अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०९ | Colorodo: 15:24

तराई मधेस केन्द्री कविता सङ्ग्रह “सहर बिनाको सहर” प्रकाशित

बिआरटीनेपाल २०७५ भदौ २१ गते ८:४६ मा प्रकाशित

काठमाडौँ, वरिष्ठ साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ को कवितासंग्रह ‘सहरबिनाको सहर’ प्रकाशित भएको छ । तराई र मधेसका विभिन्न जिल्लाहरूमा रहेर पुडासैनीले रचेका तराई मधेस केन्द्री बाउन्न कविताहरू यस सङ्ग्रहमा समावेश छन् ।

वरिष्ठ समालोचक एवं साहित्यकार डा. राजेन्द्र विमलले ‘दामोदर पुडासैनी ‘किशोर’ को कविता सङ्ग्रह सहर बिनाको सहर नेपाली भाषामा रचिएको तराई मधेस केन्द्री पहिलो कृति भएकोले यसको विशेष महत्त्व छ भन्नुभएको छ । सहर बिनाको सहरले तराई मधेसका समस्या, संस्कार, भूगोल र सम्भावना समेटेर नयाँ ढङ्गबाट अघि बढाउन खोजेको कुरा पनि उहाँले बताउनुभयो । यस किसिमको कृतिले हिमाल, पहाड र तराईका जनताबिचको भावनात्मक सम्बन्ध अझ प्रगाढ हुने कुरा पनि उहाँले बताउनुभयो ।

सहर बिनाको सहर पुस्तकको भूमिका पनि डा. राजेन्द्र विमलले नै लेख्नुभएको छ । उहाँ लेख्नुहुन्छ– ‘पुडासैनीका कविता बाह्य र आन्तरिक सत्यका साक्षी हुन् । यी सत्यहरू उच्च कलाको आवरणमा सजिएका छन्, कलात्मक छन् । कवि पुडासैनीले कुशल चिकित्सकलेझैँ मधेसको विविध रङ्गी जीवन, परिवेश र मनोविज्ञानको एम.आर.आई को काव्यिक प्रतिवेदन प्रस्तुत गर्दै उसको पीडा, निदान र उपचार अनुशासित गरेका छन् । सङ्ग्रहको पहिलो वर्णदेखि अन्तिम वर्णसम्म मधेसको माटोको इतरमा चुर्लुम्म डुबेको छ, मगमग बास्नाले लठ्याउँदै । पाठकको मनै मिथिला भएर धड्किन थाल्छ ।

वरिष्ठ कवि दामोदर पुडासैनी ‘किशोर’ ले आफ्नो काव्य सन्दर्भमा – ‘मधेसमा हिमाल उठाउन खोज्नेहरू र हिमालमा मधेस ब्युँझाउन खोज्नेहरू, आँखाका नानी हुन् हामी सबैका । मैले हिमालको पानी र मधेसको जवानी, मिसाउन खोजेको हुँ नेपाल भरी’ भन्ने उल्लेख गरेका छन् ।

पुडासैनीको यो कविता सङ्ग्रह साझा प्रकाशनले प्रकाशमा ल्याएको हो । सहरबिनाको सहर प्रकाशन गर्नुृको औचित्य पुष्टि गर्दै साझा प्रकाशन लेख्छ– ‘देशबिना मधेस, मुटुबिना शरीरको कल्पना गर्न नसकिने यथार्थको प्रतिबिम्ब हो देश–मधेस । बोलेको छ आवाजहरू सशक्त–यथार्थको । मधेसमा रचिएका कविताहरूको सुन्दर प्रस्तुति बनेको छ सहर बिनाको सहर ।’

पुडासैनीको यो चौधौँ कृति हो । यस अघि उनका सात कविता सङ्ग्रह, पाँच नियात्रा सङ्ग्रह र एक दर्शन कृति प्रकाशित छन् । पुडासैनी नेपाल सरकारका सह–सचिव अर्थात् महालेखा परीक्षकको कार्यालयमा नायव महालेखा परीक्षकको रूपमा कार्यरत छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू