अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२६ | Colorodo: 16:41

मृगौला रोगीलाई समेत म्यानपावरले सद्दे साबित गराएर मलेसिया पठाएपछि

बिआरटीनेपाल २०७५ भदौ २१ गते ८:५९ मा प्रकाशित

खोटाङ, लामी डाँडा स्थायी घर भएका रत्न बहादुर राना मगर बौद्ध, तीनचुलीमा भाडाको कोठामा बस्दै आएका छन्। मध्यम वर्गको परिवार भएकाले उनी धन कमाउन विदेश हानिए। मलेसियामा ६ वर्ष बसेर उनी नेपाल फर्किए। उनले फेरी पनि विदेश जाने सोच बनाए। पहिला पनि मलेसिया बसेर आइसकेका हुनाले उनले फेरी मलेसिया नै जाने निर्णय गरे।

सिनामंगल स्थित हिमालयन म्यानपावर मा सम्पर्क गरेर मलेसिया जानको लागि उनले सम्पूर्ण आवश्यक कागजात बुझाए। मेडिकल चेक अप पनि गराए। सबै प्रक्रिया पुरा गरेर उनी मलेसिया गए। जब उनी त्यहाँ पुगे उनलाई आफ्नो दुवै मृगौला फेल भएको थाह भयो। नेपालमा मेडिकल पास गरेर गएका रत्न एक्कासि मृगौला फेल भएको खबरले आत्तिए। एक छिन त उनलाई विश्वास गर्न नै गाह्रो भयो।

नेपालको अस्पतालमा उनले मेडिकल गराएका थिए। उनको मेडिकल पास भएकै कारण उनी मलेसिया पुगेका थिए तर अचानक यो कसरी हुन गयो उनले कल्पना समेत नगरेको कुरा उनी माथि नै बित्दा उनलाई असह्य भयो। अस्पतालले यत्ति गैरजिम्मेवार भएर कसरी फेक कागजात बनाई दियो भन्ने कुरा एकदमै गहन विषय हो।

मेडिकल चेकअपकै हेलचेक्राइका कारण उनी मलेसियाबाट गएको एक महिनामा नै नेपाल फर्किए। पैसा कमाउने सोचले गएका रत्न पैसाको साटो रोग बोकेर निराश हुँदै नेपाल फर्किए। एक लाख पचपन्न हजार पाँच सय पचास रुपैयाँ खर्चेर मलेसिया गएका उनले नेपालमा फर्किएर आफूलाई झुक्काएर पठाउने अस्पतालमार्फत साठ्ठी हजार रुपैयाँ मात्र फिर्ता पाए। उनलाई म्यानपावरले क्षतिपूर्ति बापत एक रुपैयाँ पनि नदिएको उनको भनाई रहेको छ।

क्षतिपूर्तिको लागि उनले वैदेशिक रोजगार बोर्डमा समेत रिपोर्ट गरे तर उनको म्याद नागिसकेको हुनाले उनले अहिले सम्म कुनै क्षतिपूर्ति पाएका छैनन्। उनी नेपाल फर्केको एक वर्ष भन्दा बढी बितिसकेको थियो। यति उनले एक वर्ष अघि चाही रिपोर्ट गरेका थिए भने उनले क्षतिपूर्ति पाउँथे। तर दुर्भाग्यवश दुखिलाई जताततै दुख भने झै उनले कुनै क्षतिपूर्ति पाएनन्।

अहिले उनको मृगौला फेल भएको २ वर्ष भइसकेको छ। हाल उनी पुल चोक निदान आरोग्य अस्पतालमा आफ्नो डायलासीस गराइरहेका छन्। हप्तामा दुई चोटि अनिवार्य रूपमा उनको डायलासिस गर्नु पर्छ। हप्तामा एक चोटि सुई लगाउनुपर्छ। उनले महिनामा ४ देखि ५ हजार सम्मको औषधि सेवन गर्नुपर्छ। यो सब खर्च बेहोर्न उनलाई निकै गाह्रो छ।

उनकी श्रीमती गलैँचा बुन्ने कारखानामा गलैँचा बुन्छिन्। उनकै कमाइले रत्नको घर धानिएको छ। तर उपचार खर्च भने तिर्न मुस्किल नै छ। उनले सरकारी अनुदान समेत पाएका छैनन्। अहिले सम्म ऋण गरेर उपचार गराइरहेका छन्। आर्थिक अभाव भएकाले उनको उपचारमा एकदम बाधा पुगिरहेको छ।

तपाई हाम्रो सानो सहयोगले रत्नले नयाँ जीवन पाउन सक्छन्। सके धेरै नसके थोरै भए पनि सहयोग गरी आफ्ना सहयोगी हातहरू अघि बढाइदिनुहुन यहाँहरू सम्पूर्णलाई विनम्र अनुरोध गरिन्छ।

सहयोगको लागि सम्पर्क :
रत्न बहादुर राना मगर : ९८१३६२०४३५
ग्लोबल आइएमइको खाता नं. : ०१०७०१००३३१६०

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू