अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०२ | Colorodo: 06:17

नेपाली काँग्रेस महासमितिको बैठक २०७५ मङ्सिर ५ देखि ९ सम्म काठमाडौँमा

बिआरटीनेपाल २०७५ भदौ १० गते ९:२१ मा प्रकाशित

प्रेस विज्ञप्ति

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, विपी स्मृति भवन, विपी नगर, ललितपुरमा आज सम्पन्न भयो।

बैठकको निर्णय देहाय बमोजिम रहेको छ ।
१. महासमितिको बैठक २०७५ मङ्सिर ५ देखि ९ सम्म काठमाडौँमा आयोजना गर्ने ।
२. महासमिति बैठकको मूल तयारी समिति पार्टी सभापति श्री शेरबहादुर देउवाको संयोजकत्वमा पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरू रहने गरी गठन ।

३. महासमितिमा प्रस्तुत गर्ने राजनैतिक प्रस्ताव तयार गर्न उपसभापति एवं केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख श्री विमलेन्द्र निधिको संयोजकत्वमा राजनैतिक प्रस्ताव तयारी समिति गठन ।

४. साङ्गठनिक प्रतिवेदन महामन्त्री डा. शशाङ्क कोइरालाले प्रस्तुत गर्नु हुनेछ ।
५. पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन कोषाध्यक्ष श्रीमती सीतादेवी यादवले प्रस्तुत गर्नु हुनेछ ।

६. पार्टीको समग्र आर्थिक नीति मस्यौदा समिति सहमहामन्त्री डा. प्रकाश शरण महतको संयोजकत्वमा गठन ।
(राजनैतिक र पार्टीको सम्रग आर्थिक नीति मस्यौदा समितिको थप सदस्य सभापतिले मनोनयन गर्नु हुनेछ)
७. विधान संशोधन मस्यौदा समितिमा जिल्ला सभापतिहरूको हेटौडामा सम्पन्न राष्ट्रिय भेलाको प्रस्ताव अनुसार जिल्ला पार्टी सभापतिहरू मध्येबाट स्थायी आमन्त्रितका रूपमा २ जना थप गर्ने ।

८. नेपाली काँग्रेस काठमाडौँ जिल्ला कार्यसमितिका सभापतिको संयोजकत्वमा ललितपुर र भक्तपुरका सभापति सदस्य रहने गरी स्थानीय व्यवस्थापन समिति गठन । थप सदस्य केन्द्रीय सभापतिले मनोनयन गर्नुहुनेछ ।

९. देशमा हत्या, हिंसा, जघन्य बलात्कारका घटनाहरू बढ्दो छ । सरकार शान्ति सुरक्षाको संवेदनशीलतामा क्षमता प्रस्तुत गर्न असफल भएको छ । कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि निर्मम हत्या भएको जघन्य घटना बारे गम्भीर र गहिरो ढङ्गले छानबिन नगरी अविश्वसनीय निष्कर्षमा सरकार पुग्दा त्यसले नागरिक पक्तिलाई आक्रोशित बनाउनु र हजारौँको स्वतः स्फूर्त प्रदर्शन हुनु स्वाभाविक थियो । तर, सरकारले छानबिनप्रति गम्भीरता र प्रदर्शनप्रति संयम ता प्रस्तुत नगरी गोली प्रहार गरेर जनताको भावना दबाउन खोज्दा परिस्थिति झनै गम्भीर बन्न पुग्यो । नेपाली काँग्रेसलाई लाञ्छना गरेर सत्तारुढ दलकै एक जिम्मेवार नेताले व्यक्त गरेको गैर–जिम्मेवार एवं भड्काउयुक्त अभिव्यक्तिका कारण भाद्र ८ गते उत्पन्न परिस्थितिले अन्ततः अबोध बालक सन्नी खुनाको प्रहरीको गोलीबाट मृत्यु भयो । नेपाली काँग्रेस यो समग्र घटनामा सरकारको कमजोरी, दोषी लुकाउने र निर्दोषलाई फसाउने षडयन्त्र एवं गैर–जिम्मेवार अभिव्यक्तिको कडा भर्त्सना गर्दछ ।

१०. कञ्चनपुर घटनाको गहन र गहिरो छानबिन गरी अपराधीमाथि तत्काल कार्वाहीको माग गर्दछ । निर्दोष बालक सन्नी खुनाको परिवारलाई राहत तथा क्षतिपूर्ति र सबै घाइतेको सम्पूर्ण उपचारका लागि सरकारलाई आग्रह गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

११. बैठकले कञ्चनपुर घटनाको यथार्थ बारे स्थलगत अध्ययन गरी प्रतिवेदन पेस गर्न केन्द्रीय सदस्यद्वय– श्री दिलेन्द्रप्रसाद बडू र श्री वीरबहादुर बलायर रहून् भएको टोली भाद्र १० गते नै कञ्चनपुर पुग्ने गरी पठाउने निर्णय गर्दछ ।

१२. ०७५ भाद्र १ मा लागू भएको मुलुकी ऐनको परिमार्जित संहिताले नेपाल देशलाई आधुनिक राज्यका रूपमा विकसित गर्न महत्त्वपूर्ण योगदान गरेको छ । नेपाली काँग्रेसको नेतृत्वको सरकार भएका बेला सो मस्यौदा निर्माण गरिएको विषयलाई बैठकले गौरव गरेको छ । तर कार्यान्वयनको मितिमा आइपुग्नु पूर्व त्यसमा देखिएका कतिपय कमजोरीहरू सुधार गर्ने सरकारको गम्भीरता नपुग्नु दुःखद छ । खास गरी प्रेस स्वतन्त्रतामा असर पुग्ने, चिकित्सकहरूको मर्यादामा आँच पुग्ने र प्रहरी अनुसन्धानलाई असर पु¥याउन सक्ने केही प्रावधानहरू संशोधन गर्न अनिवार्य देखिएको छ । बैठकले यसमा संशोधनका लागि आवश्यक प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गर्ने निर्णय गर्दछ ।

१३. सङ्घीय, प्रदेश तथा स्थानीय तहमा हचुवा ढङ्गले कर बढाइएको घटनाले नेपाली जनजीवन यति बेला आक्रान्त छ । लगानीकर्ता तथा उद्यमशील वर्गलाई यसले निरुत्साहित गर्नेछ । नेपाली काँग्रेस पार्टी न्यायोचित कर र दायराको विस्तार मार्फत आर्थिक गतिविधि बढ्ने कुरामा विश्वास गर्दछ । करको दायरा फराकिलो बनाउँदा आर्थिक गतिविधिहरूको विस्तार र राजश्व वृद्धि भई बजेटको आकार बढाउन सकिने कुरामा नेपाली काँग्रेस विश्वास गर्दछ । हामी तीनै तहका सरकारलाई करको दर बढाउने एवं दोहोरो—तेहोरो कर मार्फत जनतालाई थप आर्थिक बोझ सिर्जना नगर्न सचेत गराउँदछ । करको अचाक्ली दर भन्दा दायरा बढाउने एवं न्यायोचित कर लिने पार्टीको नीतिलाई स्थानीय तहमा निर्वाचित हाम्रा साथीहरूले कार्यान्वयनमा लैजाने एवं उद्योग व्यवसायहरूमा लगानी बढाउने नीति र कार्यक्रम स्थानीय तहमा तर्जुमा गरी अघि बढ्न बैठकले निर्देश गरेको छ ।

समयमै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठन नगर्नुको परिणाममा पनि आजको जटिलता उत्पन्न भएको ठहर नेपाली काँग्रेसले गरेको छ । यसर्थ, तत्कालै यसको गठन गर्न नेपाली काँग्रेस माग गर्दछ ।

१४. मित्रराष्ट्र पाकिस्तानमा नयाँ प्रधानमन्त्रीका रूपमा पूर्व क्रिकेटर इमरान खान निर्वाचित हुनु भएकोमा यो बैठक बधाई ज्ञापन गर्दछ । प्रधानमन्त्रीका रूपमा कार्य गरिरहँदा सादगीपूर्ण जीवनशैली अँगाल्ने घोषणा र त्यसका लागि नेपालका पूर्व प्रधानमन्त्री सुशील कोइरालाको जीवनशैलीबाट प्रभावित भएको उहाँको अभिव्यक्तिप्रति बैठकले सम्मान प्रकट गर्दै कार्यकालको सफलताको कामना गर्दछ ।

केन्द्रीय कार्यसमितिको अर्को बैठक ०७५ भाद्र २१ गते बिहान ११ः०० पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।

जय नेपाल ।

विश्वप्रकाश शर्मा
प्रवक्ता

प्रतिक्रिया