अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२९ | Colorodo: 03:44

दोब्बर काम गर्न निजामती कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

बिआरटीनेपाल २०७५ भदौ २२ गते ९:१७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निजामती कर्मचारीले अहिलेकोभन्दा दोब्बर काम गर्ने ठाउँ रहेकाले त्यसअनुसार काम गर्न निर्देशन दिनुभएको छ । १५ औं निजामती सेवा दिवसका अवसरमा मूल समारोह समितिले आज सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले सकेसम्म कम खर्चमा अहिलेको भन्दा दोब्बर काम गरेर जनतामा सेवा दिन निर्देशन गर्नुभएको हो ।

विषयगत कर्मचारीको अभाव मुलुकमा विद्यमान रहेपनि मुलुकको उत्पादकत्व बढाउने गरी कर्मचारीले काम गर्ने ठाउँ रहेको प्रधानमन्त्रीको भनाई थियो । ढिलासुस्ती र अनियमितताको शिकायत सुन्नु पर्ने अवस्था आउन नदिन कर्मचारीहरुलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले जनतालाई सुशासन दिनैपर्ने आवश्यकता औल्याउनुभयो । प्रधानमन्त्री ओलीले सरकारी तलब लिएर काम नगर्ने, उपर्युक्त ढङ्गले खटाएका ठाउँमा नजाने, विरोध हडताल गर्ने संस्कार अन्त्य गरी राष्ट्र निर्माणको सङ्कल्प पूरा गर्न राष्ट्रसेवक कर्मचारहिरुलाई आग्रह गर्नुभयो ।

सङ्घ, प्रदेश र स्थानीय सरकारको नयाँ प्रणाली लागू भएकाले अधिकारको व्यवस्थापन र कार्यान्वयनका सन्दर्भमा केही अन्योल देखिए पनि सरकारले त्यसलाई मिलाउँदै लैजाने प्रधानमन्त्रीको भनाई थियो । सो अवसरमा दक्ष, प्रभावकारी र नतिजामुखी प्रशासन र सेवाका लागि नयाँ निजामती कानून ल्याइने आश्वासन समेत प्रधानमन्त्रीले दिनुभयो । उहाँले कर्मचारीको सुरक्षा, वृत्तिविकास, जायज मागको सुनुवाइका लागि माथिल्लोदेखि तल्लो तहसम्मका कर्मचारीका लागि उक्त कानूनले काम गर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।

कार्यक्रममा वोल्दै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सङ्घीय निजामती सेवा ऐन प्रतिनिधिसभामा पेश गर्न मन्त्रिपरिषद्मा विचाराधीन रहेको जानकारी दिनुभयो । उहाँले तीन तहका सरकारबीचको व्यवस्थापनका क्रममा जस्तोसुकै कठिनाई भएपनि हाँसीखुशी रुपमा गर्न राष्ट्रसेवकलाई आग्रह गर्नुभयो । दिवसका अवसरमा विभिन्न उत्कृष्ट कर्मचारीलाई पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू