अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४८ | Colorodo: 13:03

नेपाल-आयरल्यान्ड मैत्री दिवस डव्लिनमा भव्यतापूर्वक सम्पन्न

बिआरटीनेपाल २०७५ भदौ ६ गते ९:५५ मा प्रकाशित

नेपाल र आयरल्याण्डवीच दौत्य सम्बन्ध स्थापनाको बिसौँ वर्ष शुभारम्भ भएको सुखद उपलक्ष्यमा संयुक्त अधिराज्य र आयरल्याण्डका लागि नेपाली राजदूत महामहिम डा.दुर्गा बहादुर सुवेदीले आयोजना गर्नुभएको नेपाल-आयरल्यान्ड मैत्री दिवस १८ अगष्ट २०१८ का दिन आयरल्याण्डको राजधानी डव्लिनमा भव्यतापूर्वक सम्पन्न भयो । 

आयरल्याण्डका राष्ट्रपति महामहिम श्री माइकल डी. हिगिन्सले प्रमुख अतिथिका रूपमा उक्त विशेष समारोहलार्इ सम्बोधन गर्नुहुँदै भौगोलिक रूपमा आयरल्यान्ड र नेपाल टाढा रहे पनि दुर्इ मुलुक कला, साहित्य, सङ्गीत संस्कृति र प्रकृतिको समृद्धि एवं शान्ति, मैत्री, भातृत्व र विश्व-वन्धुत्वप्रतिको समान आस्थाका कारण नजिक रहेको बताउनु भयो ।आयरल्यान्ड र नेपालले एकै दिन संयुक्त राष्ट्रसंघको सदस्यता हासिल गरेका हुन् भन्नुहुँदै राष्ट्रपति श्री हिगिन्सले विभिन्न अन्तर्राष्ट्रिय मुद्दाहरूमा हाम्रो साझा धारणा रहेको र संयुक्त राष्ट्रसंघको तत्वावधानमा यी दुर्इ मुलुकले विश्वमा शान्ति स्थापना गर्न आआफ्नो सैनिकहरू परिचालन गरिरहेका छन् भन्ने विचार व्यक्त गर्नु भयो ।

सन् २०१५ मा नेपालको संविधानसभाले जारी गरेको संविधान लोकतान्त्रिक, समावेशी र विधिको शासनका मूल्य र मान्यताहरू समाहित विश्वकै एक उत्कृष्ट संविधान हो भन्नुहुँदै राष्ट्रपति श्री हिगिन्सले गत वर्ष शान्ति र निष्पक्षतापूर्वक सम्पन्न आमनिर्वाचनले नेपालमा राजनैतिक स्थायित्व हासिल भर्इ आर्थिक विकासको निम्ति मार्ग प्रशस्त भएको बताउनु भयो ।

नेपाल प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले भरिपूर्ण एक समृद्व राष्ट्र हो भन्नु हुँदै राष्ट्रपति श्री हिगिन्सले विविधताबिचको एकतालार्इ शदीयौंदेखि जोगाएर राखेका नेपाली जनता धन्य छन् भन्नु भयो ।

कूटनीतिज्ञमा बौद्धिकता र सिर्जनात्मकता जस्ता क्षमता हुनु आदरयोग्य विशेषता हो भन्नुहुँदै राष्ट्रपति महामहिम श्री हिगिन्सले आयरल्याण्डका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी विद्वता र कूटनैतिक कौश दुवै गुणले अन्तर्निहित एक सफल व्यक्तित्व हुनु हुन्छ भन्ने धारणा राख्नु भयो । आफ्ना चार वटा काव्यकृतिहरू र तीन वटा राजनैतिक ग्रन्थहरू प्रकाशित भएको उल्लेख गर्नुहुँदै राष्ट्रपति श्री हिगिन्सले राजदूत डा. सुवेदीले आफ्ना प्रतिनिधि कविताहरू नेपाली भाषामा अनुवाद र सम्पादन गरी ‘माइकल डी. हिगिन्सका प्रतिनिधि कविता’का रूपमा प्रकाशन
गर्नु भएकोमा हार्दिक कृतज्ञता व्यक्त गर्नु भयो । उहाँले यस कृतिले आयरल्याण्डको समृद्व र सुदीर्घ परिचय बोकेको साहित्य, संस्कृति र सभ्यताबाट मैत्रीपूर्ण नेपाली जनताहरुलार्इ अवगत गराउन महत्त्व योगदान गर्ने विश्वास व्यक्त गर्नु भयो ।

आयरल्याण्डमा नेपाली समुदाय सानो भए पनि सुन्दर र सहयोगी रहेको छ भन्नुहुँदै राष्ट्रपति श्री हिगिन्सले नेपालीहरूको इमान्दारिता, मिलनसारिता, र परिश्रम एवं भातृत्वको भावनाबाट आइ रिस जनता प्रभावित भएका छन् भन्ने विचार व्यक्त गर्नुभयो। महामहिम राष्ट्रपतिले दुर्इ मुलुकबिचको सरकारी सम्वन्धलार्इ जनस्तरमा समेत विस्तार गर्न आवश्यक रहेको छ भन्नुहुँदै साहित्य, सङ्गीत,कला र संस्कृतिको आदानप्रदान यस दिशामा महत्त्वपूर्ण हुने धारणा व्यक्त गर्नु भयो ।

विशिष्ट अतिथिका रूपमा समारोहलार्इ सम्बोधन गर्नुहुँदै आयरल्यान्ड-नेपाल फ्रेन्ड्रसिप गुप्रका संयोजक आइ रिस सांसद माननीय श्रीमती मरिन ओ सुलिभानले आयरल्यान्ड र नेपालबिचको सम्बन्ध सरकारी सम्बन्धका साथसाथै संसदीय स्तरमा समेत विस्तारित भएको छ भन्नु भयो ।दुर्इ मुलुकबिच उच्चस्तरीय भ्रमणको आदानप्रदानले मैत्री सम्वन्धलार्इ अझ सुदृढ र सुमधुर बनाउन योगदान पुग्नेछ भन्नुहुँदै निकट भविष्यमा आइ रिस सांसदका सभामुखको नेतृत्वमा आइ रिस संसदीय प्रतिनिधिमण्डलले नेपालको भ्रमण गर्ने र नेपालको संसदीय प्रतिनिधिमण्डलले पनि आयरल्याण्डको भ्रमण गर्ने कार्यक्रम तय भएको बताउनु भयो ।

नेपाल र आयरल्याण्डवीचको सम्वन्धलार्इ पारस्परिक सहयोग र नेपालीको आर्थिक विकासको निम्ति सार्थक बनाउने कार्यमा राजदूत डा.सुवेदी प्रतिबद्ध र प्रयत्नशील रहेको बताउनु हुँदै माननीय श्रीमती सुलिभानले आयरल्याण्डका राष्ट्राध्यक्षको समुपस्थितिमा सम्पन्न नेपाल-आयरल्यान्ड मैत्री दिवस नेपाल-आयरल्यान्ड सम्बन्धको उच्चतम प्रतीक हो र यसले नेपाल आयरल्यान्ड सम्वन्धलार्इ नयाँ उचाइमा पुर्‍याएको छ भन्ने विचार व्यक्त गर्नु भयो ।

समारोहमा स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै आयरल्याण्डका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीले नेपाल र आयरल्याण्डवीच दौत्य सम्बन्ध स्थापना भएको बिसौँ वर्ष प्रवेश गरेको शुभ र सुखद उपलक्ष्यमा आयरल्याण्डका महामहिम राष्ट्रपतिज्यूको समुपस्थितिले हामीलार्इ हर्षित र गौरवान्वित तुल्याएको छ र यसबाट नेपाल र नेपाली जनताप्रति आयरल्यान्ड र आइ रिस जनताको स्नेह, सम्मान, र आत्मीयताको प्रतिबिम्ब प्रस्तुत भएको छ भन्नु भयो ।

हाम्रा दुर्इ मुलुकहरूबिचको द्विपक्षीय मित्रता, समझदारी, सहयोग, पारस्परिक विश्वास र एक अर्काको राष्ट्रिय स्वार्थ र आकांक्षाहरुप्रतिको सम्मानद्वारा अभिप्रेरित छ भन्नुहुँदै महामहिम डा. सुवेदीले यो सम्बन्ध पर्यटन, व्यापार र शिक्षाका क्षेत्रहरूमा विस्तार हुँदै जनस्तरसम्म पनि फैलिएको छ भन्ने विचार व्यक्त गर्नु भयो ।

विगत दुर्इ दशक यता नेपालले राजनैतिक रूपमा ऐतिहासिक रूपान्तरण गरेको चर्चा गर्नुहुँदै राजदूत डा. सुवेदीले वि.स २०७२ मा नेपालको सार्वभौम संविधानसभाले जारी गरेको लोकतान्त्रिक र समावेशी संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राज्यव्यस्थालार्इ अवलम्बन गर्नुका साथै नेपाली जनताले गरेका राजनैतिक आन्दोलनहरूबाट प्राप्त उपलव्धीहरुलार्इ समेत संस्थागत गरेको छ भन्नुभयो ।

गत वर्ष शान्ति र निष्पक्षतापूर्वक सम्पन्न स्थानीय, प्रादेशिक र सङ्घीय सांसदका निर्वाचनहरू एवं सम्माननीय प्रधानमन्त्री श्री के.पी शर्मा ओलीज्यूको नेतृत्वमा जननिर्वाचित सरकारको गठनले मुलुकमा लामो समयदेखिको राजनैतिक सङ्क्रमणको अन्त्य गरेको छ भन्नुहुँदै महामहिम डा. सुवेदीले वर्तमान सरकार, राष्ट्रियता, लोकतन्त्र र मौलिक अधिकारहरूप्रतिको प्रतिबद्धता, सामाजिक न्याय, सुशासन, विधिको शासन, राजनैतिक स्थिरता र विकास र समृद्धि जस्ता ६ वटा मूल भूत लक्ष्यका साथ लिएर अघि बढेको उल्लेख गर्नुभयो छ । राजदूत डा. सुवेदीले नेपालले सबैसँग मित्रता कायम गर्ने र कसैसँग पनि शत्रुता नराख्ने आदर्शमा आधारित परराष्ट्र नीति अंगीकार गरी अघि बढेको र संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशील, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिको मान्यतामा अडिग रही छिमेकी लगायत सबै राष्ट्रहरूसँग मित्रता कायम गर्ने नीति लिएको बताउनु भयो ।

वर्तमान सरकार मुलुकमा दिगो विकास र समृद्धि ल्याउने लक्ष्यमा प्रतिबद्ध रहेको चर्चा गर्नुहुँदै महामहिम डा. सुवेदीले सरकारले निर्यात व्यापार र लगानी अभिवृद्धिका लागि उपयुक्त आर्थिक नीति अवलम्बन गरेको छ भन्नु भयो । वि.स २०७२ को विनाशकारी भूकम्पको कठिन समयमा मैत्रीपूर्ण आइ रिस सरकार र जनताबाट प्राप्त सहानुभूति, सद्भावना र सहयोगका लागि नेपाली सरकारका तर्फबाट कृतज्ञता व्यक्त गर्नुहुँदै राजदूत डा.सुवेदीले नेपाल सरकारको विकास प्रयासमा आइ रिस सरकारको सहयोगको निरन्तरता रहने विश्वास व्यक्त गर्नु भयो ।

आयरल्याण्डमा करिब तीन हजार नेपालीहरू रहेको सानो र सुन्दर समुदाय रहेको छ भन्ने उल्लेख गर्नुहुँदै महामहिम डा. सुवेदीले नेपाली समुदाय आफ्नो भाषा, संस्कृति, कला, सङ्गीत र परम्पराहरूको संरक्षण गर्दै आयरल्याण्डको समाजमा मिलेर बसेको देख्दा र यहाँको नेपाली समुदायप्रति आइ रिस जनता र सरकारको स्नेह, सम्मान र भातृत्वको भावना देख्दा आफू गौरवान्वित भएको विचार व्यक्त गर्नु भयो ।
आफूले आयरल्याण्डको राजनीति, अर्थ नीति र कूटनीतिका अतिरिक्त समृद्ध र सुदीर्घ आइ रिस भाषा, साहित्य, संस्कृति र सभ्यताको पनि थोरबहुत अध्ययन गरेको बताउनुहुँदै राजदूत डा. सुवेदीले आफूले आयरल्याण्डका महामहिम राष्ट्रपतिबाट प्राप्त चार वटा काव्यकृतिहरूको अध्ययन गरेको र ती कविताहरूमा प्रकट शान्ति, न्याय, भातृत्व, सह-अस्तित्व, विश्ववन्धुत्व र मानवतावादी विचारबाट आफू प्रभावित भएको बताउनु भयो ।

महामहिम हिगिन्सका कलात्मक शैली, सुललित संरचना र शिष्ट भावनाका विशिष्ट कविताहरूको अनुवाद गर्ने स्वीकृति प्रदान गर्नु भएकोमा महामहिम राष्ट्रपतिज्यूमा सादर कृतज्ञता व्यक्त गर्दै महामहिम डा. सुवेदीले यी सार्थक र प्राञ्जल कविताहरूको प्रकाशनबाट नेपालीहरूले पनि आयरल्याण्डको उच्च साहित्यिक स्तर र समृद्ध आइ रिस संस्कृति र सभ्यताको ज्ञान प्राप्त हुने विश्वास व्यक्त गर्नु भयो ।
उक्त विशेष समारोहमा आयरल्याण्डका राष्ट्रपति महामहिम श्री माइकल डी हिगिन्सले राजदूत डा. दुर्गा बहादुर सुवेदी (दुवसु क्षेत्री) द्वारा अनुवादित तथा सम्पादित ‘सुप्रसिद्ध आइ रिस कवि माइकल डी. हिगिन्सका प्रतिनिधि कविता’ नामक कवितासंग्रहको लोकार्पण गर्नु भएको थियो ।

समारोहमा आयोजित नेपाली तस्बिर प्रदर्शनी तथा नेपाली कला प्रदर्शनीको महामहिम राष्ट्रपति र श्रीमती सविना हिगिन्सले रुचिपूर्वक अवलोकन गर्नुभएको थियो ।

उक्त विशेष समारोहमा आयरल्याण्डमा रहेर नेपाली भाषा, साहित्य, कला, सङ्गीत, संस्कार र संस्कृतिको संरक्षण र सम्वर्द्धन एवं नेपाली समुदायको एकता र भातृत्व अभिवृद्धिका लागि उल्लेखनीय योगदान गर्ने आठ जना अग्रज समाजसेवी नेपालीहरू सर्वश्री दीपेशमान शाक्य, गणेश प्रसार्इ, गंगाराम कँडेल, जीवन तिमिल्सिना, कृष्णकुमार डंगोल, नवराज कोइराला, राजेन्द्र काफ्ले र शारदा खत्री प्याट्रिक्यू लार्इ महामहिम राष्ट्रपति र महामहिम नेपाली राजदूतले सम्मान गर्नु भएको थियो ।

समारोहमा स्थानीय नेपाली कलाकारहरूले नेपाली कला र संस्कृति झल्कने सात बटा नृत्यहरू प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा महामहिम राजदूत र श्रीमती सुवेदीले महामहिम राष्ट्रपति र उहाँकी धर्मपत्नी श्रीमती सविना हिगिन्सलार्इ नेपालको प्रकृति र संस्कृति झल्किने दुर्इबाट कलात्मक नेपाली तेल चित्र उपहार प्रदान गरिएको थियो ।

उक्त विशेष समारोहमा आइ रिस सांसदका माननीय सदस्यहरू, पूर्व मन्त्रीहरू, आयरल्याण्डका सर्वोच्च न्यायालयका न्यायाधीश, नगरप्रमुखहरु, आयरल्याण्डस्थित विभिन्न मुलुकका राजदूत एवं कूटनैतिक प्रतिनिधिहरू, नेपालका लागि युरोपियन युनियनका राजदूत, आइ रिस सरकारका उच्च पदस्थ पदाधिकारीहरू, गैर आवासीय नेपाली सङ्घ, आयरल्याण्डका अध्यक्ष तथा पदाधिकारीहरू, नेपाल आयरल्यान्ड सोसाइटीका अध्यक्ष तथा पदाधिकारीहरू, सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने आइ रिस पर्वतारोहीहरू एवं नेपालमा सञ्चालित आइ रिस गैर सरकारी सङ्घसंस्थाका प्रतिनिधिहरू गरी तीन सय भन्दाबढी अतिथिहरू सहभागी हुनुहुन्थ्यो ।राजदूतावासका तृतीय सचिव श्री भूपेन्द्रप्रसाद घिमिरेले सञ्चालन गर्नु भएको विशेष समारोहको अन्त्यमा रात्रिभोजको आयोजना गरिएको थियो ।

डब्लिनमा अवस्थित कूटनैतिक नियोगहरूले आयोजना गर्ने कार्यक्रमहरूमा आयरल्याण्डका महामहिम राष्ट्रपतिको समुपस्थिति विरलै हुने परिप्रेक्ष्यमा नेपाली राजदूतावासद्धारा आयोजित यो विशेष समारोह ऐतिहासिक भएको र यस समारोहको सफल आयोजना आफैमा नेपाल र आयरल्याण्डको दौत्य सम्बन्धको इतिहासमा एउटा कोसेढुँङ्गा साबित हुने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू