अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१७ | Colorodo: 03:32

प्रदीपले “ आमा “ सार्वजनिक गरे

शिव विष्ट, नर्थ क्यारोलिना २०७५ भदौ २० गते १३:४७ मा प्रकाशित

हालै मात्र आफ्नो दोस्रो साङ्केतिक कोसेली “अनिता” प्रस्तुत गरेका गायक प्रदीप घिमिरेले अर्को मार्मिक म्युजिक भिडियो प्रस्तुत गरेका छन् । आन्मा/नासा/एनएद्वारा आयोजित प्रथम राष्ट्रिय सम्मेलनको कन्सर्ट कार्यक्रममा चर्चित लोक गायक तथा मेरिल्याण्ड र पेन्सिलभेनियाका लागि नेपाल सरकारका महावाणिज्यदूत प्रेम राजा महत, नासाका पूर्व सभापति एवं पर्यटन दूत राजा घले तथा नेब्रास्का नेपलिज सोसाइटीका सभापति राज आचार्यले घिमिरेको “आमा” नामक म्युजिक भिडियोलाई सार्वजनिक गरेका हुन् । फ्लोरिडा निवासी घिमिरे सिकागो पुगेर आफ्नो साङ्केतिक मेहनत दर्शक सामु प्रस्तुत गर्न पाउँदा प्रफुल्लित देखिन्थे ।

नेपाली आधुनिक तथा पप गीत सङ्गीतलाई विश्वव्यापी रूपमा पहिचान गराउन सक्रिय अग्नि बैण्डका मुख्य गायक प्रदीपले आमाको देन, महत्त्व र गरिमालाई साङ्गीतिक शब्दमा प्रस्तुत गरेका छन् । साहित्यकार तथा गीतकार डा. अनुप श्रीवास्तवको रचना तथा राहुल प्रधानद्वारा संगीतबद्ध गरिएको सो गीतमा नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री मिथिला शर्माको मुख्य अभिनय रहेको छ भने प्रमोद भारद्वाज, सुसन कोइराला, पूर्णिमा श्रेष्ठको साथमा बालकलाकार म्यानुअल श्रेष्ठ र मिली श्रेष्ठको समेत अभिनय हेर्न सकिन्छ ।

म्युजिक मेनिया इन्टरटेनमेन्टद्वारा प्रस्तुत सो गीतको छायाङ्कन चक्र महर्जनले गरेका छन् भने सम्पादन बिजेश पौड्यालले गरेका छन् । अत्यन्त मार्मिक ढङ्गले प्रस्तुत गरिएको सो म्युजिक भिडियोको निर्देशन राहुल प्रधानले नै गरेका हुन् । 

प्रतिक्रिया