अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३६ | Colorodo: 12:51

सरकार पूर्ण प्रेस स्वतन्त्रताका पक्षमा रहेको सञ्चारमन्त्री

बिआरटीनेपाल २०७५ भदौ ७ गते ९:४२ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्र, पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन र खुला समाजमा कहीँकतैबाट काँडाले छुन नसक्ने बताउनुभएको छ । 

नेपाल विज्ञापन सङ्घद्वारा यहाँ आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जननिर्वाचित वर्तमान सरकारका कारण लोकतन्त्र र प्रजातन्त्र खतरा पर्छ भन्नु दिवास्वप्न भएको स्पष्ट गर्नुभयो ।

एक प्रसङ्गमा उहाँले देवानी र फौज्दारी संहिता संसद्बाट सहमतिमा नै तयार भएको र वर्तमान सरकारले कार्यान्वयनमा ल्याएको बताउँदै यसलाई लिएर सरकारको विरोध गर्नाको कुनै औचित्य छैन भन्नुभयो ।

नयाँ संहिताले प्रजातन्त्र र लोकतन्त्र कसरी खतरामा पर्छ, कसरी सङ्कुचन गर्छ भन्ने प्रश्न गर्दै मन्त्री बाँस्कोटाले संहिताले नयाँ सामाजिक विधि र मूल्य स्थापित गर्ने बताउनुभयो ।
“पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा सरकार रहेको छ, विगतका वाक् तथा प्रेस स्वतन्त्रताका पक्षमा लडेका नेता सरकारका हुनुहुन्छ, यस्तो अवस्थामा सरकारको शासक बन्ने सोच छैन”, मन्त्री बाँस्कोटाले भन्नुभयो । उहाँले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विश्वका कुनै मुलुकभन्दा कम नरहेको उल्लेख गर्दै उहाँले नयाँ विज्ञापन ऐनअन्तर्गत ‘क्लिन फिड’ प्रणाली लागू हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू