अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४९ | Colorodo: 23:04

काठमाडौँमा सात तल्ले स्मार्ट पार्किङ भवन निर्माण हुने

बिआरटीनेपाल २०७५ भदौ २० गते ६:४७ मा प्रकाशित

काठमाडौँ । काठमाडौँ महानगरको बढ्दो सवारी चाप र पार्किङ समस्या अव चाँडै दूर हुने भएको छ। विशेषतः काठमाडौँको मुटु न्यूरोड क्षेत्रमा पार्किङको अत्यन्त समस्या रहेको छ। कुनै पनि सवारी त्यहाँ पार्किङ गर्न युद्ध जितेजस्तो मौका छोप्नु पर्ने अवस्था रहेको छ। मोटरसाइकललाई त यस्तो छ भने, कार लगायतका ठुला सवारीलाई त अझ न्यूरोडमा पार्किङ पाउनु भनेको बाजी जिते जस्तो हुने गरेको छ ।

यही समस्यालाई मध्यनजर गरेर काठमाडौँ महानगरपालिकाले न्यूरोडमामा बहुतले स्मार्ट पार्किङ भवन निर्माण गर्ने योजना ल्याएको काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले बताएका छन्। मेयर शाक्यका अनुसार, काठमाडौँ महानगरपालिकाको वडा नंंबर २२ धर्मपथस्थित महानगरपालिकाको आफ्नो पुरानो कार्यालय भवन रहेको खाली जग्गामा उक्त पार्किङ भवन निर्माणको तयारी भएको हो ।

केही समय अघिदेखि नै उक्त खाली जग्गामा पार्किङ भवन बनाउने चर्चा चलिरहेको थियो। त्यो चर्चाले मूर्तरूप लिइसकेको मेयर शाक्यको जिकिर रहेको छ। त्यसको लागि काठमाडौँ महानगरपालिकाले स्मार्ट पार्किङ भवन बनाउन टेन्डर समेत आह्वान गरिसकेको छ। काठमाडौँ महानगरपालिकाले उक्त भवन डिजाइन, लगानी, निर्माण, सञ्चालन र हस्तान्तरण (डीएफबीओटी) मोडालिटीमा बनाउने योजना सहित एक्स्प्रेसन अफ इन्टरेष्ट (ईओआई) पेस गर्न यसमा कुनै पनि इच्छुक स्वदेशी तथा विदेशी निजी कम्पनीले आफ्नो योजना सहित प्रस्ताव हाल्न सक्छ । यो भवनको डिजाइन, निर्माण संरचना, लगानी आदि बारे कम्पनीले प्रस्तावमै उल्लेख गर्नुपर्नेछ । कामपाले उल्लेख गरेअनुसार सो पार्किङ भवनमा ५ सय वटा सवारी साधन पार्क गर्न सकिने क्षमताको हुनेछ। पार्किङ भवनमा पार्किङ सेन्सर, अटोमेटिक टिकट सङ्कलन, कार्डबाट भुक्तानी गर्ने व्यवस्था लगायत हुनेछ।

पार्क गरिएका सबै सवारी साधनको सिसी टिभीबाट प्रत्यक्ष निगरानी गरिएको हुने । पार्किङ भवनमै सवारी साधन धुने र सामान्य मर्मतको सुविधा समेत उपलब्ध गराइने व्यवस्था हुनेछ। साथै विद्युतीय सवारी साधनका लागि कार चार्जिंङको व्यवस्था पनि हुनेछ। पार्किंग भवनको लागि प्रस्तावित खाली जग्गाको क्षेत्रफल १ रोपनी १० आना रहेको छ। भवन निर्माण गर्दा कुल क्षेत्रफलको ३० प्रतिशत क्षेत्रमा बगैँचा रहने छ।

कुल क्षेत्रफलको २५ प्रतिशत क्षेत्र विज्ञापनको लागि प्रयोग गर्न सकिनेछ। सात तल्ला रहने उक्त पार्किङ भवन पूर्ण रूपमा अत्याधुनिक प्रविधियुक्त हुनेछ। महानगरपालिकाको उक्त खाली जग्गामा महानगरको आफ्नै कार्यालय भवन बनाउने वा शपिंग कम्प्लेक्स निर्माण गर्ने भन्ने बारे पनि चर्चा भएको थियो।

तर काठमाडौँको अत्यन्त व्यस्त र सर्वाधिक शपिंग कम्प्लेक्सहरू रहेको नयाँ सडकको उक्त व्यावसायिक क्षेत्रमा महानगरपालिकाले अर्को कम्प्लेक्स थप्नुको सातो पूरा क्षेत्रलाई नै सहयोग पुग्ने गरी पार्किङ भवन बनाउँदा उपयुक्त हुने सुझाव स्थानीय व्यवसायी, क्लब एवं सङ्घ संस्थाहरूबाट आएकाले उक्त मागलाई सम्बोधन गर्न कामपाले यो निर्णय गरेको पनि मेयर शाक्यले भनेका छन्। विश्वका धेरै देशहरूमा यस्ता पार्किङ मलहरू रहेता पनि नेपालमा भने यो पहिलो हुने भएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू