अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४३ | Colorodo: 05:58

चित्लाङ्ग सुपर एक्सप्रेस

लीलाराज दाहाल २०७५ भदौ १४ गते २२:४६ मा प्रकाशित

 नियात्रा
केही प्रकृतिप्रेमी स्रष्टाहरू २०७३ सालको मङ्सिर ३ गते लाँकुरी भन्ज्यांङ्ग पुगेर स्रष्टा पदयात्राको घोषणा गरेसँगै काठमाडौँमा रहे ,बसेका स्रष्टाहरूको आत्मीय समूह बनेको थियो –स्रष्टा पदयात्रा, २०७३ । नयाँ जोस र जाँगरका साथ थालिएको प्रत्येक महिनाको पहिलो शुक्रवार काठमाडौँ उपत्यका वरिपरिका रमणीय डाँडाकाँडा उक्लने ओर्लने पदयात्राको एघारौँ शृङ्खला मनिचुड पहाड उक्लेर सम्पन्न भएको थियो ।

स्रष्टा पदयात्राको बाह्रौँ शृङ्खलाको लागि मकवानपुरको प्राचीन नेवारी बस्ती चित्लाङ्ग चयन भएसँगै पदयात्रीहरूको मनमा उमङ्गको लहर उठेको थियो । चित्लाङ्ग काठमाडौँदेखि खासै टाढा नरहेको र सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक तथा भौगोलिक हिसाबले पनि महत्त्वपूर्ण स्थान रहेकाले हामीहरूको छनौटमा परेको थियो । मैले चित्लाङ्गको नाम सम्म सुनेको, आफू स्वयम् नपुगेको हुँदा मनमा चित्लाङ्ग कहिले पुगिएला भन्ने रहरको हुरी चलिरहेको थियो । सुरम्य स्थान चित्लाङ्गले बाख्राको दूधबाट बन्ने चीज उत्पादनबाट प्रसिद्धि कमाइरहेको थियो । केही वर्ष अघिदेखि सञ्चालनमा रहेका होम स्टेहरुका कारण पनि मलाई चित्लाङ्गको भूमि टेकौँ टेकौँ लागिरहेको थियो ।

२०७४ साल कार्तिक ३ गते शुक्रवारको पदयात्रामा चित्लाङ्ग जाने तय भएपछि विवाहको कुरा छिनिएकी युवतीले आफ्नो भावी पतिका बारे मनमा विभिन्न कुरा खेलाए झैँ मैले पनि चित्लाङ्गका बारे मनमा अनेकौँ कुरा सोची रहेको थिएँ । बाटो कस्तो होला । कति समयमा पुगिएला । भोलिपल्ट तिहारको भाइटिका छ, फर्केर आउन भ्याइएला कि नभ्याईएला । तिहार परेकाले मेरो मनमा यस्तै यस्तै कुरा खेलिरहेको थियो ।

पदयात्राको दिन बिहान । काठमाडौँको महत्त्वपूर्ण कलङ्की नाका तिहारमा घर जान तर्सिएका तमाम यात्रुहरूलाई घर पठाउने नित्य कर्ममा संलग्न भैसकेको थियो । यात्रुहरूको कल्याँङ्ग मल्यांङ्गसंगै कलङ्कीले आफूलाई जागा गराउँदाको दृश्य रमाइलो थियो । अरू समय यात्रु नभेटेर निराश हुँदै यात्रीहरूको हातै समाउन आइपुग्ने बस र माइक्रोवशको टिकट काट्ने एजेन्टहरू आज कतै देखिएका थिएनन् । बरु घर जान बसको टिकट नपाएका यात्रुहरू नै उनीहरूलाई खोजिरहेका थिए ।

स्रष्टा पदयात्रा अङ्कित एकै किसिमका पोसाकमा सजिएका केही यात्रुहरू भने अनुहारमा साहसको मुस्कान सजाउँदै कसैलाई पर्खिरहेका थिए । उनीहरूको उद्देश्य र गन्तव्य फरक थियो । नत्र चाडबाडको मुखमा घर छोडेर को हिँड्छ अज्ञात स्थानतिर ? उनीहरूको मनलाई उमङ्गको हावाले शीतलता प्रदान गरिरहेको थियो ।

डाक्टरद्वय भक्त राई र धनप्रसाद सुवेदी अन्य सदस्यको प्रतीक्षा गर्दा गर्दा थाकिसकेका थिए । पदयात्री मन्दिरा मधु श्री र शान्ति सापकोटाको आगमनसँगै उनीहरूको थकित अनुहारमा एक्कासि उज्यालोको लहर प्रकट भएको थियो । एक जना पदयात्री सदस्य कलङ्की आइपुगे पनि पारिवारिक उल्झनका कारण हामीलाई साथ दिन सक्नु भएन ।

अव कलङ्कीमा अरू पदयात्री थपिने सम्भावनाको ढोका बन्द भैसकेको थियो । शशी थापा पण्डितले आउँछु भनेकीले आइपुग्न सक्ने झिनो आशा भने बाँकी नै थियो । शीतल गिरी र डिल्ली रमण सुवेदी बिरामी परेकाले, डिल्लीराज अर्यालकी आमाको मासिक परेकाले, जस ध्वज गुरुङले घर रुंग्नु परेकाले, श्री ओम श्रेष्ठ रोदनको चाड परेकाले, नारायण तिवारी र जय छाङ्छा राई कार्य व्यस्तताले आउन नसक्ने सूचना भक्त राई मार्फत पाइसकेका थियौँ । कलङ्कीमा जम्मा भएका पदयात्रीहरू एक अर्काको अनुहार नियाल्छौँ । धन सरको अनुहारमा तिहारको महत्त्वपूर्ण दिन परेकाले पारिवारिक जमघटमा रमाउन पाउने अवसर गुमेकोमा अलि अलि खिन्नताको लहर सल बलाई रहेको थियो । मन्दिरा र शान्ति पनि भोलिपल्टको भाइटिकाको तयारी गर्नु पर्ने दिन पदयात्रा परेकाले पश्चात्तापको झोला बोकेर उभिरहेका थिए । आफूले ल्याएका साथी पदयात्रामा जान नपाएको बेखुसी भक्तको अनुहारमा देखिइरहेको थियो । पदयात्राबाट समयमै फर्कन पाए हुन्थ्यो भन्ने चाहनाको बतासले मलाई पनि त स्पर्श गरिरहेकै थियो ।

अव ढिला नगरीकन हामी पाँच जनाको समूह थानकोट जाने कोचामकोच जीर्ण मिनिबस भित्र कोचिन्छ । तिहारको समय खालि बस भेट्नु सम्भव थिएन । खालि गाडीकै प्रतीक्षामा हामीले निकै समय कलङ्कीमै गुजारी सकेका थियौँ । चाडबाड पनि नभनी यायावरी कर्ममा निस्कने हामी जस्ता यात्रुहरूलाई कसले ठिक्क पारिदेओस् खालि गाडी !

थानकोट चेक पोस्ट अधैर्य भएर पर्खिरहेको थियो । आठ बजे बिहानको उज्वल थानकोटले अङ्कमाल गर्न थाल्छ हामीलाई । मानौँ कयौँ वर्षदेखि थानकोटले हामीलाई नै पर्खिरहेको थियो । हामी केही बेर सुम्सुम्याउँछौं थानकोटलाई र यताउता नियाल्छौँ । त्यहीँ थपिन्छन् हाम्रा दुई सहयात्री । के .बी. सिम्पल भनिने कालीबहादुर शाही र प्रवीण राईको उपस्थितिले हाम्रो टोलीलाई सात सदस्यीय बनाइसकेको थियो । पूर्व अपरिचित के .बी. सिम्पल र प्रवीण राईसँग परिचय साटासाट गर्न थाल्छु म । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य के .बी. सिम्पलको अनुहारमा समयले अलि छिटो बुढ्यौलीको चिया उमारी दिएको छ । प्रवीणलाई भने समयले प्रशस्तै यौवन उपहार दिएको आभास हुन्छ मलाई ।

प्रवीण राईको मोटरसाइकल हामीलाई बाटो देखाउँदै अगाडि हुइंकिसकेको थियो । हामी पनि गफमा मग्न हुँदै बिस्तारै पाइला चाल्छौँ अगाडि ।

स्रष्टा पदयात्राका शुरुवातकालीन सदस्यहरू शीतल गिरी , जय छाङ्छा राई , नारायण तिवारी , श्री ओम श्रेष्ठ रोदन , डिल्लीराज अर्याल , डिल्ली रमण सुवेदी र जस ध्वज गुरुङ लगायतको अनुपस्थितिले आजको पदयात्रालाई निस्तो भात जस्तो खल्लो बनाइरहेको थियो ।

थानकोट गोदामचौरको सानो बस स्टप । बस स्टप भनिए पनि बसको नामो निसान थिएन । एकाध ट्रीपर र ट्रकले उक्त ठाउँको इज्जत जोगाई रहेका थिए । नजिकै उभिएर मधुर मुस्कान ओठभरि सजाउँदै डा. नेत्र एटम हामीलाई नै स्वागत गरिरहेका थिए । नमस्कारको आदानप्रदानपछि सबै जना नेत्र एटमकै वरिपरि झुमिन्छौँ ।

“ केबुलकारको बस चढेर आएकाले म छिटो आइपुगेको हुँ कि तपाईँहरू ढिलो आइपुग्नु भएको हो । मैले त केही बुझ्न सकिरहेको छैन । ” नेत्रको अनुहारमा सलबलाइरहेको भद्र ताको रङ्गमा रमरम आक्रोश पनि मिसिएको पाउँछु ।

“ हामी नै ढिला आएका हौँ । निकै बेर कुराएकोमा सरी है । ” धन र भक्तको संयुक्त जवाफ आउँछ । नेत्र एटमको सामिप्यताले हाम्रो टोलीलाई आजको लागि पूर्ण बनाइसकेको थियो । बिहानको नौ बज्न लागिसकेको छ । हाम्रो गन्तव्य चित्लाङ्ग । सवारी साधनका नाउँमा एकाध ट्रक र ट्रीपर हाम्रो अघि उभिएका छन् । जाने पो कसरी हो । सबैको अनुहारमा आशङ्काका साझा धर्सा कोरिएका छन् ।

“ यो उकालो ग्राभेल बाटोमा ट्रक वा ट्रीपरमा जान कसरी सकिएला र । कि यहीँ देखि सुरु गर्ने त पदयात्रा ? तीन घण्टामा पक्कै पुगिएला । ” मैले प्रस्ताव टेबल गरेँ ।

“ उताबाट जिप आएपछि चढेरै जान पाइन्छ । फर्कँदा पदयात्रा गर्दै आउनु राम्रो होला । ” नेत्र एटमबाट अर्को प्रस्ताव टेबल हुन्छ । तिहारको समय भएकाले बेलुका फर्कनै पर्ने बाध्यताको डोरीले बाँधिएका थियौँ हामी । त्यसैले हिँडेरै जानु , हिँडेरै फर्कनु आजको लागि उपयुक्त थिएन ।

चित्लाङ्गतिरबाट दुई ओटा जिप आइपुगे । जिप आइपुगेका मात्रै के थिए , गोदामचौरको वातावरण एक्कासि चलायमान भएको थियो । भोकको आक्रमणले आक्रान्त प्राणीले खानेकुरा भेट्टाए झैँ उक्त जिपहरू प्रतीक्षारत यात्रीहरूको झाम्टामा परिसकेका थिए । जिपको नजिकै भएकाले पछाडिको सिट मन्दिरा र शान्तिले हाम्रो लागि समेत आरक्षित गराई सकेका थिए । निकै लामो दौड जिते झैँ हामी पनि जिपको पछाडिको भागमा उक्लन सफल भयौँ । विकासे कुखुरा ओसार्न प्रयोग हुने खालको जिपको पछाडिको सिटमा आसन जमाएसँगै हाम्रो यात्राले एउटा गति भेट्टाएको थियो ।

उकालोको साँघुरो ग्राभेल बाटो कस्तो होस । क्षयरोगले ग्रस्त बिमारी झैँ हामी चढेको जिप कन्दै र खोक्दै चन्द्रागिरिको डाँडो उक्लिरहेको थियो । घरी दुई चार यात्रु ओराल्छ र घुम्ती पार गरेर फेरि चढाउँछ । करिब एक घण्टाको शिथिल गुडाई पछि जिपले चन्द्रागिरि भन्ज्याङ्ग उक्लेर विजयको झन्डा फहराइरहेको थियो । चन्द्रागिरि केबुलकार जाने बाटो यहीँबाट छुट्टिएको छ पूर्वतिर । केहीबेरको विश्रामपछि ओरालै ओरालो । एक छिन अघि सम्मको आलस्यता फालेर अव जिप आफ्नो गुमेको यौवन फर्के झैँ चित्लाङ्गको फाँटमा पुग्नलाई दौडी रहेको थियो ।

अलि तल पुगेर गाडी रोकियो । भाडा उठाउन रहेछ । थानकोटदेखि चित्लाङ्ग सम्मको भाडा प्रति व्यक्ति एक सय पचास रुपैयाँ । दुरी त खासै धेरै होइन तर भाडा त कसी कसाऊ नै रहेछ । ग्राभेल बाटो भएर होला । म मनमनै सोचेर चित्त बुझाउँछु । “ सँगै खाने, आफ्नो तिर्ने ” भन्ने पश्चिमी सिद्धान्त पालना गर्दै हामीले भाडा बुझाउनासाथ गुरुजीको अनुहारमा खुसीका असङ्ख्य लहरहरू दौडिए । भाडा उठाई सकेर गुरुजी बाटा छेउको ढुंगामाथि बसेर प्रसन्न मुद्रामा खैनी मोल्न थालेपछि हामी पनि यताउता टहलिन र माथिबाट देखिने चित्लाङ्गको मनोरम दृश्य अवलोकन गर्न थाल्यौँ । जङ्गलको हरियालीले निकै लोभ्यायो हामीलाई ।

“ गाडीमा बस्नु होस सबै जना । जाने अव । ” केही बेर मै गुरुजीको बोली हावामा फैलिन्छ र हामी आआफ्नो सिटमा फर्कन्छौँ । गाडी ओरालै ओरालो चित्लाङ्गको फाँटतिर गुड्न थाल्यो । हामी गाडी भित्रैबाट बन र बुट्यानहरूको दृश्य पान गर्न थाल्यौँ ।

“ यो पटकको यात्रा निबन्ध लेख्ने पालो तपाईँको हो नि । टिपोट पनि गर्दै गर्नु होला । ” भक्त राईले धनप्रसादलाई लक्षित गरी बोलेको आवाज गाडीभरि फैलिन्छ । नेत्र , शान्ति र मन्दिरा गाडीको झ्यालबाट कतै टोलाई रहेका देखिन्छन् । भक्तको बोलीले उनीहरूलाई कुनै असर गरिरहेको छैन ।

प्रवीण राईले बोकेको दहीको भाँडोले यात्रुहरूको गोडाको प्रहार खप्न सकेनछ । उसले आफूलाई गाडीभित्रै विसर्जन गरिदियो । नजिकै बसेका यात्रुहरूका जुत्ता र झोला सेताम्मे भएका थिए दही लागेर । दही लाग्नेहरू झोला र जुत्ता फोहोर भयो भनेर भित्र भित्रै मुर्मुरिइरहेका थिए । कसैले भन्दै थियो , “ मान्छेले खानु पर्ने दही गाडीले पो खायो आज । ”

गाडीभित्र तत्कालै हाँसोको बाढी पसेको थियो । हामीले नामकरण गरेको चित्लाङ्ग सुपर एक्सप्रेस चित्लाङ्गको बजार नजिक पुग्नै लाग्दा पाङ्ग्राको हावा फुस्किएकाले हामीले अलि वरैबाट गाडीलाई बिदाइको हात हल्लाएर भुँइमा पाइला टेकेका थियौँ ।

चित्लाङ्गको समथर फाँट सुरु भैसकेको थियो । हामीले पदयात्रा पनि सुरु गरिसकेका थियौँ । बाटाभरि देउसी भैलो खेल्ने परम्परागत पोसाकमा सजिएका युवा युवतीहरूले तिहारको झल्को दिइरहेका थिए । खेतभरि कोभीका फुल देख्दा चित्लाङ्ग कृषिमा पनि आत्मनिर्भर रहेकोमा खुसी लाग्यो । खेतबारीमा किसानहरू कर्मको फुल फुलाइरहेका थिए । इन्टरनेटको सहायताबाट चित्लाङ्गका बारे अलिअलि ज्ञान हासिल गरेको भएता पनि स्थलगत रूपमै केही जान्न चाहन्थ्यौँ हामी । भक्त राई अनुसन्धानकर्ता । उनलाई पुरातात्विक अभिलेख र सांस्कृतिक विविधताको अध्ययन गर्नु पर्ने भएकाले हामी उनकै पछि डोरिन्छौँ । नेत्र एटम एक पटक पहिल्यै चित्लाङ्ग आइसकेकाले उनको अनुभवले हामीलाई घुम्न सघाउँछ । चित्लाङ्गको बिच बजारमा आइपुगेका छौँ । स्थानीयवासीको नजर हामीतिरै सुझिएका छन् । हाम्रा एकै प्रकारका पोसाकले उनीहरूको ध्यान हामीतिर तानिएको थियो । गफ गर्दै जाँदा उनीहरूले निकै सहजताका साथ चित्लाङ्ग बारे हामीलाई बताइरहेका थिए ।

चित्लाङ्गको उत्तरमा थानकोट र नौबिसे, दक्षिणमा मार्खु , पूर्वमा फाखेल र माता तीर्थ तथा पश्चिममा बज्रबाराही पर्ने कुरा त नक्साको अध्ययनबाट पहिल्यै थाहा पाइसकेको थिएँ । चित्लाङ्ग नेवारी संस्कृतिमा निकै धनी रैछ भन्ने कुरा त्यहाँ निर्मित पुराना घरहरूको अवलोकनबाट थाहा पाएको हुँ । नेपाल भाषाको प्रयोग पनि अझै जीवन्त रहेछ । चित्लाङ्गको टौखेलमा अंशुवर्माले भेडा गोठालाहरूको बस्ती बसाएको अभिलेख पनि जीवितै रहेछ । मुख्य रूपमा नेवार ,तामाङ र खसहरूको बसोबास रहेको यो ठाउँ जातीय सहिष्णुताको नमुना लाग्यो मलाई । चारैतिर थुम्काहरूद्वारा घेरिएर समुन्द्र सतहदेखि १९५० मिटरको उचाइमा अवस्थित चित्लाङ्गको हावापानी न्यानो नै थियो हामी पुगेको बेलामा ।

एउटा पसलमा रहेका पाका व्यक्तिसँग जानकारी लिने हेतुले उनको अगाडि उभिएको छु । “ यो चित्लाङ्गको मुख्य विशेषता चाहिँ के हो नि काका ? ”

मेरो सवालबाट किन्चित हच्किएका उनले पहिले त मलाई तलदेखि माथिसम्म गढेर हेरेका थिए । पहिले उनले मलाई नै प्रतिप्रश्न गरे , “ तपाईँहरू को हो ? यति ठुलो हुल बाँधेर एकै प्रकारको पोसाकमा किन आउनु भएको हो ? ”

अलिपर रहेका भक्त जवाफी अनुहारमा नजिक आइपुगे र भन्न थाले, “ हामी पत्रकार , साहित्यकार हौँ दाजु । आज तपाईँहरूको ठाउँ घुम्न आएका हौँ । हेर्न लायक स्थानहरू के के छन् ? बताई दिनु भए खुसी हुनेछौँ । ”

यतिखेर सम्म हामी सबै जम्मा भई सकेका थियौँ । ती पाका मानिस हामी प्रति विश्वस्त भैसकेका थिए । उनले भने , “ यो चित्लाङ्ग पुरानो बस्ती हो । यहाँको मुख्य पेसा व्यापार र कृषि हो । यसको नेवारी नाम चिल हो । बाख्राको दूधबाट चीज उत्पादन गर्ने कारखाना र भेडा फार्मले चित्लाङ्गको इज्जत बढाएका छन् । यहाँ कार्तिक पूर्णिमामा कार्तिक पुन्ही जात्रा लाग्ने गर्दछ । ”

उनको भनाइ सकिएको थिएन । नेत्र एटमको जिज्ञासामा उनी फेरि भन्दै गए ,“ उ पर खोलाको छेउमा स्वछन्द्र भैरवको मूर्ती छ । उ पर सात धारा छ । वसन्त पञ्चमीमा ठुलो मेला लाग्छ । कटुसको जंगलले घेरिएको सात धारा ढुंगाबाट बनेको छ जहाँ गणेश ,शिव , कृष्ण , सरस्वती लगायतका देवताहरूको मूर्तीले धाराहरूको शोभा बढाएका छन् ।अलि माथि श्री ३ राजाहरू आवत जावत गर्दा बस्ने पुराना घरहरू छन् जहाँ अहिले विद्यालय सञ्चालनमा रहेको छ । उ उता दाहिने पट्टि अशोक चैत्य रहेको छ । तपाईँहरू आफैँ गएर हेर्न सक्नु हुन्छ । ”

उनलाई धन्यवाद भनेर हामी अगाडि बढ्यौँ । हामी सबैको पेटमा भोकले आफ्नो शासन स्थापना गरिसकेको थियो । त्यसैले भक्तद्वारा वितरण प्रेमिल स्याउ टोक्दै हामी अशोक चैत्य नजिकै पुग्यौँ । गाउँको बिचै बिच कुदेको बाटो छोडेर चारुमतीद्वारा निर्मित अशोक चैत्यतिर लाग्दा भक्त र धनप्रसादले टिपोटको लागि नोट बुक निकालिसकेका थिए । अशोक चैत्यको फेदमा उभिएर सामूहिक फोटो लिएपछि हाम्रो टोली स्वच्छन्द्र भैरवको खोजीमा लाग्यो । खेतको आली आली निकै पर पुग्दा पनि भैरव नभेटेपछि फर्कियौँ हामी । मन्दिराको ओठबाट मीठो ब्यङ्ग बाण निस्कियो , “ भैरव काँ एकै ठाउँ बसिरहन्छन् त । स्वच्छन्द भएर घुम्न गए होलान् कतै । ”

अव हामी बाख्राको दूधबाट बन्ने चीज कारखानामा दाखेल भएका थियौँ । तिहार भएकाले कारखाना बन्द थियो । छेउकै पसलमा पाइने रहेछ चीज । होम स्टे पनि सञ्चालित उक्त पसलमा पुगेर नेत्र , भक्त र धन चिजको उत्पादन अवस्था , बिक्री वितरण , देशको अर्थतन्त्रमा यसको योगदान , होम स्टेको दर रेट बुझ्न थालिसकेका थिए । बाख्राको दूधको चीजसँगै स्थानीय आलुबखडाबाट बनेको सोम रस उदरस्थ गरेपछि हामी मूलबाटोमा निस्कियौँ । हाल विद्यालय रहेको पुराना घरहरू नियाल्यौँ जुन घरहरू पहिले राणाजीहरू उपत्यका बाहिर जाँदा आउँदा बासको लागि प्रयोग हुने गरेका थिए ।

आहा ! चित्लाङ्ग ! कति धेरै दर्शनीय स्थानहरू । हामी सबै पुलकित भएर घुमिरहेका थियौँ । असाध्यै रमाइलो भइरहेको थियो । महाकवि देवकोटालाई यात्री कविता लेख्न उत्प्रेरित गर्ने चित्लाङ्ग ! नेपालको त्रिभुवन राजपथ खुल्नुअघि सम्म काठमाडौँ लाइ तराईसँग जोड्ने प्राचीन व्यापारिक नाका भएकाले पनि यो प्रमुख पदमार्ग थियो ।

कर्मठ युवा युवतीहरूलाई रोजगारीका लागि विदेश पठाएर छाती फुलाउन खोज्ने चित्लाङ्गको बानी भने पटक्कै मन परेन मलाई । केही युवाहरू भने नयाँ अवधारणाका साथ होम स्टे चलाएर पर्यटन प्रबर्द्धन गरी देश विकास गर्न दृढ रहेका छन् । अरूहरूका लागि पनि अनुकरणीय बनेका यी स्वावलम्बी युवाहरूलाई सलाम गर्दै एक पटक फेरि नियालेँ चित्लाङ्गलाई ।

गाउँको शिरमा आइपुगेका छौँ । अव केही खाऊ भन्दैछ भित्री मन । नजिकै रहेको ढुङ्गे धाराको पानी पिउँदा शान्ति भन्दै छिन , “ तिर्खा लागेर पिएको हुँ पानी । फेसबुकमा फोटो हाल्न पिए जस्तो गरेकी होइन है ! ”

भोकले पेट खोक्रिए पनि हाँसेरै हिँडिरहेका थियौँ । ढुङ्गे धारो माथिको चौतारो लाइ हामीले भोजनालयमा रूपान्तरण गरेका थियौँ । आफूसँग रहेका खानेकुरा बाँडचुँड गरी सहभोजमा रमाएपछि निर्मोही प्रेमीले प्रेमिकालाई छाडे झैँ हामीले पनि चित्लाङ्गसँग बिदाइको हात हल्लाउने बेला भैसकेको थियो । चित्लाङ्ग घुमेर मन अघाएकै थिएन । होम स्टेको अनुभव गर्न पाइएकै थिएन । भेडा फार्म अवलोकन गर्न बाँकी नै थियो । कसो कसो समयले नेटो काटिसकेको थियो । हाम्रो अघिल्तिर फर्कनुको विकल्प बाँकी थिएन । चन्द्रागिरि भन्ज्याङ्ग पुर्‍याउने गोरेटो समाएर जङ्गलको बाटो फर्किरहेका थियौँ ।

भन्ज्याङ्ग आइपुग्दा दिउँसोको पौने तीन बजिसकेको थियो । भन्ज्याङ्गमै साहित्यिक कार्यक्रम गर्ने भनेका थियौँ । धनप्रसादको उदघोषणमा रचना वाचन सुरु भयो । नेत्र एटमको अव्यक्त प्रेम कविताबाट सुरु भएको रचना वाचन भक्त राईको गीत, के .बी. सिम्पलको देउडा, प्रवीण राईको सांस्कृतिक मन्तव्य, शान्ति सापकोटाको छन्द कविता, मन्दिरा मधुश्रीको गजल, लीलाराज दाहालको गजल हुँदै धनप्रसाद सुवेदीको यात्रा कविताबाट समापन भएको थियो । अव समय बाँकी थिएन । फर्कनु पर्ने बाध्यताको लौरो टेकेर हामी थानकोटतिर ओर्लन थाल्यौँ । जति हतार भए पनि मानिसलाई प्रकृतिले लोभ्याई हाल्ने रहेछ । तल झर्दा झर्दै खर्क जस्तो चौरमा बसेर सामूहिक फोटो खिचायौँ । सबै पदयात्रीलाई एकै ठाउँ राखेर फोटो खिचिदिने प्रवीण राईको तत्परता साँच्चै प्रशंसनीय थियो ।

ओरालै ओरालो थानकोटतिर झरिरहेका थियौँ । गाडी गुड्ने धुलौटे ग्राभेल बाटोको हामीलाई के मतलब ! गाउँका निश्चल मानिस हिँड्ने गोरेटो बाटो समातेर ओर्लिरहेका छौँ खुर खुर । भिरालै भिरालो ! यात्रामा कठिनाइ छ र त मजा छ ! जोखिम छ र त रोमान्चकता छ ! जोखिम बाटोको आनन्द लिँदै तल तल झरिरहेका छौँ । अग्लो ठाउँबाट ओर्लंदा कतै कतै पदयात्राको सट्टा हस्त यात्रा पनि भइरहेको थियो ।

फर्कँदाको हाम्रो यो यात्रामा जति उत्सुकता र आनन्द थियो त्यो आनन्द चित्लाङ्ग सुपर एक्प्रेस भित्रको कोचामकोचमा कहाँ पाउनु !
बागमती ११, कर्मैया, सर्लाही ।