अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४३ | Colorodo: 22:58

वैदेशिक रोजगारलाई ऐच्छिक बनाउन चाहन्छु: मन्त्री विना मगर

बिआरटीनेपाल २०७५ भदौ ८ गते ८:३३ मा प्रकाशित

एनआरएनको मध्यपूर्व सम्मेलनमा कसले के भने?

दुबई (युएई)– गैरआवसीय नेपाली सङ्घको मध्यपूर्व सम्मेलन संयुक्त राष्ट्र्र्र इमिरेट्स (युएई) को दुबईमा शुक्रवारबाट सुरु भएको छ ।

सम्मेलनको उद्घाटन नेपाल सरकारको तर्फबाट खाने पानी तथा सरसफाइ मन्त्री विना मगरले वैदेशिक रोजगारलाई ऐच्छिक बनाउन चाहिरहेको बताइन । ‘हरेक नेपाली युवाहरू गाँस र बासको लागि विदेशिन नपरोस्,’ उनले भनिन्,‘यसलाई अन्त्य गर्न सरकार योजनाबद्ध रूपमा अगाडि बढेको छ । जुन एकदमै चुनौतीपूर्ण छ ।’

वैदेशिक रोजगारमा जाने कामदारले आफुसग नेपाल सरकारको साथमा रहेको अनुभूति हुने गरी काम भइरहेको बताइन् । ‘वैदेशिक रोजगार ऐन र नियमावलीलाई कामदारको हितमा हुने गरी संशोधन प्रक्रिया अघि बढाइएको छ,’ उनले भनिन्,‘नेपाली कामदारको हितको पक्षमा सरकार बलियो ढङ्गले उभिएको छ ।’

उनले कोमामा रहेका नेपाली कामदारलाई फिर्ता लैजाने तयारी भइरहेको बताइन् । ‘परिवारले आफूले नै कोमाका बिरामीलाई ल्याउन र व्यवस्था गर्न सकेको छैन । अब कोमाको बिरामीको जिम्मेवारी सरकारले लिन्छ ।’, उनले भनिन् ।

नेपाली काँग्रेसका नेता एवं पूर्व श्रम मन्त्री रमेश लेखकले वैदेशिक रोजगार नेपालीको लागि बाध्यात्मक अनिवार्य भएको बताउनुभयो । मुलुकमा तत्काल रोजगार सिर्जना गर्न सक्ने स्थिति नभएको र विशेष नै नजाऊ भन्ने अवस्थामा सरकार नरहेको उहाँले बताउनुभयो । घरेलु कामदारका सम्बन्धमा सरकारले मध्यमार्गी बाटो पहिल्याउनुपर्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो, समस्या पर्‍यो भनेर रोक्ने होइन समाधानको बाटो खोज्ने हो । जटिलता, जोखिम र सम्भावना र अवसर सबै रहेको विदेशी रेमिटयान्सकै भरमा मुलुकको ठुलो हिस्सा ओगटेको उहाँको भनाई थियो ।

युवालाई रोजगारी दिएर देशको विकास गरी मूल प्रवाहमा ल्याउने सम्भावना तत्कालै छैन । देशभित्र पसिना बगाउनुपर्ने थियो । तर देशबाहिर गएर पसिना मात्रै होइन रगत बगाउनुपरेको छ’, उनले भने,‘यो कामलाई मर्यादित र सुरक्षित बनाउने बाहेक हामीसँग अर्को विकल्प छैन । यति धेरै जोखिम र जटिलता छ कि जति काम गर्दा पनि गरेको जस्तो देखिँदैन । जटिलता, जोखिम र सम्भावना र अवसर दुवै छ । विद्यमान चुनौतीलाई न्युनीकरण गरेर अवसरलाई दोहन गर्नेछ ।’

उनले विदेशमा महिला कामदार समस्यामा पर्‍यो भनेर जान रोक्नु गलत भएको बताए । ‘महिला कामदारको विषयमा विशेष सम्झौता गर्नुपर्छ,’ उनले भने ।

एनआरएनका अध्यक्ष भवन भट्टले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको सामाजिक सुरक्षाको लागि पेन्सन फन्ट तयार गर्ने अवधारणा ल्याएको बताउनुभयो । बल छउन्जेल विदेशमा काम गर्ने र कमजोर भएपछि देश फर्कने स्थिति रहेको भन्दै उहाँले सामाजिक सुरक्षाको लागि पेन्सन फन्ट बनाउन जरुरी बताउनुभयो । स्थिर सरकार बनेपछि संसारले नेपालमा लगानी गर्न वातावरण बनेको उहाँको भनाई थियो ।
संस्थापक अध्यक्ष उपेन्द्र महत्तोले देशको आर्थिक समृद्धि भए मात्रै नागरिकको समृद्धि हुने बताउनुभयो । उहाँले नेपालमा दक्ष जनशक्ति अभाव भएकोले विदेशमा सिकेका ज्ञान सीप नेपालमा भित्र्याउन आवश्यक रहेको बताउनुभयो । विप्रेषणबाट शिक्षा, स्वास्थ्य, निर्माण लगायतको क्षेत्रमा काम गर्न सकिने सम्भावना उहाँले औँल्याउनुभयो ।

गैरआवसीय नेपाली सङ्घका पूर्व अध्यक्ष जीवा लामिछानेले वैदेशिक रोजगारीलाई उच्च प्राथमिकतामा राखेर एनआरएनले काम गर्दै आएको उहाँले बताउनुभयो । विश्वव्यापीकरणको युगमा जो जहान पनि जान सक्ने भन्दै उहाँले भन्नुभयो, सम्भावना छ भने जहान पनि जान सकिन्छ ।

नेपालले जनशक्ति नै निर्यात गर्न सक्ने हो । अहिले अदक्ष कामदार पठाइरहेको छ । त्यसलाई दक्ष बनाएर पठाउनुपर्छ’, उहाँले भने,–‘अङ्गरक्षक रूपमा गएकोले धेरै समस्याहरू सिर्जना भइरहेको छ । सङ्घको सिमितताले चाहेर पनि धेरै काम गर्न सकिरहेको छैन ।’

युएईका कार्यवाहक राजदूत सागर फुयाँलले वैदेशिक रोजगारीमा आउने कामदारलाई सचेतना फैलाउन निकै जरुरी रहेको बताउनुभयो । ‘आवश्यक अभिमुखीकरण तालिम दिन श्रम आवासमै गइरहेको छ, उहाँको भनाइ थियो ।

सम्मेलनमा कतार, साउदी अरब, बहराइन, ओमान, कुवेत लगायत मध्यपूर्वका देशबाट प्रतिनिधि सहभागी भएका छन् । सम्मेलनमा सुरक्षित र मर्यादित वैदेशिक रोजगारी, आप्रवासी कामदारको ज्ञान, सीप, विप्रेषण र उद्यमशीलता समृद्धिको लगायत विषयमा छलफल भइरहेको छ । एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले मध्यपूर्व क्षेत्रमा कार्यरत झन्डै २० लाख नेपालीको मुद्दा र सवालमाथि सम्मेलनले सम्बोधन गर्ने संयोजक आर के शर्माले बताउनुभयो । सम्मेलन युएई घोषणा पत्र जारी गर्दै शनिवार सकिनेछ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू