अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१६ | Colorodo: 10:31

दिवङ्गत आफन्तको सम्झनामा परम्परागत गाईजात्रा पर्ब मनाइयो

बिआरटीनेपाल २०७५ भदौ ११ गते ८:१२ मा प्रकाशित

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराउनुका साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरि यो पर्व मनाउने गरिन्छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन “जनतालाई आआफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू” भनी आज्ञा दिएकामा त्यतिले मात्रै पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप जात्राको प्रचलन चलेको जनश्रुति पाइन्छ ।

त्यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा अहिलेपनि काठमाण्डौंको हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिले पनि कायमै छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि काठमाडौँ उपत्यकामा यसमा विशेष रौनक पाइन्छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने गाईजात्रा पर्वका क्रममा प्रहसन, सामाजिक विकृति प्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुणरसका गीत पनि गाइन्छ ।

परम्परागत् पर्व गाईजात्राका क्रममा पाटनमा देखाइने सत्ययुगको धानचामलको नमूना तथा काठमाडौँको ठमेलमा स्वर्ण र रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् । आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रम आयोजना गर्ने र पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशन गर्ने गरिन्छ । गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत पोखरा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, खोटाङ, भोजपुर, सङ्खुवासभा, इलाम, सुनसरी, मोरङ, पर्सा, मकवानपुर, लगायत जिल्लाका शहरमा पनि मनाइन्छ ।

भक्तपुरमा गाईजात्राको प्रमुख आकर्षणको रुपमा घिन्ताङघिसी नाच प्रदर्शन गर्ने गरिन्छ । भक्तपुरमा आठ दिनसम्म चल्ने यस पर्वको छुट्टै रौनक र आकर्षण रहेको छ । भक्तपुरमा एक वर्षभित्र मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाको साँचा अर्थात डोकोलाई गाईको रुपमा सिंगारेर नगर परिक्रमा गरिन्छ भने उमेर पुगेका व्यक्तिहरुको ताहामच्चा अर्थात चार वटा बाँस प्रयोग गरी गाईको प्रतिक बनाई नगर परिक्रमा गरिन्छ ।

घिन्ताङघिसीको साथै माँक प्याखँ अर्थात् बाँदर नाच पनि भक्तपुरको अर्को विशेषता हो । गाईजात्रामा मृतकको सुकीर्ति झल्काउने करुण रसयुक्त गीति लीला रामायणसमेत प्रदर्शन गर्ने चलन छ । गाईजात्राको अवसरमा तलेजु स्थानवाट कुखुरा नबास्दै पहिलो तलेजुको ताहामचा बनाई नगर परिक्रमा गराइन्छ । त्यसपछि मृतक आफन्तको सम्झनामा उनीहरुको प्रतिक ताहामचा बनाई नगर परिक्रमा गरिन्छ ।

यसैबीच, पोखरामा सोमबार गाईजात्रा निकालिएको छ । पोखरामा २१, लेखनाथमा ७ र हेमजामा एउटा गाइजात्रा निकालिएको हो । पोखराका विभिन्न भागबाट निस्किएको गाईजात्राले सहरका विभिन्न भागको परिक्रमा गरेका थिए । परम्परागत रुपमा निकालिएको सांस्कृतिक गाइजात्रा पोखरेलीले चाखपूर्वक हेरेका थिए । पोखरामा गाइजात्रासँगै तायाःमचा नाच पनि देखाइने गरेको छ । पोखरामा गाइजात्राको दिन सहरका विभिन्न भागको परिक्रमा गर्नुपर्ने भएकाले तायाःमचा नाच प्रतियोगिता पहिल्यैदेखि गाइजात्रा पछिको पहिलो शुक्रबार र शनिबार आयोजना गर्ने गरिन्छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू