अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५२ | Colorodo: 22:07

मौलिक हकसम्बन्धी विधेयक निर्धारित समयभित्रै पारित हुन्छ -सभामुख महरा

बिआरटीनेपाल २०७५ भदौ २१ गते ९:३५ मा प्रकाशित

सभामुख कृष्णबहादुर महराले आगामी असोज २ गतेभित्र संविधानअन्तर्गतका मौलिक हकसम्बन्धी विधेयक संसद्बाट पारित भइसक्ने बताउनुभएको छ । आज काठमाण्डौंमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रतिनिधिसभामा पेश भएका मौलिक हकसम्बन्धी विधेयकको अवस्थाका बारेमा जानकारी गराउनुभएको हो । सभामुख महराले आगामी असोज ३ गतेसम्म मौलिक हकसम्बन्धी कानून पारित भइसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको जानकारी गराउँदै विधेयकमा सहमति गरी निर्धारित समयमै पारित गर्नका लागि प्रमुख दलका शीर्ष नेतालाई भेटेर आग्रह गरिसकेको वताउनुभयो ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई आज प्रधानमन्त्री निवास बालुवाटारमा संयुक्तरूपमा भेटेर सो बारेमा आग्रह गरेको उहाँले जानकारी गराउनुभयो ।

प्रतिनिधिसभामा सरकारले दर्ता गराएका जम्मा २६ विधेयकमध्ये छ विधेयक प्रमाणीकरण भइसकेका छन् । बाँकी २० मध्ये ११ मौलिक हकसम्बन्धी विधेयक छन् । मौलिक हकसम्बन्धी विधेयकमध्ये पाँच प्रतिनिधिसभामा छलफलका क्रममा रहेको र छ वटा विधेयक सम्बन्धित संसदीय समितिमा दफावार छलफलका क्रममा रहेको सभामुख महराले स्पष्ट पार्नुभयो । मौलिक हकबाहेक अन्य विधेयक भने असोज २ गतेपछि पारित गर्ने गरी प्रक्रिया अघि बढाइएको छ ।

सो अवसरमा सभामुख महराले भोलि भदौ २२ गतेदेखि हुने आफ्नो चीन भ्रमणका बारेमा समेत जानकारी गराउनुभयो । उहाँ चीनको केन्द्रीय सरकार र ल्हासा सरकारको निमन्त्रणामा चौथो सांस्कृतिक पर्यटन एक्स्पोमा सहभागी हुन, तिब्बतस्थित नेपालको कन्सुलर कार्यालयको पुनःनिर्माण शिल्यान्यास गर्न तथा ट्रान्स हिमालय बेल्ट एण्ड रोड इन्टरनेशनल कोपरेशन फोरमको छलफलमा सहभागी हुन त्यसतर्फ जाँदै हुनुहुन्छ । उहाँ २६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू