । सोही अनुसार दिन व्यवसायीलाई पनि आग्रह गर्दछौँ । यदि उक्त रकम नबढाइएमा बाध्य भएर सबै टुर गाइडले प्रतिवाद गर्नेछन् र वृद्धि भएको रकम लिन र नपाए प्रतिवादका लागि तयार रहन टुर गाइडलाई निर्देशन गर्दछौँ,’ यूनिट्राभद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

प्रतिक्रिया