अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४७ | Colorodo: 23:02

सहमति, सहकार्य र समन्वय मुलुकको नयाँ जनादेश: गाउँपालिका प्रमुख तामाङ

सोमनाथ हुँमागाई, न्यु योर्क २०७५ साउन २९ गते २२:१९ मा प्रकाशित

यही अगष्ट १२ तारिख आइतबारका दिन, गाउँपालिका राष्ट्रिय महासङ्घका महासचिव एवं ईद्रावती गाउँपालिकाका प्रमुख तथा जनसम्पर्क समिति अमेरिकाका पूर्व सल्लाहकार वंशलाल तामाङलाई नेपाली जनसम्पर्क समिति न्यु योर्क च्याप्टर अमेरिकाले एक कार्यक्रमको आयोजना गरी भव्य स्वागत एवं सम्मान गरेको छ । कार्यक्रमका सम्मानित व्यक्तित्व श्री वंशलाल तामाङले सङ्घीयतामा देखिएका स्थानीय सरकारका चुनौती र अवसरका बारेमा केन्द्रित भएर अमेरिकामा बसेता पनि आफ्नो सपनाको केन्द्र भने सधैँ नेपालै भएकोले आफू देश फर्किएको बताएर आफ्नो भनाई सुरूगरेका थिए । 

विभिन्न देशका राजनीतिक र आर्थिक प्रगतिका उदाहरणहरू दिएर, मुलुकमा व्यवस्थाको विकल्प व्यवस्था खोजेकाले समस्या आएको बताउँदै, गाउँपालिका प्रमुख वंशलाल तामाङले सुधारको गुन्जायस राखेर भए पनि अब मुलुकलाई समृद्धि र विकासको बाटोमा डोर्‍याउनु पर्ने कुरा राखेका थिए ।

अहिलेको संविधानले स्थानीय सरकारलाई २२ वटा एकल र १५ वटा साझा अधिकारहरू दिएको हुनाले धेरै अवसरहरू उपयोग गर्न सकिन्न कुरा बताउँदै, तामाङले स्थानीय सरकार विफल भयो भने संघीयतानै विफल हुन सक्ने कुरा बताएका थिए । अहिलेको संविधान महिलाहरूको निमित्त उदार, पिछडिएका वर्ग समुदाय, दलित र जनजातिका लागि उतिकै राम्रो भएको कुरा बताउँदै, स्थानीय सरकारमा सबैको प्रतिनिधित्व रहेको कुरा राखेका थिए ।

सहमति, सहकार्य र समन्वय अहिले मुलुकको नयाँ जनादेश भएकोले हाम्रो सोचमा आमूल परिवर्तन गर्नुपर्ने कुरामा जोड दिदी, गाउँपालिका प्रमुख वंशलाल तामाङले विकास निर्माणको प्रक्रियामा मुलुक पुगिनसकेकोले विकासका निमित्त राजनीति परिपाटी बसाल्न अहिलेको मुख्य चुनौती रहेको कुरा बताएका थिए । मुलुकले नयाँ मुलुकी एेन पाएपछि कानुन बनाएरआमुल परिवर्तन गर्न सकिन्न कुरा जानकारी दिँदै, अधिकार र विकासमा केही गम्भीर चुनौती रहेको कुरा समेत तामाङले राखेका थिए । अन्तमा आफ्नो गाउँपालिकाको विकासका गुरु योजनाहरू समेत प्रस्तुत गर्दै, ईद्रावती गाउँपालिकाका प्रमुख तामाङले अमेरिकामा बिताएका सङ्घर्षका दिनहरूलाई सम्झिएर केही भावुक समेत भएका थिए । 

नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति श्री आनन्द विष्टले गाउँपालिकाका प्रमुख वंशलाल तामाङलाई खादा लगाएर स्वागत र सम्मान गर्दै, विगतमा सङ्गठनलाई परेको अप्ठ्याराको वेलामा तामाङले खेलेको सहजकर्ताको भूमिकाको प्रशंसा गरेका थिए ।

अर्का वक्ता नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङले पनि गाउँपालिकाका प्रमुख तामाङलाई स्वागत र सम्मान गर्दै, प्रवासमा बसेर विभिन्न राजनीतिक बिचार समूहमा रहेकाहरूको लागि वंशलाल तामाङ एउटा इन्डीकेर र प्रेरणाका श्रोत भएको कुरा बताएका थिए । 

अन्य वक्ताहरूमा , नेपाली जनसम्पर्क समितिका केन्द्रीय सदस्य सुवास लामा, प्राध्यापक डा. गोविन्द कोइराला, एनआरएन आईसिसिका सदस्य द्वय, गोमा सेन, वन्दना कोइराला, एनआरएन अमेरिकाका केन्द्रीय सदस्य आंगनिमा शेर्पा, एनआरएन न्यु योर्क च्याप्टरका सभापति रामहरि अधिकारी, नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिकाका अध्यक्ष मान राना मगर,किराँत याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष दीपेश लिम्बु, युनाईटेट किराँत राई एसोसिएसन न्यु योर्क च्याप्टर अमेरिकाका अध्यक्ष केशवराम राई, लङआईल्याण्ड नेपाली समाजका पूर्व अध्यक्ष दुर्गेश कार्की, पत्रकार विष्णु बैजु, प्रवासी नेपाली एकता समाज न्यूयोर्कका महासचिव नवराज खड्का, युएस नेपाल स्पट एन्ड कल्चर डेभेलपमेन्ट इंकका उपसभापति छेमाङ तामाङ, नेपाल महिला सङ्घका केन्द्रीय सदस्य राजन विश्वकर्मा लगायत थिए । 

ग्यालसुन्दो सेवा संस्थाको कार्यालय,ज्याक्सन हाईट न्यूयोर्कमा सम्पन्न भएको उक्त कार्यक्रममा, च्याप्टरका उपसभापति कमला पन्तले अतिथिहरूलाई खादा लगाई दिएका थिए भने, च्याप्टरका भावी कार्यक्रमहरूको बारेमा च्याप्टरका सचिव अनिल पाण्डेले प्रकाश पारेका थिए । याप्टरका सभापति रोशन ढंगाना सहर बाहिर भएका कारण, च्याप्टरका उपसभापति अमर तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन च्याप्टरका महासचिव महेश मल्लले गरेका थिए भने स्वागत मन्तव्य च्याप्टरका कोषाध्यक्ष मोना शर्माले गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू