अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३५ | Colorodo: 04:50

मलको महाभारत : बच्चा बोकेर ५ घण्टा लाइन लाग्दा जम्मा २० किलो !

बिआरटीनेपाल २०७५ भदौ २१ गते १९:४३ मा प्रकाशित

नीलकण्ठ नगरपालिका–८ की बिन्दा श्रेष्ठ काखमा दुधे छोरो बोकेर बिहानै सदरमुकाम आइन् । काम थियो– रासायनिक मल किन्ने । सदरमुकामको नीलकण्ठ सहकारीबाट बिहीबार मल वितरण गर्ने सूचना पाएकी बिन्दा छोरालाई लिएर बिहान ७ बजेनै यहाँ आएकी हुन् ।

यसअघि २ पटक मल लिन सदरमुका आउँदा रित्तै फर्केकी उनी खानासमेत नखाई बिहानै लाइन बसिन् । काखमा छोरो च्यापेरै घाममा ५ घण्टा लाइनमा बसेपछि बल्लतल्ल १२ बजेतिर उनले २० किलो मल पाइन् । मल किनेपछि लामो सास फेर्दै भनिन्, ‘पाखोबारीमा कोदो रोपेको छु, मल नहालौं, उब्जनी कम हुन्छ, हालौं किन्न यत्रो सास्ती छ ।’

टन्टलापुर घाममा बिन्दासँगै सदरमुकाम आसापासका ठूलो संख्याका कृषक २० किलो मल किन्न घण्टौं लाइनमा बसेका थिए । खाद्य तथा तरकारी बालीमा समयमै मल हाल्न नपाएका किसान भनेको समयमा र भनेजति मल नपाउँदा आक्रोशित देखिन्थ्ये ।

नीलकण्ठ नगरपालिका–१२ की केशवकुमारी श्रेष्ठले भनिन्, ‘दुई साताअघि नै धान र कोदोमा मल हाल्ने बेला भइसकेको थियो । तीन पटक किन्न भनेर आएँ तर खाली हात फर्किएँ । आफूलाई १ बोरा चाहिन्छ, बल्लतल्ल लाइन बसेर २० किलो मात्रै पाइन्छ । कति ठाउँमा हाल्नु, चाहिएको बेला दिन नसके बाली सप्रिन्न, किसानको यो दुःख कसले हेरेदिने ? ’यो खबर आजकोअन्नपुर्ण पोष्टमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू