अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५१ | Colorodo: 05:06

अमेरिकामा नेपालीको लगानीमा सुरु हुँदै सामुदायिक बैङ्क

बिजय थापा २०७५ भदौ ८ गते ८:१९ मा प्रकाशित

एभरेष्ट फेडरल क्रेडिट युनियनले सरकारबाट पायो सञ्चालन अनुमति

न्यु योर्क । अमेरिकामा नेपालीले स्थापना गरेको बैङ्किङ कारोबार गर्ने संस्थाले सञ्चालन अनुमति पाएको छ । न्यूयोर्कबाट पहिलो बैङ्किङ सुरु गरेर अमेरिकाको विभिन्न सहरहरूमा शाखा विस्तार गरिने लक्ष्य राखिएको एभरेष्ट फेडरल क्रेडिट युनियन (इएफसियू)लाई अमेरिकी केन्द्रीय सरकार अन्तर्गतको नेशनल क्रेडिट युनियन एड्मिनिष्ट्रेसन (एनसीयूए)ले सञ्चालन अनुमति दिएको हो । अनुमति पाएसँगै निक्षेप सङ्कलन, कर्जा प्रवाह तथा क्रेडिट कार्डसमेत संस्थाले जारी गर्नेछ । संस्थाको प्रवर्द्धनका लागि गत अगष्ट २५ तारिख साँझ समुदाय लक्षित एक बृहत् समारोह न्यु योर्क सिटीस्थित ज्याक्सन हाइट्समा आयोजना गर्दै छ । उद्घाटन समारोहमा अमेरिकाका विभिन्न क्षेत्रका राजनीतिक प्रतिनिधिहरू, नेपाल सरकारका राजदूत र कन्सुलेटलगायत अमेरिकाका विभिन्न स्टेटबाट प्रतिनिधित्व गर्ने व्यापारी, व्यवसायीको उपस्थिति रहने छ ।

एभरेष्ट फेडरल क्रेडिट युनियनका संस्थापक सदस्यहरूले तीन वर्षदेखि लगाताररुपमा जटिल कानुनी प्रक्रिया, रिक्वायरमेन्ट, सर्भे, विजनेश प्लान, फाइनान्सियल प्लान, मार्केटिङ प्लान, बाइ लज, पोलिसिज, सँग विभिन्न तहका मिटिङ, समझदारी, लाखौँ डलरको खर्च र तमाम भोलेन्टियरको अथक प्रयासपछि उपलब्ध गरेको यो गौरवपूर्ण उपलब्धि नेपाली समुदायले अमेरिकाको क्रेडिट युनियनहरूको सर्वोच्च नियामक फेडरल गभर्मेन्टअन्र्तगत रहेको नेशनल क्रेडिट युनियन एड्मिनिष्ट्रेशन (एनसीयूए)सँग समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरी वैधानिकता प्राप्त गरेको छ । संस्थाका बोर्ड अफ डाइरेक्टर, सुपरभाइजर कमिटी, क्रेडिट कमिटीले न्यूयोर्कस्थित व्यापारिक केन्द्र वाल स्ट्रिट नजिक रहेको म्युनिसिपल क्रेडिट युनियनको कार्यालयमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । वालस्ट्रिटलाई संसारकै आर्थिक–व्यापारिक केन्द्रका रूपमा चिन्ने गरिन्छ ।

अमेरिकामा विभिन्न देशबाट आएका आप्रवासीले आ–आफ्नो समुदाय लक्षित क्रेडिट युनियन सञ्चालन गर्दै आएका छन् । सम्बन्धित देशका आप्रवासीको सङ्ख्या एवम् आर्थिक गतिविधि बढ्दै गएपछि यस्तो सामुदायिक बैङ्किङ संस्था सञ्चालनमा ल्याएको प्रचलन देखिन्छ । समुदायको आर्थिक हित प्रवर्द्धनको मूल उद्देश्य लिएर युनियन स्थापना हुने गरेका छन् । क्रेडिट युनियनलाई निक्षेप सङ्कलन एवम् कर्जा प्रवाह दुवै गर्ने अनुमति हुन्छ ।

अमेरिकी सरकारले यस्ता सामुदायिक बैङ्कहरूलाई कर छुट दिने भएकाले अन्य बैङ्कका तुलनामा समुदायलाई यसले सहुलियत दरमा ऋण उपलब्ध गराउन पाउने छ । साथै, बचतमा बैङ्कको तुलनामा बढी ब्याज उपलब्ध गराउन सक्दछ । क्रेडिट युनियनका सदस्यहरू नै यसका मालिक हुने भएकाले यसमा खाता खोल्ने सबै यसका मालिक हुनेछन् ।

संस्था सञ्चालन लगत्तै अब नेपाली समुदायले पहिलो चरणमा चेकिङ एकाउन्ट, सेभिङ एकाउन्ट, रिटायरमेन्ट एकाउन्ट, विशेष मुनाफा वितरण हुने क्उभअष्ब एकाउन्ट, डेबिट कार्ड, सवारी साधन ऋण, व्यक्तिगत ऋणजस्ता सुविधा पाउनेछन् । साथै, संस्थाले क्रेडिट कार्ड, विद्यार्थी ऋण, साना व्यवसाय ऋण, घर खरिद ऋण, तथा अन्य बैंङ्किङ सुविधाहरू सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । एभरेष्ट फेडरल क्रेडिट युनियनमा सदस्य बनेकाहरूले मात्र यी सबै सुविधा प्राप्त गर्नेछन् । अमेरिकाभर बसोबास गर्ने नेपाली समुदायभित्रका सबै व्यक्तिहरूलाई संस्थामा सदस्य र डिपोजिटर बनाएर सुविधा प्रदान गर्ने लक्ष्य एभरेष्ट फेडरल क्रेडिट युनियनले लिएको छ र त्यहीअनुसार सबै राज्यहरूमा शाखा सञ्चालन गर्ने अनुमति प्राप्त गरेको छ । संस्थाले ५ वर्षभित्रमा कम्तीमा १० वटा शाखा खोल्ने र १० हजार डिपोजिटर सङ्ख्या पु¥याई २ सय मिलियन अमेरिकी डलरभन्दा माथिको कारोबार गर्ने लक्ष्य लिएको छ ।

हालसम्म एभरेष्ट फेडरल क्रेडिट युनियनले न्यु योर्क, ज्याक्सन हाइट्सस्थित सम्पर्क कार्यालयबाट दर्ता प्रक्रियासम्मका लागि काम गर्दै आएको छ । अब नेसनल क्रेडिट युनियन एड्मिनिष्ट्रेशनबाट अनुमति पाएसँगै वित्तीय कारोबारका लागि युनियनले छुट्टै भवन खोज्ने प्रक्रिया सुरु गरिसकेको छ । न्यु योर्क, क्विन्सस्थित ज्याक्सन हाइट्सबाट पहिलो बैङ्किङ कारोबार सुरु गर्ने एभरेष्ट फेडरल क्रेडिट युनियनले नेपालीभाषीहरुको घना बस्ती रहेका राज्यहरू टेक्सस, क्यालिफोर्निया, डिसी भर्जिनिया मेरिल्याण्ड, म्यासच्युसेट, फ्लोरिडा ,जोर्जिया, वासिङ्टन, नर्थ केरोलिना, पेन्सलभेनिया, सिकागोलगायतका अन्य राज्यहरूका सहरमा आवश्यकताअनुसार शाखा विस्तार गर्ने लक्ष्य पनि लिएको छ ।

संस्थाले नयाँ सदस्यका लागि आवेदन समेत खुल्ला गरिएको छ । आफ्नै क्रेडिट युनियन भएपछि अमेरिकाभरि बसोबास गर्ने नेपालीभाषीहरुलाई अब आर्थिक कारोबार गर्न सहज हुनेछ । आफ्नै भाषामा पनि कुराकानी गरेर बचत एवम् कर्जा लिने अवसर यहाँ रहेका नेपालीहरूले प्राप्त गर्नेछन् । साथै यसको मुनाफाको पनि हकदार रहनेछन् ।

संस्थाले नेशनल क्रेडिट युनियन एड्मिनिष्टे«सनको पूर्ण ब्याकग्राउण्ड चेकपश्चात् ७ बोर्डअफ डाइरेक्टर, ३ सुपरभाइजर कमिटी, ३ क्रेडिट कमिटी सदस्यहरूलाई प्रारम्भिक चरणको बोर्डमा नियुक्त गरेको छ । रिक्त रहेका ७० प्रतिशत बोर्डलगायत अरू कमिटीमा उपयुक्त व्यक्तिहरूलाई नियुक्ति गर्ने प्रक्रिया अगाडि बढाएको छ । यसरी नियुक्त भएका पदाधिकारीको पदावधि नेसनल क्रेडिट युनियन एड्मिनिष्ट्रेशनले तीन वर्षका लागि बोर्डमा नियुक्त गर्ने छ ।

नेसनल क्रेडिट युनियन एड्मिनिष्ट्रेशनका अनुसार १० करोडभन्दा बढी अमेरिकीहरू क्रेडिट युनियनहरूका सदस्य छन् । यो अमेरिकामा आर्थिक रूपले सक्रिय जनसङ्ख्याको झन्डै आधा हिस्सा हो । अमेरिकामा क्रेडिट युनियनलाई सामुदायिक बैङ्कका रूपमा हेर्ने गरिन्छ जो नेपालको कोअपरेटिभ भन्दा धेरै फरक छ । किनकि अमेरिकामा क्रेडिट युनियनले बैङ्क सरह डिपोजिट र ऋण प्रवाह गर्न पाउँदछन् र जो–जो यसका डिपोजिटर छन् उनीहरू नै यसका मालिक हुन् र उनीहरू नै मुनाफामा हकदार हुन्छन् । त्यसै गरी प्रत्येक डिपोजिटरको २ लाख ५० हजार अमेरिकी डलर बराबरको रकम फेडरल डिपोजिट इन्सुरेन्स कर्पोरेसन (एफडीआईसी)ले जस्तै एनसीयूएले हरेक खाताको बिमा गरेको हुन्छ ।