अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२१ | Colorodo: 15:36

नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण विश्वका लागि मोडल– अमेरिकी उप–सहायक मन्त्री वेल्स

बिआरटीनेपाल २०७५ भदौ १० गते ८:४१ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अमेरिकी दक्षिण तथा मध्य एसिया मामिला उपसहायक मन्त्री एलिस जी वेल्सले भेट वार्ता गर्नुभएको छ । प्रचण्ड निवास खुमलटारमा आइतबार भएको भेटमा नेपालको आर्थिक समृद्धिमा अमेरिकी सहयोग र समर्थनबारे छलफल भएको थियो । सो अवसरमा अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया, गणतन्त्रको घोषणा र संविधान निर्माण हुँदै त्यसको सफल कार्यान्वयनमा अमेरिकी जनता र सरकारको सद्भावका लागि धन्यवाद प्रकट गर्नुभएको थियो । अध्यक्ष प्रचण्डले मुलुकमा ७० वर्षदेखिको राजनैतिक अस्थिरता अन्त्य गरी स्थिरता कायम गरेको बताउँदै अब आफूहरु आर्थिक समृद्धिमा लागेको स्पष्ट पार्नुभयो ।

भौतिक पूर्वाधारको निर्माण, पर्यटन क्षेत्रको विकास, जलविद्युत उत्पादन र कृषिमा आधारित उद्योगको विकासमा अमेरिकी सहयोग आवश्यक रहने अध्यक्ष प्रचण्डको भनाइ थियो । उहाँले त्यसका लागि लगानीको सुरक्षा गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । नेपालमा हुन लागेको बिमस्टेक सम्मेलन आर्थिक विकासका लागि सहयोगी सिद्ध हुने अध्यक्ष प्रचण्डको भनाई थियो । अध्यक्ष प्रचण्डले शान्ति, समृद्धि र लोकतन्त्रप्रति आफूहरु पूर्णप्रतिवद्ध रहेको बताउँदै संसारमा स्थापित लोकतन्त्रको मान्यता अनुसरण गरिएको उल्लेख गर्नुभयो ।

भेटका अवसरमा मन्त्री वेल्सले नेपालको राजनीतिक स्थायित्वमा महत्वपूर्ण योगदान रहेको भन्दै दाहाल प्रचण्डको प्रशंसा गर्नुभएको थियो । उहाँले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण विश्वका लागि मोडल भएको पनि उल्लेख गर्नुभयो । नेपाल र अमेरिकाको द्विपक्षीय सम्बन्ध राम्रो रहेको मन्त्री वेल्सको धारणा थियो । उहाँले वर्तमान सरकार नेपालको आर्थिक समृद्धिका लागि गतिलो आधार भएको वताउनुभयो । सो अवसरमा मन्त्री वेल्सले साइबर सुरक्षा र प्रकोप नियन्त्रणमा आफूहरु नेपाललाई सहयोग गर्न इच्छुक रहेको वताउनुभयो । नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न देश रहेको उल्लेख गर्दै उहाँले नेपालमा विकाशका धेरै सम्भावनाहरु रहेको वताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू