अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४६ | Colorodo: 01:01

नमन

अमृता लम्साल २०७५ भदौ ९ गते १०:४३ मा प्रकाशित

भदौ ९ गते शनिवार माइतीघर मण्डलामा जम्मा भएर हिँडेको मौन, शान्तिपूर्ण जुलुस नयाँ बानेस्वरतिर लाग्दा,शिल्पी नाट्य समूहको टिम अगाडि लागेको थियो।
समूहका सदस्यहरूले पहिलो प्रदर्शन बबरमहलमा गर्‍यो। 

छातीमा ‘अपराधी’,’समाज’, ‘कानुन’ आदी लेखिएको कागज टॉसिएको थियो। त्यो नाटकमा बलात्कृत किशोरीको भूमिका निभाउने कलाकारहरूले निकालेको चीत्कार मलाई सुन्न गाह्रो भयो।

सायद, निर्मला, माया तथा अरू छोरीहरू पनि यसै गरी चिच्याए होलान् !
दयाको भिख मागे होलान् !
अहिले जसरी ती आवाज विहीनहरूका लागि न्यायको भिख मागिंदैछ।
त्यो आर्तनाद!
त्यो पीडा !
उफ्फ्!!!!

त्यहाँबाट हामी अगाडि लाग्यौँ। शिल्पी समूहका अगुवा कलाकार एकोहोरो शङ्ख फुकी रहनु भएको थियो। उहाँको पछिपछि हिँडिरहेकी म, कुर्थाको सलले आँखा पुछी रहेकी थिएँ।

मलाई त्यहाँ निर्मला पन्त, माया विकहरूको मलामी गइरहेको भान भइरहेको थियो।

मलाई, न्याय मरेको समाज र कानुन मार्ने प्रहरी प्रशासन सम्झिएर मनभरि आक्रोश र पीडा भरिइरहेको थियो।

केही बेर अगाडि, मैले, माइतीघर मण्डलामा आएकी ८ वर्षकी छोरी भेटेकी थिएँ; उनलाई बलात्कृत भएपछि कुनै संस्थाको रोहबरमा काठमाडौँमा राखेको १ वर्ष भइसकेको छ।
मेरो मन, ती बच्चीलाई सम्झिएर रोइरहेको थियो।

बिहीबार बेलुकीदेखि हामीले ट्विटरमा ( Hashtag ) #Justicefornirmala सुरु गर्‍यौँ।

राति १/२ बजेसम्म ट्विट गरिरह्यौँ। हामी यो टाइम जोनका मान्छेहरू सुतेपछि पनि अर्को टाइमजोनमा बस्ने साथी/भाइहरू लागिरहनु भयो। हामीमध्ये केहीको ट्विटर अकाउन्ट, धेरै ट्विट गरेको कारणले लकसमेत भयो; फेरि क्याप्चा र कोड हालेर अनलक गर्नुपर्‍यो।

शुक्रवार, माइतीघर मण्डलामा शनिवार जम्मा हुने कुरा भयो। शिल्पी थिएटरका Ghimire Yubaraj र टिमले तुरुन्तै सानो नाटक तयार पार्नुभयो।
माइतीघरमा हामी ११ बजे पुग्दा, ठुलै सङ्ख्यामा प्रहरी तयार बसेका थिए। हामी चुपचाप जम्मा हुँदै गयौँ।

केही साथीहरूले त्यहीँ बसेर नारा लेख्नुभयो। केहीले लेखेर ल्याएको नारा फोटोकपी गर्नुभयो।
हामी सबैले छातीमा ती नाराहरू टाँस्यौँ र अगाडि बढ्यौँ।

आज बिहान एक जना भाइले DM मा लेख्नुभयो,”दिज्यू, पुरुष हुनुमा यति बिघ्न हीनताबोध कहिल्यै भएको थिएन 😞”
मेरो जवाफ थियो, “त्यसो भनेर नरुवानुस् मेरो परिवारमा पनि पुरुष सदस्य छन्!

के गर्ने, एउटा कुहिएको आलुले टोकरी भरीकोलाई सडाउँछ!
एक जना बहिनीले आफ्नो १४ वर्षको छोरा र ५ वर्षकी छोरी सँगै छाडेर हिँड्न डर लाग्छ भन्नुभयो; मन कति अमिलियो होला !
हेर्नुस् त मानिसको डर !”

आजै बिहान अर्की बहिनीले निर्मलाको केसलाई लिएर हतासिंदै मेसेन्जरमा लेख्नुभयो, “दिदी, म गलेँ!”

हो, हामी, हताश भइसक्यौँ; गलिसक्यौँ। हामीलाई नै थाहा हुन छाडिसक्यो, हरेक दिन जसो भइरहेको त्यस्तो घृणित र पाशविक घटनाहरूलाई कसरी रोक्ने ?

हाम्रा छोरी/चेलीले यो पीडा कति भोग्ने ?
हामी सुरक्षित भएर हिँड्न किन नपाउने ?

झन्डै अढाई दशक अगाडिदेखि कति जुलुसमा हिँडियो। कति धर्ना दिइयो।
त्यहाँ, जहिले पनि, बलात्कार र महिलामाथि हुने हिंसा, केवल महिलाहरूको मात्र समस्या हो जस्तो देखिन्थ्यो।

तर आज, जीवनमा नयाँ उत्साह थपिएको छ। आज सायद, त्यो मौन जुलुसमा महिलाहरू भन्दा दाजुभाइहरू धेरै हुनुहुन्थ्यो। आफ्ना छोरी/चेलीको पीडाले उहाँहरूलाई धेरै छोएको थियो। यो घटना केवल महिलाहरूको सरोकारको बिषयमात्रै रहेको थिएन।
अब भने आशा पह्लाएको छ, समाज परिवर्तन भएको छ।

यहाँहरू सबै जना, ज-जसले आजको र्‍यालीमा श-शरीर भाग लिएर, ट्विटरमा रात दिन खटेर चेतना जगाउने र अन्यायको विरुद्धमा साथ दिने काम गर्नुभयो, म, व्यक्तिको तर्फबाट श्रद्धाका साथ शिर झुकाएर अभिवादन टक्र्‍याउँछु।

नमन!

P.S. यहॉ पोस्ट गरिएको भिडियोको आवाजले मानसिक रूपमा विक्षिप्त बनाउन सक्छ। पीडाको आवाज पचाउन नसक्नेले क्लिक नगर्नु होला !

अमृता लम्सालको फेसबुकबाट

प्रतिक्रिया