अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५६ | Colorodo: 17:11

काँग्रेस केन्द्रीय समिति बैठक स्थगित

बिआरटीनेपाल २०७५ भदौ ८ गते ९:३२ मा प्रकाशित

नेपाली कांगे्रस केन्द्रीय समितिको आज वस्ने भनिएको वैठक स्थगित भएको छ । नेताहरु बीचको विवादका कारण आजका लागि बोलाइएको समिति बैठक बस्दै नबसी स्थगित भएको छ । शुक्रबार ११ बजेका लागि बोलाएको बैठक शनिबारसम्मका लागि स्थगित भएको हो ।

बिहीबार सभापति शेरबहादुर देउवाले गठन गरेको ११ सदस्यीय विधान मस्यौदा समितिमा अर्का नेता रामचन्द्र पौडेल पक्षले असन्तुष्टि राख्दै बैठक नै बहिस्कार गर्ने चेतावनी दिएपछि शुक्रबारको बैठक स्थगित भएको जनाईएको छ । यसअघि, शुक्रबार चार घण्टासम्म सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलपक्षबीच आन्तरिक छलफल भएको थियो ।

छलफलका क्रममा गत असारमा भएको जिल्ला सभापतिहरुको भेलाको निर्णयअनुसार विधान मस्यौदा समितिमा जिल्ला सभापतिहरुको पनि प्रतिनिधित्व हुनुपर्नेमा समितिमा केन्द्रीय सदस्यमात्रै राखेको भन्दै पौडेलपक्षले आपत्ति जनाएको थियो । पौडेल पक्षको माग अनुसार विधान मस्यौदा समितिमा जिल्ला सभापति समेत थपेर पुनर्गठन गर्न देउवा सहमत भएको केन्द्रीय सदस्य चन्द्र भण्डारीले जानकारी दिनुभएको छ ।

पौडेल पक्षीय केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पूर्व सहमति विपरीत विधान समिति गठन गरिएको विषय र कार्यसम्पादन समिति तथा अनुशासन समितिको विषयमा आफूहरुले नेतृत्वसँग जवाफ माग गरेको जानकारी दिनुभएको छ । कांग्रेस बैठकले पार्टीको महासमिति बैठकको मिति र स्थान तोक्दै महासमितिबारे विभिन्न समितहरु गठन गर्ने निर्णय गर्ने बताइएको थियो ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले महासमिति बैठक तोक्नेलगायतका विषयमा केही गृहकार्य आवश्यक रहेकाले बैठक नेताहरुको परामर्शमा नै शनिबारका लागि सारिएको जानकारी दिनुभयो । अघिल्लै केन्द्रीय समिति बैठकबाट भदौ अन्तिममा महासमिति बैठक गर्ने निर्णय भएपनि आवश्यक तयारी भने हुन सकेको छैन । निर्वाचनमा नमीठो हार व्यहोरेको कांग्रेसमा त्यसयता बढ्दै गएको आन्तरिक गुटगत ध्रुवीकरण अझै कम हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू