अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५० | Colorodo: 06:05

१६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएन मध्यपूर्व क्षेत्रीय बैठक सम्पन्न

बिआरटीनेपाल २०७५ भदौ ८ गते २३:१९ मा प्रकाशित

वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन आग्रह
गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को मध्यपूर्व क्षेत्रीय छैटौँ बैठक शुक्रवार सम्पन्न युएईको दुबईमा सम्पन्न भयो । बैठकमा प्रमुख अतिथिको रूपमा नेपाल सरकारको प्रतिनिधित्व गर्दै माननीय खाने पानी मन्त्री विना मगर, विशिष्ट अतिथि पूर्व श्रम मन्त्री रमेश लेखक, युएईका लागि कार्यवाहक राजदूत सागर फुयाँल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि विपिन आचार्य अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष भवन भट्ट, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, अध्यक्ष पूर्व अध्यक्ष जीवा लामिछाने, अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरू, राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि लगायतको उपस्थिति थियो । बैठकले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनको लागि १६ बुँदे दुबई घोषणापत्र जारी गरेको छ ।

गैर आवासीय नेपाली सङ्घको अगस्ट २३–२५ तारिखमा दुबईमा सम्पन्न छैटौँ मध्यपूर्व क्षेत्रीय बैठकका निर्णयहरू पूर्ण पाठ

गैर आवासीय नेपाली सङ्घको छैटौँ मध्यपूर्व क्षेत्रीय बैठक अगस्ट २३–२५ तारिखमा दुबईमा भव्य रूपमा सम्पन्न भएको जानकारी गराउन पाउँदा हामी खुसी भएका छौँ । यो बैठकलाई सफल र भव्य रूपमा सम्पन्न गराउनको लागि प्रमुख आतिथ्यका लागि नेपाल सरकारको प्रतिनिधित्व गर्दै आउनु भएकी माननीय खाने पानी मन्त्री विना मगर, विशिष्ट अतिथि पूर्व श्रम मन्त्री रमेश लेखक, युएईका लागि कार्यवाहक राजदूत सागर फुयाँल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि विपिन आचार्य अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष भवन भट्ट, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, अध्यक्ष पूर्व अध्यक्ष जीवा लामिछाने, अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरू, राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि लगायत प्रति हामी हार्दिक आभार व्यक्त गर्दछौँ । यस सम्मेलनले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनको लागि १६ बुँदे दुबई घोषणापत्र जारी गर्दछ ।

१.नेपाल सरकारले लागु गरेको शून्य लागतमा कामदारलाई वैदेशिक रोजगारमा पठाउने नीतिलाई प्रभावकारी रूपमा कार्यन्वयनका लागि सम्बन्धित मुलुकसँग यथाशीघ्र श्रम सम्झौता गर्न आग्रह गर्ने । साथै, नेपाली कामदारलाई दक्ष बनाई र गन्तव्य देशबारे आवश्यक अभिमुखीकरण तालिम दिएर मात्रै पठाउने व्यवस्था मिलाउन अनुरोध गर्ने ।

२.वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई ठगीबाट जोगाउनका लागि नेपाली दूतावासबाटै माग पत्र प्रमाणीकरण गर्नुपर्छ भन्ने एनआरएनको मागलाई सरकारले सम्बोधन गरेकोमा स्वागत गर्दै यसलाई प्रभावकारी र छिटो कार्यसम्पादन गर्नका लागि आधुनिक प्रविधि प्रयोग गरी कागजात विहीन प्रणालीद्धारा कार्यन्वयन गर्न आग्रह गर्ने ।

३. नेपाली कामदारलाई नेपाली दूतावासबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था यथाशीघ्र कार्यान्वयनमा ल्याउनको लागि परराष्ट्र र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई अनुरोध गर्ने ।

४ं. बिदामा घर गएका खाडी क्षेत्रमा कार्यरत घरेलु कामदारलाई विशेष गरी महिला कामदार सोही रोजगारदाताकोमा काम गर्न चाहेमा अभिलेखीकरण गरी श्रम स्वीकृति दिन सरकारसँग आग्रह गर्ने ।
वैदेशिक रोजगारबाट फर्किएका महिलाहरूलाई देशमै पुनर्स्थापनाको लागि प्रशिक्षण तथा रोजगारीको कार्यक्रम देशव्यापी रूपमा सञ्चालन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने । एक हजारभन्दा बढी महिलाहरू कार्यरत देशमा आवश्यकता अनुसार संरक्षण गृह बनाउन नेपाल सरकारलाई आग्रह गर्ने ।

५. गैर आवासीय नेपाली सङ्घले विगतदेखि उठाउँदै आएको हजार अभियान अर्थात् वैदेशिक रोजगारमा जाने नेपाली कामदारकोसामाजिक सुरक्षाको ग्यारेन्टीको लागि आवश्यक व्यवस्था गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ ।

६.नेपाली भाषा,कला,साहित्य र संस्कृतिको संरक्षण,सम्बन्धन एवं प्रर्वधनका लागी हरेक देशमा एनआरएनले सञ्चालन गर्ने गरी नेपाली दूतावासको संरक्षकत्वमा रहने नेपाली सांस्कृतिक केन्द्र स्थापना गर्न सरकारलाई पनः आग्रह गर्ने ।

७. एनआरएनको राष्ट्रिय समन्वय परिषद्लाई विधिवत रूपमा सम्बन्धित राष्टमा दर्ता गराउन परराष्ट्र मन्त्रालयसँग समन्वय गरी आवश्यक सिफारिस प्रदान गर्न अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई आग्रह गर्ने ।

८. वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित गर्न परराष्ट्र, श्रम र गृह मन्त्रालयबिच समन्वय प्रभावकारी बनाउन एकीकृत विद्युतीय सूचना प्रणाली लागु गर्न अनुरोध गर्ने । वैदेशिक रोजगारीबाट फर्केका कामदारको दक्षता सहितको अभिलेख राख्न अनुरोध गर्ने ।

९.वैदेशिक रोजगारीको नाममा वैदेशिक रोजगार ऐन विपरीत भिजिट भिसा र कथित आजाद भिसाको नाममा कारोबार गर्ने र कामदारलाई अलपत्र बनाउने संलग्न कम्पनी वा व्यक्तिलाई सम्बन्धित कानुन बमोजिम कारबाही गर्न आग्रह गर्ने ।

१०. विदेशमा रहेका नेपाली नागरिकहरूलाई मताधिकार दिन सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्न सरकारलाई अनुरोध गर्ने ।

११. युएईको दुबई, लेबनान र इराकमा महावाणिज्य दूतको कार्यालय तथा कानुनत पाँच हजार नेपाली कामदार रहेको देशमा श्रम सहचारी स्थापनाको लागि नेपाल सरकारलाई अनुरोध गर्ने ।

१२. नेपाली दूतावासमा कानुनी सेवा प्रदान गर्ने गरी आवश्यक्ता अनुसारको वकिलको यथाशीघ्र व्यवस्था गर्नु पर्ने । जेलमा रहेका कामदारको यथाशीघ्र कानुनी प्रतिरक्षा गर्नुको साथै कोमामा रहेका नेपाली कामदारलाई स्वदेशमा ल्याई उचित स्वास्थ्य उपचारको प्रबन्ध मिलाउन अनुरोध गर्ने ।

१३. वैदेशिक रोजगारीबाट फर्केका नेपाली कामदारको सीप र दक्षता परीक्षण गरी १० लाख रुपैयाँ ऋण दिने सरकारको नीतिलाई प्रभावकारी कार्यान्वयन गर्न सरकारलाई अनुरोध गर्ने । नेपाली कामदारलाई परिवारसँग एकीकरण गर्न स्वदेशमै उद्यमशीलता गर्न एनआरएनले प्रोत्साहन गर्ने ।

१४. गैर आवासीय नेपालीको परिभाषा भित्र पर्नको लागि दुई वर्ष विदेशमा बस्नुपर्ने वर्तमान प्रावधानलाई सुधार गरी अन्तर्राष्टिय प्रचलन अनुसार एक आर्थिक वर्षमा १८२ दिन भन्दा बढी विदेशमा बसेको हुनुपर्ने व्यवस्था मिलाउन अनुरोध गर्ने । साथै, गैर आवासीय नेपाली अभियानमा सक्रियरुपमा संलग्न भई नेपाल फर्केका इच्छुक अभियन्ताहरूलाई गैर आवासीय नेपाली सङ्घको क्रियाकलापमा संलग्न गराउन अन्तर्राष्टिय समन्वय परिषद्लाई आग्रह गर्ने ।

१५. मध्यपूर्वका पर्यटकको लागि नेपाललाई आकर्षण गन्तव्य बनाउन एनआरएनले पर्यटन मन्त्रालयसँग सहकार्य गर्ने ।

१६.. गैर आवासीय नेपाली सङ्घको मध्यपूर्व क्षेत्रीय बैठकहरूले उठाउँदै आएका, घोषणा गरेका मुद्दालाई कार्यान्वयन गर्नको लागि क्षेत्रीय संयोजकको संयोजक प्रत्येक राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष प्रतिनिधित्व रहने एक समिति गठन गर्ने ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू