अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४४ | Colorodo: 00:59

अमेरिकामा नेपाली सामुदायिक बैंकको उद्घाटन

बिआरटीनेपाल २०७५ भदौ १० गते ९:४६ मा प्रकाशित

न्यु योर्क । अमेरिकामा नेपाली लगानीमा स्थापित सामुदायिक बैङ्क उद्घाटन भएको छ । शनिवार साँझ न्यु योर्क ज्याक्सन हाइट्स आयोजितमा कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले नेपालीहरूले स्थापना गरेको एभरेष्ट फेडरल क्रेडिट युनियनको उद्घाटन गरेका हुन् । एभरेष्टले अमेरिकी केन्द्रीय सरकार अन्तर्गतको नेशनल क्रेडिट युनियन एड्मिनिष्ट्रेसन (एनसियुए) बाट गत साता सञ्चालन अनुमति पाएको थियो । 
कार्यक्रममा राजदूत कार्कीले नेपालीले सामुदायिक बैङ्क स्थापना गरी अमेरिकामा फरक पहिचान बनाउन सफल भएकोमा प्रशंसा सहित संस्थालाई शुभकामना दिए । संस्थाको सञ्चालक समिति अध्यक्ष डिल्ली भट्टले अब छिटै निक्षेप सङ्कलन, कर्जा प्रवाह, क्रेडिट कार्ड जारी लगायतका वित्तीय कारोबार सुरु गर्ने जानकारी दिए । कार्यक्रममा अध्यक्ष भट्ट सहित संस्थाका सात जना सञ्चालक एवं विभिन्न विषय गत समितिका पदाधिकारीले प्रस्तुति दिएका थिए । क्विन्स क्षेत्रका विभिन्न राजनीतिक नेताले पनि कार्यक्रममा उपस्थित भएर संस्थालाई शुभकामना दिएका थिए । कार्यक्रममा भाग लिन अमेरिकाको विभिन्न सहरबाट संस्थाका प्रवद्र्धकहरु पनि न्यु योर्क आएका थिए । नेपाली भाषी एवं रैथाने अमेरिकी सहित ४०० बढीको कार्यक्रममा उपस्थिति थियो ।

संस्थाका प्रबद्र्धकहरुले तीन वर्ष अघि क्रेडिट युनियन सञ्चालनमा ल्याउन एनसियुए समक्ष आवेदन दिएका थिए । जटिल कानुनी प्रक्रिया, सर्भे, व्यावसायिक एवं बजारीकरण योजना लगायतका प्रावधानहरू पुरा गरी पछि एनसियुएले सञ्चालन अनुमति दिएको हो ।

अमेरिकामा विभिन्न देशबाट आएका आप्रवासीहरूले क्रेडिट युनियन सञ्चालन गरेका छन् । सम्बन्धित देशका आप्रवासीको सङ्ख्या एवं आर्थिक गतिविधि बढ्दै गएपछि यस्तो युनियन सञ्चालनमा ल्याउन सफल भएको उदाहरण देखिन्छ । समुदायको आर्थिक हित प्रबर्द्धनको मूल उध्येश्य लिएर क्रेडिट युनियन स्थापना हुने गरेका छन् । अमेरिकी सरकारले यस्ता सामुदायिक बैङ्कलाई कर छुट दिने हुँदा अरू वाणिज्य बैङ्कको तुलनामा यिनीहरूका ऋणीले कम ब्याजदरमा कर्जा पाउने एवं बचतकर्ताले धेरै ब्याज पाउने अध्यक्ष भट्टले जानकारी दिए ।

संस्थाले अमेरिकामा बसोबास गर्ने सबै नेपालीहरूलाई सदस्य एवं निक्षेप कर्ता बनाएर सुविधा प्रदान गर्ने लक्ष्य राखेको हुँदा संस्थाले सबै राज्यमा शाखा खोल्ने अनुमति पाएको छ । पाँच वर्षभित्रमा कम्तीमा १० शाखा र १० हजार निक्षेप कर्जा पुर्याइ कारोबार २० करोड अमेरिकी डलर नघाउने संस्थाले जनाएको छ । संस्थाले पहिलो शाखा भने अमेरिकामा बसोबास गर्ने नेपालीहरूले मिनी नेपाल भनेर चिन्ने न्यु योर्क ज्याक्सन हाइट्समै स्थापना गर्नेछ ।

संस्थाले नयाँ सदस्यका लागि आवेदन समेत खुल्ला गरेको छ । आफ्नै क्रेडिट युनियन भएपछि अमेरिकाभरि बसोबास गर्ने नेपालीभाषीहरुलाई आर्थिक कारोबार गर्न सहज हुनेछ । आफ्नै भाषामा पनि कुराकानी गरेर बचत एवम् कर्जा लिने अवसर यहाँ रहेका नेपालीहरूले प्राप्त गर्नेछन् । साथै यसको मुनाफाको पनि हकदार रहनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू