अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०२ | Colorodo: 10:17

अमेरिकी दूतावासद्वारा नेपालका लागि नयाँ युएसएआईडी निर्देशकमा एमी टोहिल-स्टललाई शपथ ग्रहण

बिआरटीनेपाल २०७५ भदौ ८ गते २३:४९ मा प्रकाशित

काठमाडौँ – अमेरिकी दूतावासमा आज आयोजित एक कार्यक्रममा कार्यवाहक राजदूत माइकल सी. गोन्जालेसले एमी टोहिल-स्टललाई अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) का नयाँ नेपाल निर्देशकका रूपमा शपथ ग्रहण गराउनुभएको छ । युएसएआईडीका निवर्तमान नेपाल निर्देशक पिटर ए. मालनाकले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा युएसएआईडी तथा अमेरिकी दूतावासका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

नेपालका लागि युएसएआईडीका सहायक निर्देशकको कार्यकाल पूरा गरेकी टोहिल-स्टलको व्यावसायिक दक्षताको उच्च मूल्याङ्कन गर्दै समारोहमा आफ्नो मन्तव्यका क्रममा कार्यवाहक राजदूत गोन्जालेसले भन्नुभयो, “विगत चार वर्षमा हामीले एमीजीलाई रणनीतिक नेतृत्व कर्ता, कुशल प्रबन्धक र सहयोगी सहकर्मीका रूपमा पाएका छौँ । उहाँको नीति, राजनीति र साझेदारीसम्बन्धी बुझाइ समृद्ध छ । उहाँले नेपालमा सरकारी अधिकारी, कार्यान्वयन साझेदार, दातृ निकाय, नागरिक समाज तथा निजी क्षेत्रसँग काम गरेर सँगालेको अनुभवले उहाँको मुलुकसम्बन्धी बुझाइलाई सशक्त बनाएको छ, जसलाई उहाँले निर्देशकको पदभार ग्रहण गरेपछि पूर्ण रूपमा सदुपयोग गर्नुहुनेछ ।”

कार्यवाहक राजदूत गोन्जालेसले नेपालको विकासमा युएसएआईडी तथा टोहिल-स्टलले खेल्ने भूमिकाको समेत चर्चा गर्नुभयो । “युएसएआईडीको तर्फबाट नेपाललाई हुने वार्षिक सहायताले लाखौँ नेपालीहरूलाई साक्षर बन्न, सुरक्षित रूपमा सन्तान जन्माउन, आयआर्जन वृद्धि गर्न, परिवारलाई विपद्‍बाट जोगाउन र आफ्नो अधिकारका रूपमा जानकार रहन सघाएको छ । नेपाली नागरिकहरूको जनजीवन र कल्याणमा सुधार गर्न सघाउने दिशामा युएसएआईडीको नेतृत्वको भूमिका महत्त्वपूर्ण रहनेछ ।”

अमेरिकी परराष्ट्र सेवामा लामो समय बिताएकी टोहिल-स्टलसँग आफ्नो नयाँ पदका लागि २५ वर्षभन्दा लामो विकास अनुभव छ । निर्देशकको पदमा नियुक्त हुनुअघि टोहिल-स्टल चार वर्षसम्म नेपालका लागि सहायक युएसएआईडी निर्देशकका रूपमा कार्यरत हुनुहुन्थ्यो । त्यसअघि उहाँले अफगानिस्तान, जोर्डन, जिम्बाब्वे, काजकस्थान र वासिङ्टनस्थित युएसएआईडीका कार्यालयका साथै वर्ल्ड रिसोर्स इन्स्टिच्युटमा सेवा पुर्‍याइसक्नु भएको छ ।

टोहिल-स्टलले अमेरिकन युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय विकासमा स्नाकोत्तर र पर्ड्यु युनिभर्सिटीबाट राजनीतिशास्त्रमा स्नातक गर्नुभएको छ ।

अमेरिकी जनताको तर्फबाट युएसएआईडीले विदेशमा लोकतान्त्रिक मूल्यमान्यता प्रवर्द्धन र प्रदर्शन गर्दै स्वतन्त्र, शान्त र समृद्ध विश्वलाई अगाडि बढाउँछ । अमेरिकाको विदेश नीतिको समर्थनमा युएसएआईडीले अमेरिकी सरकारको अन्तर्राष्ट्रिय विकास र विपत् व्यवस्थापनसम्बन्धी सहायताको नेतृत्व त्यस्ता साझेदारी र लगानीमार्फत गर्दछ जसले जीवन रक्षा गर्छन्, गरिबी न्यून गर्छन्, लोकतान्त्रिक शासनलाई बलियो बनाउँछन् र मानिसहरूलाई मानवीय सङ्कटबाट उक्सी सहायताभन्दा पर प्रगति गर्न सघाउँछन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू