अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०४ | Colorodo: 23:19

विमस्टेक मन्त्रीस्तरीय बैठक –मानव तस्करी र अन्तर्राष्ट्रिय अपराध अन्त्यका लागि शुन्य सहनशीलताको नीति अपनाउने समझदारी

बिआरटीनेपाल २०७५ भदौ १३ गते ९:१५ मा प्रकाशित

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास (विमस्टेक) को मन्त्रीस्तरीय बैठकले अन्तर्राष्ट्रिय अपराध र मानव तस्करी अन्त्यका लागि शुन्य सहनशीलताको नीति अपनाउने समझदारीमा हस्ताक्षर गर्ने निर्णय गरेको छ । बुधबार काठमाडौंमा बसेको विमस्टेकको १६ औं मन्त्रीस्तरीय बैठकले सदस्य राष्ट्रहरुबीच अन्तर्राष्ट्रिय अपराध नियन्त्रणका लागि शुन्य सहनशीलताको नीति अपनाउने विषयमा शिखर सम्मेलनमा सम्झदारी गर्ने निर्णय गरेको हो ।

मन्त्रीस्तरीय बैठकले शिखर सम्मेलनका लागि १६ वटा विभिन्न एजेन्डा पनि तय गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिनुभयो । बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले गरिवी निवारण, जलवायु परिवर्तन, मानव तस्करी र अपराध, भोकमरी लगायतका विषयमा सदस्य राष्ट्रहरुबीच सहकार्य गरेर अघि बढनुपर्नेमा जोड दिनु भएको थियो ।

बैठकले काठमाडौं घोषणा पत्रलाई अन्तिम रुप दिएको पनि परराष्ट्र मन्त्रालयका प्रवक्ता पौडेलले बताउनु भयो । मन्त्रीस्तरीय बैठकले विद्युतीय ग्रिडको अन्तरआवद्दताबारे शिखर सम्मेलनमा हुने संझौतापत्रमा हस्ताक्षर गर्ने एजेण्डा र त्यसको मस्यौदा लाई स्वीकृत गरेको छ । त्यस्तै बिमस्टेकका सबै सहयोगका क्षेत्रबारे समिक्षा गर्दै संगठनलाई अझ परिणाममूखी र प्रभाकारी बनाउने सहमति पनि भएको जनाइएको छ ।

बैठकले बिमस्टेकका महासचिवले पेश गरेका विभिन्न प्रतिवेदनलाई पनि स्वीकृत गरेको छ । बैठकमा सदस्य राष्ट्रबीच भन्सार मामिलामा आपसी सहयोग, सवारी आवागमन, ब्यापार सहजीकरण सम्वन्धि संझौताका मस्यौदालाई अन्तिम रुप दिन भइरहेका उपलब्धीबारे जानकारी गराईएको थियो ।

आजको बैठकमा बंगलादेशका पराराष्ट्रमन्त्री अबुल हसन महमद अली, भुटानका विदेशमामिला सचिब सोनाम स्योङ, भारतका विदेश मामिला राज्य मन्त्री डा. भि.के. सिंह, म्यानमारका अन्तर्रा्ष्ट्रिय सहयोगमन्त्री यु क्वाउ टिन, नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रृलंकाका परराष्ट्रमन्त्री बसन्त सेनानायके, थाइल्याण्डका विदेशमन्त्री डोन प्रामुध विनयको सहभागिता थियो ।

बैठकमा नेपालका पराराष्ट्रमन्त्री ज्ञवालीले स्वतन्त्र व्यापार संझौता, यातायात गुरुयोजना निर्माणमा उपलब्धी हासिल भइरहेकामा सन्तुष्टि जनाउनुभएको थियो । उहाँले मन्त्रीस्तरीय बैठकको अध्यक्षता श्रृलंकालाई हस्तान्तरण गर्नुभएको छ । १७ औ मन्त्रिस्तरीय बैठक श्रृलंकामा हुने तय भएको छ । बैठकका सहभागीले बिमिस्टेक केन्द्रहरुलगायत अन्य संयन्त्रलाई तत्काल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका छन । बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले विमस्टेकको चौंथो शिखर सम्मेलन उद्घाटन गर्नुहुनेछ । सम्मेलनमा भाग लिन विमस्टेक सदस्य राष्ट्रका सरकार प्रमुखहरु नेपाल आउने क्रम जारी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू