अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०३ | Colorodo: 05:18

कांग्रेस महासमिति भेला मंसिर ५ देखि काठमाडौंमा हुने

बिआरटीनेपाल २०७५ भदौ ९ गते ९:३७ मा प्रकाशित

नेपाली कांग्रेसले महासमिति भेला मंसिर ५ गतेदेखि ९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले महासमिति भेलाको मिति र स्थान तय गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवाले प्रस्ताव गरेको मितिलाई केन्द्रीय सदस्यले पारित गरेका हुन् ।
पार्टीलाई संघीय ढाँचामा लैजान बिहिबार सभापति शेरबहादुर देउवाले महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय विधान संशोधन समिति गठन गर्नुभएको थियो । उक्त समितिले बनाएको मस्यौदामाथि जिल्ला तहसम्मै छलफल गरेर निर्णयार्थ महासमिति बैठकमा पेश गर्ने नेपाली कांग्रेस ले तयारी गरेको छ । विधान संशोधन समितिले शुक्रबारदेखि काम थालिसकेको छ ।

समितिमा जिल्ला सभापतिहरूलाई पनि प्रतिनिधित्व गराउनुपर्ने माग वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्दे आउनुभएको छ । वैशाख १६ मा सकिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले जिल्ला सभापति र महासमिति भेला गर्ने निर्णय गरेको थियो । सभापति भेला गरिसकेको कांग्रेसले अब महासमिति भेला गर्ने निर्णय गरेको हो । भदौमा महासमिति भेला गर्ने भनिए पनि तीन महिना ढिला गरी महासमिति भेला बोलाइएको हो । कांग्रेसको विधान संशोधन महासमिति भेलाबाट गर्ने नियम छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू