अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२० | Colorodo: 11:35

अरोरामा तिज कार्यक्रम भव्य रूपमा मनाउने तयारी

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७५ भदौ १८ गते ८:२८ मा प्रकाशित

विशेषतः: हिन्दु धर्मावलम्बी नेपाली नारीहरूको महान् चाड हरितालिका तिज नजिकिँदै गर्दा कोलोराडोको अरोरा सहरमा बसोबास गर्ने नेपाली नारीहरूमा पनि यसको कौतुहलताले छोएको छ । अरोरा बासी नेपालीले अरोरा, सेन्टेनियल तथा आसपासका सहरका नेपाली नारीहरूको छमछमी नाच्ने वर्ष दिनको अभिलाषा पुरा गरिदिने भएको छ ।

आगामी २०१८ सेप्टेम्बर ९ तारिख साँझ ४:३० बजे देखी ९:३० सम्म अरोरा स्थित टेमरिन रेस्टुरेन्टमा आयोजना गरिएको हरितालिका तिज कार्यक्रममा सम्पूर्ण अरोरा, सेन्टेनियल तथा वरिपरिवासी नेपाली नारीहरूलाई एकैठाउमा जम्मा भएर धीत मर्ने गरी नाच्ने चाजोपाजो मिलाइएको कुरा आयोजक टिमले बिआरटी नेपाललाई जानकारी दिएका छन् ।

परम्परागत शैलीबाट आधुनिकतामा ढल्किँदै गएको तिज चाड पछिल्लो समय निक्कै भड्किलो तथा महँगो बन्दै गएको छ । रातो सारी, सिरमा शिरबन्दी, कानमा झुम्का, हातमा हरियो चुरा, गालामा पाउडर,आँखामा गाजल, नेपाली नारीहरूको सुन्दरताको बयान सायदै गरेर सकिँदैन । हिन्दु पौराणिक कथन अनुसार आफ्ना पतिको दीर्घायुको कामना स्वरूप व्रत बस्ने,घरकी चेली माइती फर्कने, वर्ष दिन सम्म भेट नभएका माइतीहरूसँग धीत मरुन्जेल गफ गर्ने,नाच्ने रमाइलो गर्ने घरमा भोगेका दुख, पिर र रागहरूलाई गीत मार्फत पस्केर मन हलुङ्गो पार्ने परम्परालाई आजको परिवर्तित जमानाले पुरै ओझेल परेको छ ।

प्रवासमा बसेर नेपाली धर्म संस्कृति र परम्परालाई आत्मसाथ गर्ने परिपाटीको निरन्तरताका लागि अरोराका नेपालीहरूले विगत केही वर्ष अगाडि देखी यो कार्यक्रम आयोजना गर्दै आएको छ । सम्पूर्ण अरोरा वासी नेपाली नारी दिदी वैहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थित भई आफ्नो मनको धोको पुग्ने गरी नाच्न आयोजक टिमले सबैलाई अनुरोध समेत गरेको छ ।

उक्त कार्यक्रमको बिआरटी नेपालले फोटो लिएर वेबसाइटमा प्रकाशित गर्ने तथा फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गर्नेछ ।

प्रतिक्रिया