अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३३ | Colorodo: 14:48

चिकित्सकहरु नयाँ मुलुकी ऐनको विपक्षमा, संशोधनको माग सहित प्रदर्शन

बिआरटीनेपाल २०७५ भदौ १७ गते ९:३१ मा प्रकाशित

नयाँ मुलुकी ऐनको विरोधमा चिकित्सकहरूले आइतबार काठमाडौंमा र्‍यालीसहित प्रदर्शन गरेका छन् । नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरूले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्दै नयाँ मुलुकी ऐनको विरोधमा काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्‍यालीसहित प्रदर्शन गरेका हुन् ।

चिकित्सकलाई अपराधी करार गर्ने खालको कानूनी व्यवस्था नयाँ मुलुकी ऐनमा गरेपछि त्यसको विरोधमा प्रदर्शनमा उत्रनु परेको चिकित्सकहरूले बताएका छन्। ‍¥यालीपछि नयाँ बानेश्वरमा आयोजित कोण सभामा बोल्दै नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले नयाँ मुलुकी ऐन संशोधन गर्न आफूहरू आन्दोलनमा जान बाध्य हुनु परेको स्पष्ट पार्नुभयो । चिकित्सकहरूलाई जेल सजाय दिने कानूनी व्यवस्था तत्काल नहटाए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने पनि उहाँले चेतावनी दिनुभयो ।

कार्यक्रममा बोल्दै वरिष्ठ चिकित्सक गोविन्द केसीले सरकारले ल्याएको ऐन ‘जनता मारा’ भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले नयाँ मुलुकी ऐनमा चिकित्सहरूलाई कामै गर्न नदिने व्यवस्था गरेको भन्दै सो व्यवस्था हटाएर उपयुक्त नीति तय गर्न सरोकारवाला निकायहरूसँग छलफल गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

चिकित्सकहरूले अपराधी सरह जेल सजाय दिने व्यवस्था कानूनमा भएपछि सो व्यवस्था हटाउन माग गर्दै सरकारको विरोधमा प्रदर्शन सुरू गरेका हुन्। उनीहरूले शुक्रबारसम्म पनि आफूहरूको माग सम्बोधन नगरे देशभरका सबै अस्पतालको सेवा बन्द गर्नेलगायतका आन्दोलनका कडा कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।

यसैवीच, नेपाल चिकित्सक संघले ६ हजार चिकित्सकको लाइसेन्स नेपाल मेडिकल काउन्सिललाई बुझाएको छ । संघले माइतीघर मण्डलामा गरेको विरोध प्रर्दशनपछि बासबारीस्थित नेपाल मेडिकल काउन्सिल पुगेर कार्यवाहक अध्यक्ष डा. नारायणविक्रम थापालाई लाइसेन्स बुझाएको हो । लाइसेन्स बुझाउनेमा संघमा आवद्ध १६ वटा शाखाकै चिकित्सकहरु रहेको महासचिव डा. लोचन कार्कीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू