अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०० | Colorodo: 16:15

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्य समिति (२०१८-२०२०) का लागि महा-सचिवमा मेरो उम्मेदवारी

बिआरटीनेपाल २०७५ साउन २९ गते २२:३२ मा प्रकाशित

आदरणीय केन्द्रीय कमिटी, ट्रस्टी, च्याप्टर पदाधिकारी तथा आजीवन सदस्यज्यूहरू
हामी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रको नयाँ कार्य समिति (२०१८-२०२०) चयनको दैलोमा आइपुगेका छौ । यो चुनावले अनेसासको भावी कार्यदिशा निर्धारण गर्ने छ । एउटा विशिष्ट उचाइ लिँदै क्रियाशील रहेको साहित्यिक संस्था अनेसास प्रवासमा रहेर पनि नेपाली भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा काम गर्ने सबैभन्दा ठुलो संस्था हो । विभिन्न च्याप्टर, ट्रस्टी तथा आजीवन सदस्य संसार भरि छरिएर बनेको अनेसासको केन्द्रीय कार्य समिति चयनको आफ्नै प्रजातान्त्रिक प्रक्रिया छ ।यो सर्वमान्य प्रक्रियामा सुझबुझका साथ सहभागी भई योग्य र सक्षम कार्य समिति चयन गर्नुहुन तपाइहरू सबैमा हार्दिक अनुरोध गर्दछु ।

अनेसासमा आफ्नै मूल्य मान्यता छन् र गर्विलो इतिहास छ । त्यसैले त यो साझा चौतारी संसार भरि साहित्यको छाता सङ्गठन भएर झन्-झन् फैलिँदै छ । सबैलाई ओत दिन सकेको छ । यसै बखत यहाँ सर्वसम्मतका कुराहरू पनि आएका छन् । यो निक्कै सह्रानीय प्रयास र काम हो। त्यसमा मेरो समेत प्रत्यक्ष सहभागिता र जोड थियो। तर सर्वसम्मत कसरी र कुन संरचनामा ? कसका लागि ? व्यक्तिगत फाइदा कि संस्थाको बृहत्तर विकासका लागि ? मैले यो संस्थामा गफ, गाली गलौज गर्ने भन्दा काम गर्ने साहित्यिक जमात बढी पाएको छु । हो, एउटा साहित्यिक संस्था जहाँ हजार भन्दा बढी भोलेन्टियर सदस्यहरू छन् र संसारको कुना कुनामा व्यक्तिगत स्वार्थ बिना नै २७ बर्से अनेसासको गर्विलो बिराशता मर्न नदिन हमेसा लागि परेका हस्तीहरू पनि छन् । त्यसैले सहमतिले ती सबै सदस्य र च्याप्टरहरूको प्रतिनिधित्व गर्नु पर्छ, होइन भने खराब प्रवृत्तिका लागि सहमति हुनुहुँदैन भन्ने मेरो मान्यता हो ।

अब मेरो उम्मेदवारीको प्रसङ्ग तिर लागेँ । राम्रो कामलाई राम्रो भन्न हिम्मत नगर्ने तर नकारात्मक अलाप मात्र गाएर गोयबल्स प्रोपोगान्डाको खेती गर्ने प्रवृत्तिको विरुद्धमा हो मेरो उम्मेदवारी। वर्तमान कार्य समितिले सय प्रतिशत ठिक गरेको छ गल्ती गरेकै छैन भन्ने होइन । काम गर्ने मान्छेले गल्ती गर्छ, हिँड्ने मान्छे लड्छ । यो नौलो कुरा होइन । अनेसासको वर्तमान कार्य समितिले गर्दा गर्दै सम्पन्न गर्न नसकेका कामहरू धेरै छन् तर अहिले सम्म गरेका राम्रा कामहरूलाई हिलो छ्याप्ने प्रयास कदापि स्वीकार्य हुँदैन । सिन्डिकेट भनेको के हो, यदि त्यस्तै हो रहेछ भने पनि आफूले पद पाउँदैमा सिन्डिकेट कसरी सकिएला र?

अब आफ्नो व्यस्त जीवनबाट पनि सामाजिक कामको लागि केही फुर्सद निकालेर साहित्यिक सक्रियताको कुरो गर्दा मैले अनेसास पर्थ च्याप्टरको संस्थापक अध्यक्षको हैसियतले स्थापनाको छोटो समयमा नै मेरो कार्य समिति तथा अनेसास केन्द्र र सबैको सहयोगले पाँचौँ विश्व सम्मेलन भव्यताका साथ पर्थमा सम्पन्न भयो । वर्तमान कार्य समितिको सचिवको हैसियतले विभिन्न रूपमा अनेसासको संस्थागत विकास र बिस्तारमा लागि नै रहेको छु । केन्द्रका अध्यक्ष तथा कार्यसमितिको सहयोगमा विभिन्न च्याप्टरको स्थापना र निस्क्रिय च्याप्टरलाई बिउताउने काममा समेत सक्रिय छु । अब अनेसासलाई अझ व्यवस्थित र संस्थाको उद्देश्य बमोजिमको प्रभावकारी रूपमा विकास गर्न सम्पर्क कार्यालय, च्याप्टर-च्याप्टर बिच तथा केन्द्र र च्याप्टर बिचको बलियो सम्बन्ध, संस्थाको बिस्तार, प्रकाशन र वितरण, अनुवाद, नीतिगत पक्षमा देखिएका समस्या समाधान गर्न विधान संशोधन, पुरस्कारको व्यवस्थापन लगायतको क्षेत्रमा भावी अध्यक्ष र कार्य समिति, ट्रष्टी तथा आजीवन सदस्य र अन्य सङ्घ-संस्थाहरूसँग हातेमालो गर्दै नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकासमा मेरो प्रयास रहने छ । विगतमा एनआरएनए अस्ट्रेलिया भाषा साहित्यको कोअर्डिनेटर भएर काम गरिसकेको साथै वर्तमान एनआरएनए आई सिसी भाषा साहित्य उपसमितिको सदस्यको रूपमा काम गरिरहेको अनुभवले पनि मलाई एनआरएनए लगायत अन्य सङ्घसंस्थासँग सहकार्य गर्दै काम गर्न सजिलो हुनेछ ।

व्यक्तिगत रूपमा पनि म इमान्दारिता, नैतिकता तथा साहित्यको संस्थागत विकासको पक्षपाती हुँ । हो, मेरो इतिहास हेरिदिनुस् । म बोलीमा भन्दा कामलाई भगवान् ठान्छु । म यहाँहरूको एक-एक मतको अवमूल्यन हुन दिन्नँ । मलाई अनेसास केन्द्रीय कार्य समिति (२०१८-२०२०) को महा-सचिव पदमा काम गर्ने अवसर प्रदान गर्न तपाइ आजीवन सदस्यहरूले सक्नु हुने छ । मलाइ विश्वास छ, यहाँहरू सबैको साथले नैतिकताको विजय हुने छ ।

हार्दिक धन्यवाद सहित:

गणेश घिमिरे
महा-सचिव उम्मेदवार
अनेसास केन्द्रीय कार्य समिति
(२०१८-२०२०)
इमेल: gkghimire@gmail.com
फोन: +61411329261

प्रतिक्रिया