अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०७ | Colorodo: 14:22

१८ बुँदे घोषणापत्र जारी, उर्जा सञ्जाल विस्तारको बाटो खुल्यो

बिआरटीनेपाल २०७५ भदौ १५ गते २२:१३ मा प्रकाशित

काठमाडौं। वर्षौदेखि चर्चामा रहेको क्षेत्रीय उर्जा सहकार्यलाई परिणामुखी नतिजा दिन ‘बिमस्टेक ग्रीड इन्टरकनेक्सन’ सम्बन्धी समझदारीपत्र हस्ताक्षर गर्दै बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन सम्पन्न भएको छ।

ग्रीड सम्झौतासँगै नेपाल उत्पादित विद्युत अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नका लागि बाटो खुला भएको छ । बंगलादेश र भारतसँग यस अघि नै विद्युत खरिद सम्झौता भइसकेकाले अन्य मुलुकसँग पनि त्यस्तो सम्झौता गर्ने आधार चौथो सम्मेलनले तय गरेको छ । क्षेत्रिय एजेन्डा अन्य विषयमा प्रतिवद्धता जनाउँदै १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै चौथो सम्मेलन शुक्रवार समापन भएको छ ।

बिमस्टेक ऊर्जा केन्द्रलाई शीघ्र सञ्चालन गर्ने, बिमस्टेक कोष खडा गर्ने, बडापत्र, सचिवालयको संस्थागत सुदृढिकरण, कनेन्टीभिटी जस्ता पक्षलाई सम्मेलनले जोड दिएको छ । कोषका लागि आवश्यक पर्ने बजेटको विस्तृत र अनिवार्य मापदण्ड तय नभएकाले स्वयंसेवी रुपमा सदस्य राष्ट्रहरुले बजेट उपलब्ध गराउन सक्ने बताइएको छ । श्रीलंकामा आयोजना हुने पाँचौ सम्मेलन अगावै स्थायी कार्यसमितिले बडापत्रको मस्यौदा तयार गर्ने छ भने सो सम्मेलनले बडापत्र अनुमोदन गर्ने छ ।

यातायात र सम्पर्क विस्तारसम्बन्धी गुरुयोजनालाई शीघ्र अनुमोदन गर्न सदस्य राष्ट्र सहमत भएका छन्। यातायात सम्पर्क विस्तार गर्न कार्यदल गठन हुने भएको छ । सडक, जल, रेलमार्ग, हवाई मार्गको विस्तृत खाका तयार गर्न छिटै कार्यदल गठन हुने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । व्यापार र लगानीबाटै क्षेत्रीय सहकार्यले प्रगति हासिल गर्नेबारेमा सहमत रहेका बिमस्टेक राष्ट्र वीचको स्वतन्त्र व्यापार सम्बन्धी सम्झौतालाई जतिसक्दो छिटो टुङ्ग्याउन प्रतिवद्धता जनाएका छन् । याे खबर अाजकाे नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू