अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१७ | Colorodo: 22:32

गौरा पर्व मनाईयो

बिआरटीनेपाल २०७५ भदौ १८ गते ९:३० मा प्रकाशित

सुदुरपश्चिमको मौलिक तथा लोकप्रिय पर्व गौरा आज हर्षोल्लासका साथ मनाईएको छ । गौरा पर्वको मुख्य दिन, आज अठवली अर्थात् अष्टमी हो । आजको दिन गौराको पूजाआजा गरी मनाइन्छ । मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व डडेल्धुरासहित दार्चुला, बैतडी, डोटी बझाङ, अछाम, कैलाली, कञ्चनपुर तथा भारत उत्तराखण्डको कुमाउ, गढवालमा समेत आ-आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने चलन छ ।

सुदूरपश्चिमको साँस्कृतिक पर्व ‘गौरा ’ सोमबार पोखरामा पनि मनाइएको छ । गौरा पर्व मनाइने प्रदेश ७ का विभिन्न जिल्लाबाट पोखरा आई बसोबास गर्नेहरुको साझा संस्था सुदूरपश्चिमाञ्चल सम्पर्क एवम् विकास समाज पोखराद्वारा आयोजित कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रमका साथ भोजन गराइएको थियो । कार्यक्रममा सहभागीहरुले आपसमा शुभकामना साटासाट गर्नुका साथै सुदूरपश्चिमको मौलिक नाच देउडा सामूहिक नाचेका थिए । उक्त अवसरमा सुदूरपश्चिमकै अर्को मौलिक ‘छलिया नृत्य’समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा सहभागीलाई गौरा पर्वमा खाइने गरिएको मास, मस्याङ, सानो केराउ, गहुँ र गहत गरी ५ प्रकारको गेडागुडी मिसाएर पकाइएको ‘विरुडा’ खुवाइएको थियो ।

आयोजित कार्यक्रममा वोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले कला र संस्कृति मुलुकको सम्पत्ति भएको उल्लेख गर्नुभयो । यसको संरक्षणमा सबै जुट्नुपर्ने उहाँको भनाई थियो । गौरा पर्वले सुदूरपश्चिमलाई भावनात्मक रुपमा एकताबद्ध बनाउन भूमिका खेलेको लम्सालले वताउनुभयो । सुदूरपश्चिमाञ्चल सम्पर्क एवम् विकास समाज पोखराका अध्यक्ष नारायणसिंह गुरुङले जहाँ भए पनि संस्कार र संस्कृतिको संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले पोखरामा सामूहिक गौरा पर्व मनाइएको वताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू