अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०१ | Colorodo: 14:16

जापानमा आँधीबाट ९ जनाको मृत्यु, अमेरिकामा पनि आँधीको त्रास

बिआरटीनेपाल २०७५ भदौ २० गते ९:२५ मा प्रकाशित

विगत पच्चीस वर्ष यताकै सबैभन्दा ठूलो मानिएको सामुद्रिक आँधीका कारण बुधबारसम्म जापानमा ९ जनाको मृत्यु भएको सरकारी अधिकारीले बताएका छन् । आँधीले त्यहाँको प्रमुख विमानस्थलमा ठूलो क्षति भएकोले हजारौं मानिस अलपत्र परेका छन् । जेबी नाम दिइएको आँधी मङ्गलबार दिउँसो जापानको पश्चिमी तटीय क्षेत्रमा प्रवेश गरेको थियो । ठूलो वर्षासहित आएको सो आँधीको गति २१६ किलोमिटर प्रतिघण्टा रहेको स्थानीय मौसम विज्ञान विभागले जनाएको छ ।

आँधीले घरका छाना उडाएको, पुलमा रहेका ट्रकहरु पल्टाएको र ओसाकाको बन्दरगाहमा रहेको २,५७१ टनको टेङ्कर बगाएको थियो । सामुद्रिक टापुजस्तो ठाउँमा निर्माण गरिएको कानसाई अन्तरराष्ट्रिय विमानस्थल पुग्ने एउटा पुलमा नराम्रोसँग क्षति पुगेको छ । यातायात मन्त्रालयका एक अधिकारीका अनुसार उक्त विमानस्थलमा करिब तीन हजार यात्रु अलपत्र अवस्थामा छन् ।

बुधबार बिहान विमानस्थलमा अलपत्र यात्रुलाई नजिकको कोबेमा स्थानान्तरण गरिएको छ । तर दैनिक ४०० भन्दाबढी उडान भर्ने यो विमानस्थल पुनःचालू हुनेबारे अझै भन्न नसकिने अधिकारीको भनाइ छ । बुधबार बिहानसम्म १२ लाखभन्दा बढी मानिसलाई सतर्क रहन लगातार परामर्श गरिएको अधिकारीहरुले बताएका छन् । बारुणयन्त्र तथा विपद् व्यवस्थापन निकायले करिब २९,६०० जनालाई उद्धारका लागि तयार रहन आग्रह गरेको छ । करिब १६,००० मानिसले टेन्टमा रातभर बिताएका थिए ।

यसैवीच, अमेरिकी तटीय इलाकाबाट मङ्गलबार राति आएको गोर्डोन नामको आँधी अमेरिकाको अलाबामा र मिसिसीपी राज्यमा फैलिएको छ । अधिकारीले दुबै राज्यका साथै लुजियाना राज्यको न्यू अर्लिएन्समा आपतकालीन स्थितिको घोषणा गरेका छन् । लुजियाना राज्यमा सन् २००५ मा आएको आँधीतूफानका कारण जनधनको व्यापक क्षति भएको थियो । गोर्डोन आँधी प्रारम्भमा प्रतिघण्टा १४ माइल रहेकामा पछिल्लो समय ७० माइल प्रतिघण्टा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू