अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४४ | Colorodo: 05:59

एनआरएन अमेरिकाको कोलोराडोका वीरेन्द्र ठकुरी घटना सम्बन्धी प्रेस विज्ञप्ति

बिआरटीनेपाल २०७५ भदौ १८ गते ८:१३ मा प्रकाशित

आदरणीय अमेरिकावासी गैर आवासीय नेपाली दिदीबहिनी तथा दाजुभाइहरू,

अमेरिकाको कोलोराडोको ब्रूमफिल्डमा बसोबास गर्दै आएका वीरेन्द्र ठकुरीको हालै वेस्ट मिनिस्टर प्रहरीको गोलीबाट असामयिक र अकल्पनीय निधन भएको पीडादायी खबर सुनेर हामी स्तब्ध र मर्माहत भएका छौँ। यस्तो असहाय वेदना सहन गर्ने शक्ति श्री परमेश्वरले उहाँका परिवारलाई प्रदान गरून् भन्दै स्वर्गीय वीरेन्द्र ठकुरीको चीर आत्माको शान्तिको लागि हामी प्रार्थना गर्दछौँ ।

घटनाको संवेदनशीलता र पीडित परिवारको अनुरोधका कारण ढिलो गरी हाम्रो भनाई सार्वजनिक गरिएकोमा, गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिका क्षमा याचना गर्दछ ।

एउटा सशक्त युवाले अल्पायुमै ज्यान गुमाउनु परेको यो घटना प्रति गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिका चिन्तित र संवेदनशील छ। एन आर एन ए कोलोराडो च्याप्टर, एन आर एन ए हेल्प डेस्क र कोलोराडोमा रहनु भएका सामाजिक अभियन्ता र अग्रजहरू घटनाको उचित अनुसन्धान र छानबिनका लागि स्थानीय राज्यका सरकारी निकाय, अनुसन्धान निकाय र सुरक्षा निकायसँग निरन्तर सम्पर्कमा रहेको जानकारी हामीले प्राप्त गरेको छ । पीडित परिवारले उचित न्याय पाउन भन्ने उद्देश्यले एन आर एन ए कोलोराडो च्याप्टर, हेल्प डेस्क, सामाजिक अभियन्ता, अग्रज, र स्थानीय सामाजिक सङ्घ, संस्थाहरूको सामूहिक पहल , प्रयास र सहयोगमा कानुनी उपचारको लागि अधिवक्ताको व्यवस्था समेत गरिसकेको छ।

पीडित परिवारलाई केही आर्थिक राहत उपलब्ध गराउनको लागि , Justice For Birendra Thakuri शीर्षकमा Go Fund खोली सहयोगको लागि सार्वजनिक अनुरोध समेत गरिएको छ। (जसको लिङ्क तल राखिएको छ।)

गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिका पीडित परिवारको सहयोग र उचित न्यायको निम्ति अति संवेदनशील र क्रियाशील रहेको व्यहोरा अनुरोध गर्दछ ।

यस सम्बन्धमा अहोरात्र खटिएका एन आर एन ए कोलोराडो च्याप्टर, हेल्प डेस्क, स्थानीय सामाजिक संस्था र अग्रज एवं अभियन्ताहरू सबैमा गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिका हार्दिक आभार व्यक्त गर्दै, अनुसन्धान र छानबिन प्रक्रिया सम्पन्न नभैञ्जेल धैर्य धारण गर्न सम्पूर्ण अमेरिकावासी एन आर एन हरुमा गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिका हार्दिक अनुरोध गर्दछ।

अन्त्यमा, पुन: पीडित परिवार प्रति हार्दिक समवेदना र स्वर्गीय वीरेन्द्र ठकुरी प्रति हार्दिक श्रद्दान्जली अर्पण गर्दै सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई तल दिइएको लिङ्कमा क्लिक गरी इच्छा अनुसार सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछौँ।

जय एन आर एन!

https://www.gofundme.com/tfqku-justice-for-birendra-thakuri

बाबु राम (बिआर) लामा

महासचिव

गैर आवासीय नेपाली सङ्घ,
राष्ट्रिय समन्वय परिषद् अमेरिका

Sincerely,

_________________
Babu Ram (BR) Lama
General Secretary
Non-Resident Nepali Association
National Coordination Council, USA

प्रतिक्रिया