अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२८ | Colorodo: 03:43

साफ च्याम्पियनसीपमा नेपालद्धारा भुटान ४–० गोल अन्तरले पराजित, सेमिफाइनलको आशा जिवितै

बिआरटीनेपाल २०७५ भदौ २१ गते ९:४९ मा प्रकाशित

बंगलादेशमा जारी साफ च्याम्पियनसिप २०१८ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल विजयी भएको छ । भुटानलाई फराकिलो अन्तरमा हराउँदै नेपालले सेमिफाइनल यात्रा जिवितै राखेको हो । ढाकाको बंगबन्धु रंगशालामा बिहिबार भएको खेलमा नेपालले भुटानलाई ४– ० को फराकिलो अन्तरमा हराएको हो । नेपालको जितमा अनन्त तामाङ, सुनील बल, भरत खवास र निराजन खड्काले १-१ गोल गरे ।

पहिलो हाफमा १–० ले अगाडि रहेको नेपालले दोस्रो हाफमा थप तीन गोल गरेको हो । खेलको २१ औं मिनेटमा अनन्तले गोल गर्दै नेपाललाई सुरूवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको ७० औं मिनेटमा पाएको पेनाल्टी बिमल घर्तीमगरले मिस गरेका थिए । बिमलको पेनाल्टी प्रहार किपरबाट फर्किएपछि सुनिलले ७१ औं मिनेटमा त्यसलाई गोलको दिशा दिएका थिए ।

७१ औं मिनेटपछि निमाले दोहोरो पहेलो कार्डपछि रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि भुटान १० खेलाडी समिति भएको थियो । यस्तै खेलको ७६ औं मिनेटमा मैदान छिरेका भरत खवासले त्यसको ३ मिनेटमै नेपालका लागि तेस्रो गोल गरे । यस्तै खेलको ८८ औं मिनेटमा निराजन खड्काले चौथो गोल गर्दै नेपाललाई फराकिलो अन्तरको जित दिलाएका हुन ।

आजको जितसँगै समूह ए रहेको नेपाल ३ अंकसहित शीर्ष स्थानमा पुगेको छ । पहिलो खेलमा पाकिस्तानसँग पराजित नेपालले अब समूहको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया