अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०९ | Colorodo: 20:24

समाचार लेखेकै भरमा पत्रकारलाई जेल हाल्ने प्रावधान नसच्याए कडा आन्दोलन – अध्यक्ष आचार्य

बिआरटीनेपाल २०७५ भदौ २१ गते ९:४० मा प्रकाशित

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले समाचार लेखेकै भरमा पत्रकारलाई जेल हाल्ने प्रावधान नसच्याए आफूहरुले कडा आन्दोलन गर्ने चेतावनी दिनुभएको छ । बिहीबार काठमाण्डौंमा आयोजित एक साक्षात्कारमा बोल्दै उहाँले फौजदारी संहिताभित्र रहेका केही दफा र प्रावधानका कारण पत्रकारहरु समाचार लेखेकै भरमा जुनसुकै बेला जेल जानुपर्ने अवस्था भएकोले यसलाई सच्याउनको लागि आफूहरुले सरकारसँग माग गरेको स्पष्ट पार्नुभयो ।

कानुनको मस्यौदाकार रहेका सांसदद्धय राधेश्याम अधिकारी र रामनारायण विडारीसँग आफूहरुले साउनमै छलफल गरेको सुनाउँदै अध्यक्ष आचार्यले सरोकारवालाहरुले प्रेसलाई कुण्ठित गर्दैनौं भन्ने आश्वासन पाएको जानकारी गराउनुभयो । भदौ १ गतेबाट कार्यान्वयनमा आएको नयाँ मुलुकी ऐनका दफा २१ देखि ३०६ सम्म १०० वटा दफा तथा उपदफाहरु प्रेसमाथि खतरा रहने खालका रहेको आचार्यको भनाई थियो ।

नयाँ कानुनले प्रेसलाई कुण्ठित गरेको विरोधमा महासंघले भोलि शुक्रवार दिउँसो साँढे २ बजे नयाँ बानेश्वरमा सरकारविरुद्ध सांकेतिक विरोध जुलुश निकाल्ने कार्यक्रम तय गरेको छ । समाचार प्रवाह गर्न पाउने कुरा संयुक्त राष्ट्रसंघको मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रमा समेत व्यवस्था गरिएको र यसमा नेपालले पनि हस्ताक्षर गरिसकेको सुनाउँदै आचार्यले अहिलेका कतिपय प्रावधानहरु त्यसको बर्खिलापमा रहेको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू